क्याटलान क्लब बार्सिलोनाले तीन दिनको अन्तरमा तीन खेलाडीलाई क्लबमा अनुबन्ध गर्दा ब्राजिलियन डिफेन्डर इमर्सन रोयल यो सिजन तेस्रो खेलाडीका रूपमा बार्सिलोनामा अनुबन्धित भएका छन् ।
बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो र स्पेनिस डिफेन्डर एरिक गार्सियालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरिसकेका छन् । नयाँ अध्यक्ष जोन लापोर्टाले इमर्सनलाई तेस्रो खेलाडीका रूपमा अनुबन्ध गरेको हो । बार्सिलोनाले राइट ब्याक इमर्सनलाई ला लिगा क्लब रियल बेटिसबाट ९ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो ।
उनको सम्झौता १ जुलाईबाट लागू हुनेछ । सम्झौताअनुसार बार्सिलोनाले इमर्सनलाई कुनै पनि समय बेचेको अवस्थामा रियल बेटिस २० प्रतिशत बोनस रकम प्राप्त गर्नेछन् । २२ वर्षीय इमर्सन २०१९ जनवरीमा ब्राजिली क्लब एट्लेटिको मिनेइरोबाट बार्सिलोनामा नै अनुबन्धित भएका थिए ।
दुई सिजन लोनमा बेटिसमा बिताए पनि उनी नोउ क्याम्प फर्किएका हुन् । रियल बेटिसमा लगातार उच्च प्रदर्शन गरेपछि बार्सिलोनाले उनलाई क्लबमा फर्काएको हो । इमर्सनले रियल बेटिसमा ७९ खेलमा ५ गोल गर्दा १० असिस्ट दिएका थिए ।
स्पेनिस ला लिगाको दुई सिजनको प्रतिस्पर्धामा इमर्सन सर्वाधिक असिस्ट दिने चौथो खेलाडी बनेका थिए । जोडी अल्वाले २०, जेसस नाभासले १६, काइरन ट्रिपिएरले ११ असिस्ट दिँदा उनले १० असिस्ट दिएका छन् ।






