धैर्यता र उच्च मनोबलले जित्न सकिन्छ कोरोना

मुलुकको दिगो विकास, आर्थिक समृद्धि , सुशासन र लोकतान्त्रिक मूल्य मान्यताका मुख्य एजेन्डामा पैरवी गर्दै आइरहेको र पछिल्लो दिनमा कोरोनाविरुद्धको सामूहिक लडाइँमा अग्रसर रहँदै आएको ‘राजधानी राष्ट्रिय दैनिक’ आजदेखि २० वर्ष पूरा गरी २१आंै वर्षमा प्रवेश गरेको छ । कोरोना महामारी र महासंकटको समयमा पनि हामी निरन्तर यहाहरूबीच आउन सफल भइरहेका छौं र यहाँहरूसँग आत्मीयता साटासाट गर्ने अवसर पाइरहेका छौं । यस्तो संघीन घडीमा हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुकलगायत सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीले दिनुभएको न्यानो माया, सहयोग र साथ हाम्रा लागि ऊर्जाको महŒवपूर्ण स्रोत बनेको स्मरण गर्दै हामी यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।

विशेष प्रकाशकीय

धैर्यता र अथाह हिम्मतले कोरोनामाथि सहज विजयी हासिल गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । हामी हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुकलगायत सबै जनतालाई उच्च मनोबल लिएर, सुरक्षाका सबै विधि प्रयोग गरी प्रशस्त पोषण चीज खाँदै रोग प्रतिरोधात्मक शक्ति बढाएर कोरोनामाथि सहज विजय हासिल गर्न विशेष आग्रह गर्दछांै । कोरोनाको लक्षण देखिनासाथ समयमा नै सजगता नअपाउने र लापर्बाही गर्दै जाने हो भने कोरोना मृत्युको कारण बन्न सक्छ भन्नेमा सबै जना विशेष चनाखो बन्न जरुरी छ । हामी हाम्रा सम्पूर्ण पाठकवर्गमा चनाखो भई बस्न र कोरोनामाथि सहजै विजयी हासिल गर्न सक्ने क्षमता अभिवृद्धि हुन सकोस् भन्ने कामना पनि गर्छौं ।

कोरोनाले मुलुकको सबै क्षेत्रलाई करिब करिब पक्षघात जस्तो बनाइदिएको छ । यो महामारी अझै केही समय जारी नै रहने भएकाले यसविरुद्ध सरकारले विशेष योजना र कार्यक्रम ल्याउन ढिलाइ गर्नुहँुदैन । सरकारले दिन दुईगुना र रात चौगुना उपलब्धि हुने गरी काम गर्नुको विकल्प छैन । आफ्नो नागरिकको जीवन रक्षा गर्ने प्रमुख दायित्व सरकारको हो । त्यसैले कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा सरकारले प्रभावकारी योजना र कार्यक्रम छिटोभन्दा छिटो ल्याउनुपर्छ । यस्तो अवस्थामा सरकारले हरेक कार्यक्रम सञ्चालन गर्दा पारदर्शिता र सुशासनमा विशेष ध्यान दिनुपर्छ । हामी सरकारका हरेक कार्यहरूको सूक्ष्म अनुगमन गर्छौं । सरकारका राम्रा कामको रचनात्मक समर्थन हुनेछ भने अपारदर्शी कार्य भएमा त्यसविरुद्धमा विशेष खबरदारी गर्नेछांै । हामी तथ्य र यथार्थमा विश्वास गर्छौं । पत्रकारिताको धर्म पनि यही हो । कसैप्रति हाम्रो कुनै पुर्वाग्राह हुने छैन । हामी समाजमा सकारात्मक भावना सिर्जना गर्दै समाजका सबै सदस्यलाई सिर्जनात्मक र रचनात्मक कार्यमा अग्रसर हुन आह्वान गर्छौं ।

कोरोना कहरबाट देश र नागरिकलाई मुक्त गराउने अभियान तथा देशको विकास र समृद्धिको यात्रामा आवश्यक पैरवी गर्ने कार्यमा हामी सदा दत्तचित्त हुनेछौं । यसका लागि सरकारी निकायलाई सत्मार्गमा डोहा-यान हाम्रा कलम अग्रसर हुने प्रण गर्न चाहन्छांै । यस्तो संकटको समयमा सरकारका सबै पक्ष इमानदार भएर काममा जुट्नुपर्छ भन्ने हाम्रो मान्यता हो । जनता अत्यन्तै पीडामा छन् । संघीय शासनअनुसार रहेका तीनवटा सरकार समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर सञ्चालन हुने र जनताको चहराइरहेको घाउमा मलम लगाउन सक्ने हो भने सरकारप्रति नागरिकको भरोसा बढेर जान्छ । सरकारी निकायलाई जनताप्रति समर्पित बनाउन हामी पनि नियमित रूपमा नै दबाब सिर्जना गरिरहने छौं । कोरोनाविरुद्धको साझा लडाइँमा सबै पक्ष एकजुट भएर लड्नु अहिलेको आवश्कयता हो । अब सरकारले पनि नागरिकको स्वास्थ्य र जीवनरक्षालाई आफ्नो राष्ट्रिय गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

अन्त्यमा कोरोनाविरुद्धको लडाइँमा हामी सधैं हाम्रा आमपाठक र जनताका साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि हामी हाम्रा सामग्रीलाई विश्वसनीय, विश्लेषणात्मक, तथ्यपरक र भरपर्दो बनाउन संवेदनशील भएर लागिरहने दृढता व्यक्त गर्दछौं ।

महेन्द्र शेरचन
अध्यक्ष तथा प्रबन्ध निर्देशक
राजधानी न्युज पब्लिकेसन प्रालि

तपाइको प्रतिक्रिया
(Visited 286 times, 1 visits today)

epaper

ताजा समाचार

मेलामै दुई पक्षबीच झडप, प्रहरीद्वारा हवाई फायर