काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकलाई नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् ।
शनिबार अर्थ मन्त्रालयमा पुनः पदबहाली गरेपछि नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले कोरोना महामारिलाई परास्त गर्दै मुलुकको आर्थिक गतिविधीलाई सहज अवस्थामा फर्काउन सरकारले सबै सामथ्र्य लगाउने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी, मन्त्री पौडेलले कोरोना भाइरस (कोभिड–१९) ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउने अभिभारालाई पूरा गर्ने बताए । पदबहालीको क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडीयू जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिनेसम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन् । जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ सुनिश्चित गराईने सो निणर्यमा उल्लेख छ ।
सिंहदरबारको अर्थमन्त्रालयमा आयोजित पदबहाली गर्ने कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानालगायत कर्मचारीहरू सहभागी थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शुक्रबार नेकपा एमाले निकट केही मन्त्रीलाई हटाएर जसपा पार्टी महन्त ठाकुर समूहका नयाँ अनुहारलाई आफ्नो पुर्नगठित मन्त्रिमण्डलमा सहभागी गराएका थिए । अहिले पदबहाली ग्रहण गरेका नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेल भने अर्थमन्त्रीको जिम्वारीसहित उपप्रधानमन्त्रीमा बढुवा भएका हुन् ।
शुक्रबार पुनर्गठित मन्त्रिपरिषद्मा पौडेलसहित तीन जना उपप्रधानमन्त्री, १२ जना मन्त्री र दुई जना राज्यमन्त्री रहेका छन् । अझै यीबाहेक रक्षा, गृह, सूचना प्रविधि तथा सञ्चार, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री ओली आफैंले राखेका छन् ।






