सभ्यता, सत्ता र शोषण

सभ्यतामा प्रवेश गर्नुअघि मनुष्यको कुनै कर्तव्य थिएन । त्यस बखतमा मनुष्यसँग अधिकार मात्र थियो तर त्यसको संरक्षणको प्रत्याभूति दिने कोही थिएन । सबै जना अधिकारले मात्र परिपूर्ण हुनु नै ‘सर्वाइवल अफ द फिटेस्ट’ हो । जो सक्षम उसैको जीवन । तथापि मनुष्य स्वतन्त्र थियो किनकि त्यहाँ उसलाई नियन्त्रण गर्न राज्य, शोषक, कानुन र सदाचारपद्धति थिएन ।

सभ्यताले मनुष्यलाई वैवाहिक जीवन दियो । सभ्यताले परिवार दियो र एकअर्कालाई माया गर्न सिकायो । प्राकृतिक जीवनमा रम्ने मनुष्य सांस्कृतिक जीवनमा प्रवेश ग¥यो । अब ऊ स्वतन्त्र जन्मे पनि बन्धनमा बाँच्न बाध्य भयो । मनुष्यले यो बन्धनलाई स्वीकार गर्नुको आधारभूत कारण थियो, जीवन, जहान र जायजेथाको सुरक्षा । घर बनाएर बस्न सिके पनि मनुष्य वनचर प्राणीबाट त सुरक्षित भयो तर मनुष्यबाट सुरक्षित हुन सकेन ।

परिवार र समाजमा बसेपछि भाषाको विकास भयो । खुसी र विषाद शब्दमा अभिव्यक्त हुन थाले । ध्वनिमा गाइने गीत शब्दमा गाइन थाले । भौतिक संसर्ग र सम्पर्कमा सीमित जैविक माया शब्दमा प्रकाशित हुन थाल्यो । शब्दको विकासले गर्दा खुसी र वेदनाहरू आपसमा प्रकट हुन थाले । तर, जीवन सुरक्षित थिएन किनकि तेरो मेरोको भावना विकसित भइसकेको थियो ।

असुरक्षाले युक्ति सिकाउँछ । मानिसले ज्यान, जन र जेथा जोगाउनका लागि आविष्कार गरेको युक्ति नै राज्य हो । मनुष्यले आफ्ना केही अधिकारलाई परित्याग गरेर बाँकी अधिकारको सुरक्षाका खातिर गरेको सम्झौताको उपज हो राज्य । त्यो सम्झौता गर्नु भनेको आफ्नो सुरक्षाको प्रत्याभूतिमा अरूको अधिकारको संरक्षणप्रति सहमत हुनु हो । मानिसले अधिकारलाई परित्याग गरेर कर्तव्यको बन्धनमा आबद्ध हुन स्वीकार गर्नु आश्चर्यजनक घटना थियो ।

मनुष्यले आपसी कबुलियत गरेका कुरा थिए अरूको पति या पत्नी , सन्तति, सम्पत्ति, आवास र प्रतिष्ठाको सम्मान । यही पारस्परिक स्वीकृतिबाट कथित सभ्य समाज स्थापना हुँदै गयो । तथापि सभ्यताले सिकाएको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य समूल नाश हुनेवाला छैन भन्ने कुरा पनि मनुष्यलाई थाहा थियो । यिनै गतिविधिमाथि अंकुश लगाउन सदाचार र नैतिकताका नियम बने । नियमको उल्लंघन गर्नेलाई दण्ड दिन सरकार बन्यो ।

सभ्यता र मनुष्य चिर प्रतिद्वन्द्वी हुन्

मनुष्य यत्तिमा सीमित हुन सकेन । अनेकौं प्राकृतिक प्रकोप, रोग, वार्धक्य र मृत्यु देखेर ऊ स्तब्ध भयो । उसलाई लाग्यो, यी सबै घटनाको कारक कुनै मनुष्येतर शक्ति हो । उसले रात, दिन, घाम, पानी, ठण्डी, गर्मी, वर्षा, आँधी, भूकम्पजस्ता घटना उत्पन्न गर्ने अज्ञात शक्तिलाई ईश्वरका रूपमा कल्पना ग¥योे । मानिसले वन, पर्वत, नदी, वृक्ष, पशु र आफ्ना मृत पूर्वजलाई पूजा गरेर खुसी पार्न थाल्यो । कालान्तरमा आफैंले स्थापना गरेको राज्यको शासक (राजा)लाई समेत आफ्नो भाग्यविधाताका रूपमा स्वीकार गर्न विवश भयो मानव ।

बोल्न सिक्नु भनेको आफ्नो अभिमत प्रकट गर्नु, अरूको अभिमतमा प्रतिक्रिया दिनु र आफ्नो मतको रक्षा गर्ने प्रयत्न गर्नु पनि हो । प्रत्येक कुराको कारण खोज्ने र प्रश्न गर्ने प्रवृत्तिकै कारण मानिस तर्कशील र बुद्धिमान हुँदै गएको हो । तर्क गर्ने प्रवृत्ति विकसित र विस्तृत हुँदै जाँदा मनुष्यले शक्तिमा रहने व्यक्तिसँग समेत प्रश्न गर्न थाल्यो । तर, शक्तिलाई प्रश्न मन परेन । शक्ति प्रश्न र असहमतिप्रति सधैं असहनशील रहँदै आएको छ ।

मानव सभ्यताको इतिहास प्रश्न गर्ने र प्रश्नको उत्तर दिनुभन्दा प्रश्नकर्तालाई दमन गर्नेबीचको द्वन्द्वको वृत्तान्त हो । परिवार, छिमेक, समाज र राज्य हुँदै अन्तर्राष्ट्रियस्तरमा समेत द्वन्दको विस्तार भएर आजको अवस्थामा आइपुगेको हो मानव सभ्यता ।

मनुष्यमा तर्क गर्ने, प्रश्न गर्ने र अभिमत प्रकट गर्ने प्रवृत्तिको विकास नभएको भए के हुन्थ्यो होला ? यसको उत्तर सहज छैन । परन्तु तर्क, प्रश्न, अभिमत र प्रतिरोधको अभावमा सभ्यता आजको मुकाममा आइपुग्नु सम्भव हुँदैनथ्यो । त्यस अवस्थामा समाज सभ्यताको आरम्भको अवस्थाबाट अगाडि बढ्न सक्ने थिएन ।

प्राचीन ग्रिसमा समुदायका मानिस एकै ठाउँ जम्मा भएर सामाजिक र सामुदायिक मामिलामा छलफल गर्थे । त्यसरी आयोजना हुने छलफलमा समुदायको प्रत्येक सदस्य सहभागी हुन र आफ्नो अभिमत प्रकट गर्न अनिवार्य थियो । त्यहाँ सामुदायिक उन्नयन’bout चुप लागेर बस्ने या आफ्ना व्यक्तिगत सरोकारमा मात्र सीमित हुने मानिसलाई इडियट भनिन्थ्यो । तर आजको समयमा फाल्तु र बेकामको बकबक गर्नेलाई ‘इडियट’ भन्ने गरिन्छ ।

सभ्यताले मनुष्यलाई बन्धन दियो । वैवाहिक बन्धन, पारिवारिक बन्धन, सामाजिक बन्धन, धार्मिक बन्धन, कानुनी बन्धन र सर्वत्र बन्धनै बन्धन । यही बन्धनलाई लक्षित गर्दै रुसोले भनेका थिए, मानिस स्वतन्त्र जन्मिन्छ तर ऊ सर्वत्र बन्धनमा रहन्छ । राज्यले त्यो बन्धनलाई झनै कसिलो बनायो ।

छिमेकी र धनी देशले हेपे भनेर जनता उचाल्ने सरकार आफैंले जनताको शोषण गरिरहेका छन्

सभ्यता, संस्कृति र सादाचारका नियम मनुष्यका बाध्यात्मक बन्धन हुन् । सभ्यतामा बस्न विवश भएकै कारण ऊ बन्धनमा बस्न राजी भएको हो । मनुष्यका दुई आयाम छन्, प्राकृतिक र सांस्कृतिक । प्राकृतिक रूपमा मनुष्य स्वच्छन्दताप्रेमी हुन्छ । संस्कृतिले उसलाई सीमामा बस्न प्ररित गर्छ । सभ्यताबाट प्रकृतिमा फर्कन असम्भव भएपछि मनुष्यको मनमा एउटा स्वाभाविक प्रश्न उठ्यो कि के यी सबै बन्धन अनिवार्य हुन् ? के यिनको कुनै विकल्प छैन ? के यी बन्धनलाई सीमित पारेर सबै मानिसलाई प्रतिष्ठित र स्वतन्त्र बनाउनु असम्भव छ ?

मनुष्यले ती गहन प्रश्नको उत्तर पत्ता लगायो । बन्धनलाई सीमित पारेर तुलनात्मक रूपमा स्वतन्त्र र प्रतिष्ठित मानव जीवनको स्थापना गर्न सकिन्छ । तथापि स्वतन्त्र हुनु भनेको आफूलाई जकडेर राखिरहेका बन्धनबाट मुक्त हुनु मात्र होइन । स्वतन्त्र, सभ्य र सुसंस्कृत हुनु भनेको अर्को मनुष्यलाई पनि स्वतन्त्र र प्रतिष्ठित बनाउनमा सहयोगी हुनु हो । सभ्यताले कोरेको लक्ष्मणरेखाको उल्लंघन गर्न नपाउने गरी सबै स्वतन्त्र छन् र सबैलाई सम्मान पाउने बराबर हक छ । यो मामिला जटिल छ तर अर्कोे उपाय पनि त छैन ।

नेल्सन मण्डेला भन्छन् ‘स्वतन्त्र हुनु आफ्नो बन्धनको जन्जिर उतारेर फाल्नु मात्र होइन । स्वतन्त्रता भनेको त्यस्तो जीवन हो जहाँ अरूको स्वतन्त्रता र इज्जतको पनि रक्षा र सम्मान होस् । सभ्यताले राज्य र सरकार जन्मायो, नीतिशास्त्र र सदाचारका नियम बने । सभ्यताले स्वतन्त्र रूपमा वन, पहाड, मैदान र मरुभूमिमा स्वच्छन्द विचरण गर्ने सुखदुःखको भुमरी’bout बेखबर बिन्दास जिन्दगी यापन गरिरहेको मनुष्यलाई सामुदायिक जीवनमा ल्याएर थेचा¥यो । यी सबै घटनाबाट मानिसले प्राप्त गरेको भरपाइ भनेको आक्रमणकारीबाट जीवनको सुरक्षा हो । सभ्यताले मनुष्यलाई दिएको अर्को उपहार सर्वाइवल अफ द फिटेस्टबाट सर्वाइवल अफ अल हो । तर विडम्बना त्यो हुन सकेन । सभ्यताको लक्ष्मणरेखा र बन्धन निर्विकल्प सर्त हो । तर, त्यो लक्ष्मणरेखा र बन्धन कसैलाई कम र कसैलाई बेसी हुन गयो । एक व्यक्ति जति मात्रामा बन्धनमुक्त, स्वतन्त्र र सम्मानित जीवन जिउने हक राख्छ, अर्को पनि त्यही अनुपातमा स्वतन्त्रता र सम्मान पाउने अधिकार छ भन्ने कुरा सभ्यताका ठेकेदारले महसुस गर्न आवश्यक सम्झेनन् ।

खान पाउने हक सभ्यताले दिएको होइन । खान त सभ्यताअघिको वन्य जीवनमा प्रकृतिले दिएकै थियो । खान पाउने हक त बरु प्रकारान्तरले सभ्यता र राज्यले खोसेर लिए । सभ्यता र राज्यले व्यक्तिका रोज्ने र सोच्ने विकल्प सीमित पारिदिए । वन्य जीवनमा लाजको अस्तित्व थिएन । मनुष्य नांगै विचरण गथ्र्याे । सभ्यताले लुगा लगाउन अनिवार्य ग¥यो तर लुगासम्मको पहुँच सबैका लागि सहज बनाउन सकेन । लुगा लगाउनुपर्छ भन्ने, लुगा लाउन नदिने, लाज मान्नुपर्छ भन्ने लाज छोप्न नदिने । चलाख हुनुपर्छ भन्ने तर्क गर्न नदिने, सुझबुझले काम गर्नुपर्छ भन्ने सुझबुझ सिक्न प्रश्न गर्न नदिने । धार्मिक हुनुपर्छ भन्ने मन्दिर पस्न नदिने, शिक्षित र ज्ञानी हुनुपर्छ भन्ने शिक्षा र ज्ञानको उज्यालोमा जानै नदिने । बलियो हुनुपर्छ भन्ने तर बलियो हुने गरी पौष्टिक आहारमा पहुँच नदिने । मनुष्यले सभ्यतामा आएबापत हजारौं वर्षदेखि पाउँदै आएको उपहार यही हो । मानव यो उपहारविरुद्ध कैयौं वर्षदेखि संघर्ष गर्दै आयो र अझै गर्दै छ । भविष्यमा पनि सभ्यता, संस्कृति र राज्यले दिएका यी उपहारविरुद्ध लडिरहनेछ मानव । सभ्यता र मनुष्य चिर प्रतिद्वन्द्वी हुन् ।

सभ्यताले मनुष्यलाई हुने र नहुनेमा विभाजन ग-यो । कानुन बनाउने, नीतिशास्त्र बनाउने र सदाचार सिकाउने काम सधैं हुनेकै हातमा रहँदै आएको छ । मानव जीवन खानु र लाउनुमा मात्र सीमित नभई अरू केही पनि हो भन्ने प्लेटो र अरस्तुले दासप्रथालाई स्वीकार गरे । सबैमा समभाव राख्ने भनेर कहलिएका राजारामले तपस्या गरेको आरोपमा शुद्रलाई मारे । आफू स्वतन्त्र हुन राष्ट्रिय क्रान्ति गर्ने अमेरिकी गोराहरूले कालालाई जन्जिरले बाँधेर दास बनाए । के दियो सभ्यताले मानव जातिलाई ? दासत्व, परतन्त्रता र भोकै परिश्रम गर्न विवश पारिएको मानवले के पायो ? स्वच्छन्द जीवनबाट धकल्दै तानेर कथित उन्नत अवस्थामा ल्याइएको मानवले सभ्यता, संस्कृति र राज्यले दिएको प्रताडनाविरुद्ध कहिलेसम्म संघर्ष गर्नुपर्ने हो ?

अहिले त यो वञ्चितीकरण मनुष्य जीवनको सीमा नाघेर राज्य–राज्यबीच पुगेको छ । छिमेकी र धनी देशले हेपे भनेर जनता उचाल्ने सरकार तिनै जनताको शोषण गरिरहेका छन् । यो शृंखला जति विस्तारित भयो सरकारलाई शासन गर्न त्यति नै सजिलो हुनेछ । वञ्चित मनुष्यलाई चेतनाबाट बाहिर तानेर भावुकतापूर्ण उन्मादतर्फ मोड्न बहुतै सजिलो छ ।

तपाइको प्रतिक्रिया
(Visited 743 times, 1 visits today)

epaper

ताजा समाचार

मेलामै दुई पक्षबीच झडप, प्रहरीद्वारा हवाई फायर