नुएरको सयौं खेलमा जर्मनीको फराकिलो जित

म्युनिख । गोलरक्षक तथा कप्तान म्यानुयल नुएरको कीर्तिमानी १ सयौं खेलमा जर्मनीले युरोपेली च्याम्पियनसिप अघिको अन्तिम तयारी खेलमा लात्भियामाथि ७–१ को सानदार जित निकाल्दै युरोकपका लागि तयार रहेको संकेत दिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको एकपक्षीय खेलमा जर्मनीको जितमा रोविन गोसेन्स, इल्केए गुन्डोगान, थोमस मुलर, सर्ज जिनाब्री, टिमो वेर्नर र लिरोए सानेले गोल गर्दा १ गोल उपहार पाएको थियो । लात्भियाका एलेक्सेज साभेलजेभ्सले १ गोल फर्काए । जर्मनीको गोलरक्षकका रूपमा उनी १ सयौं खेल खेल्ने एक्लो खेलाडी बनेका छन् । खेलअघि उनलाई टोलीले गार्ड अफ अनर दिएका थिए ।

उनले २००९ मा जर्मनीको सिनियर टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनी जर्मनीको नियमित राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेलिरहेका छन् । १९औं मिनेटमा रोविन गोसेन्सले काई हाभर्टजको पासमा गोल गर्दै जर्मनीलाई अग्रता सदलाए । २१औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे । २७औं मिनेटमा थोमस मुलरले रोजिन गोसेन्सको पासमा गोल गरेपछि जर्मनी ३–० ले अघि बढ्यो । ३९औं मिनेटमा रोबर्टस ओजोल्सले आत्मघाती गोल गरेपछि जर्मनीले खेलमा ४–० को अग्रता बनायो ।

४५औं मिनेटमा म्याट हमेल्सको पासमा सर्ज जिनाब्रीले गोल गरेपछि जर्मनीले पहिलो हाफमै ५–० को आरामदायी अग्रता बनायो । ५०औं मिनेटमा सब्सिच्युट टिमो वेर्नरले योसुवा किम्मिखको पासमा गोल गरेपछि जर्मनी फराकिलो जिततर्फ अग्रसर बन्यो । टिमो ४६औं मिनेटमा काई हाभर्टजको स्थानमा मैदान छिरेका थिए । ७५औं मिनेटमा एलेक्सेज साभेलजेभ्सलेले गोल गर्दै खेललाई ६–१ को अवस्थामा ल्याए पनि त्यसको १ मिनेटपछि नै ७६औं मिनेटमा अर्का सब्सिच्युट लिरोए सानेले थोमस मुलरको पासमा गोल गर्दै जर्मनीलाई ७–१ को फराकिलो जित दिलाए ।

समूह ‘ एफ’मा रहेको जर्मनीले १५ जुनको राति विश्वविजेता फ्रान्ससँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । त्यसपछि १९ जुनमा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र २३ जुनमा हंगेरीसँग खेल्ने तालिका छ । यता, युरोकपमा छनोट हुन असफल लात्भियाले इस्टोनियासँग १० जुनमा अर्काे मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । यस्तै, अन्य मैत्रीपूर्ण खेलमा युक्रेनले १० खेलाडीमा समेटिएको साइप्रसलाई ४–० ले पराजित गरेको छ । फारोई आइल्यान्डले लिचेस्टाइनलाई ५–१ ले पराजित गर्दा एन्डोरा र जिब्राल्टारले गोलरहित बराबरी खेलेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे