सबै सच्चिन जरुरी

देशमा अहिले सबैभन्दा ठूलो चिन्ताको विषय राजनीतिमा देखिएको अस्थिरता र अन्योलता हुन गएको छ । नेपाली जनताले सुखदुःखका साथ आफ्नो जीवन निर्वाह गरिरहेकै छन् । दिनानुदिन हुने विकास निर्माण र अन्य कार्यहरू पनि नियमित ढंगले अगाडि बढिरहेका छन् । कोरोनाको महामारी व्यापक बनेर अघि बढिरहेको छ । यस्तो अवस्थामा नेपाली राजनीतिले कुन मोड लेला ? भनेर सबैलाई चिन्ताले सताइरहेको छ । देशमा संघीय, संसदीय प्रणाली कायम छ । सरकार निरन्तर अस्तित्वमा छ । राजनीति दलहरू आफ्ना पार्टीका घोषणापत्र तथा पार्टीद्वारा लक्षित नीति, योजना तथा कार्यक्रमका साथ सशक्त रूपमा अघि बढ्न सकेका छैनन् । सरकार सरकारजस्तो, प्रतिपक्ष प्रतिपक्षजस्तो र राजनीतिक दलहरू राजनीतिक दलजस्ता देखिन छाडेका छन् । यो नेपाली राजनीति तथा यसको राजनीतिक भविष्यका लागि ठूलो चिन्ताको विषय हो । आज नेपाली राजनीति यही संकटको भुमरीमा नाचिरहेको अनूभूत हुन्छ । यो अवस्थाले राजनीतिक दलहरूमा तानातान, छिनाझपटी, देखेस् पखेस् र खोसाखोसको तनावपूर्ण स्थिति त सिर्जना गरेको छ नै त्योभन्दा बढी यसले नेपाली जनतामा ठूलो अन्योलता सिर्जना गरिदिएको छ । यस्तो अवस्थामा राजनीतिक दल र यसका अभिभावक नेताहरूले गम्भीर भएर बेलैमा सोच्नुपर्छ र मिलिजुली समस्याको उचित समाधान निकाल्नुपर्छ ।

देशमा हुने हरेक क्रियाकलाप राजनीति प्रेरित हुन्छन् । राजनीति विगत, वर्तमान र भविष्य हो । विगतका शासन व्यवस्थाभन्दा यो व्यवस्था राम्रो होस्, वर्तमानमा चलिरहेको व्यवस्था र त्यो व्यवस्थाले दिएका सेवा र भविष्यमा योभन्दा राम्रो शासन व्यवस्था होस् र सुविधा प्रदान गरोस् भन्ने आमजनताको चाहना हुन्छ । यी तीनवटै समयबीच तुलनात्मक दृष्टिकोण साधारण जनताले पनि पर्खिरहेका हुन्छन् । वर्तमानलाई डो-याउँदै भविष्यको उज्ज्वल नक्सांकन गर्ने सोच पनि राजनीति नै हो । त्यसैले कोही पनि राजनीतिक सुझबुझ र यसको लगामबिना अघि बढ्न सक्दैन । राजनीतिले नै सबैलाई आशावादी बनाइरहेको हुन्छ । तर, यही राजनीति आजका दिनमा गम्भीर समस्या बनेर देखापरिरहेको छ । शासन व्यवस्थाको अपनत्व लिनु, प्रगतिका लागि सहकार्य गर्नु, भविष्यका लागि प्रतिबद्ध रहनु राजनीतिक दल र यसका नेताहरूको दायित्व तथा अधिकार दुवै हो । तर, यो सर्वव्यापी मान्यतालाई अस्वीकार गर्दै, एकअर्कालाई सिध्याउने, खुइल्याउने, अनावश्यक चुनौती खडा गर्ने र सधैंभरि सत्ता केन्द्रित भएर क्रियाकलाप गरिरहने भएकाले राजनीतिक दलले आजसम्म प्राप्त गरेको राजनीतिक साख र विश्वास गुमाउन थालेका छन् । यसको बोध राजनीतिक दलहरूलाई समयमै हुनु जरुरी छ ।

पटकपटक सत्ता खोसाखोसको खेल खेलिरहने, एकले अर्कालाई असहयोग गर्ने र आफूहरू नै जिन्दगीभर सत्तामा रहनुपर्ने सोचले राजनीतिक दल र तिनका नेताहरूलाई आज जनताबाट टाढा गराएको छ । जनस्तरमा नेता र राजनीतिक दलप्रति गरिने र हुने तिखो टीकाटिप्पणी र घोचपेच सामान्य बन्न गएको छ । हिजोका दिनमा आर्दशका रूपमा रहेका नेताहरू र आफ्ना भविष्य निर्माण गरिदिने पार्टी आज सबैको अविश्वास व्यक्त हुने थलो बन्न पुगेका छन् । नेता र तीनका दलले गर्ने राजनीति हो । पार्टी राजनीतिको आफ्नो स्थान छ । नेताहरूको हैसियत आफ्नो स्थान छ । तर, समग्र देशको राजनीतिको स्थान सबैभन्दा माथि, सबैभन्दा जरुरी र सबैभन्दा श्रेष्ठ हुन्छ । यो कुरालाई मनन गरेर नेताहरू समयमै सतर्क भइरहनु जरुरी हुन्छ । तर, यही राजनीतिक सचेतनाको कमी हुन गयो भने देशको भविष्य कस्तो होला भनी परिकल्पनासमेत गर्न सकिँदैन । त्यसैले, राजनीतिसँग सम्बन्धित सबै दलहरू, यसका नेताहरू समयमै सच्चिनु अत्यावश्यक छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता