बर्खे भेलसँग बग्दै बजेट

चालू आर्थिक वर्षको बजेट अहिले पनि बर्खे भेलसँगै बगिरहेको छ । आर्थिक वर्षको अन्तिम महिना असारमा विकासे बजेट बर्खे भेलसँगै बग्दै आएका छन् । हरेक वर्ष भोग्नुपर्ने यो नियती यस वर्ष पनि अन्त्य भएन । यस्तो नियती अन्त्य हुन नसक्दा विकास निर्माणका लागि छुट्याइएको बजेट जहिले पनि पूर्ण रूपमा उपयोग हुन सकेन । तर, सो बजेट कतैकतै फ्रिज हुनेबाहेक अधिकांश खर्च भएकै देखिएको हुन्छ । लेखा परीक्षणमा पनि खर्च र भुक्तानी आएकै देखिन्छ । तर, विकासे बजेट सही किसिमले सदुपयोग भएको भने हुँदैन । हरेक वर्ष बजेट प्रस्तुत गरिसकेपछि बर्खायाम सुरु हुने । त्यसलगत्तै चाड पर्व सुरु हुने । यसपछि हिउँदे जाडो र राजनीतिक खिचातानी सुर हुने प्रक्रिया सुरु हुन्छ । हिउँदभरि राजनीतिक खिचातानी, ठेक्कापट्टाको अदलीबदली हुने र ठेकेदारहरू अघिल्लो वर्ष बाँकी रहेका ठेक्काको काम पूरा गर्न लागि पर्ने गर्छन् । चालू वर्षको नयाँ ठेक्काको पेस्की बुझेपछि पुरानो ठेक्का पूरा गर्नतिर लाग्ने र नयाँ ठेक्काको काम अलपत्र पार्ने गरिरहेको देखिन्छ । यो खालको काम गराई विकास निर्माणको मामलामा नौलो भने होइन । यस्तो नियती सुधारका लागि थुप्रैपटक आलोचना र जनस्तरबाटै उजुरी पनि आइरहेकै हुन्छन् । तर, पनि यसमा खासै सुधार हुन सकेको देखिएको छैन ।

यस्तो प्रचलन फेर्न र काम समयमै सम्पन्न गर्न सरकारले आर्थिक वर्षको बजेट केही महिना अघि नै प्रस्तुत गर्नेगरी नयाँ प्रचलनको पनि सुरुवात ग¥यो । पहिले हरेक असारमा आउने बजेट केही वर्ष अघिदेखि नयाँ वर्ष सुरु हुनेबित्तिकै ल्याउने प्रचलन अघि बढाइयो । सधंैभरि विकासे बजेट समयमा खर्च नहुने र आर्थिक वर्षको अन्तिम महिना असारमा असारे भेलसँगै खर्च गरिने प्रचलन अन्त्य गर्न यसो गरिएको हो । तर, पनि यो नियतीमा सुधार आएन । चालू आर्थिक वर्षको विकासे बजेट पनि असार महिनामा धमाधम खर्च गरिँदै छ । काम पनि भइरहेको छ । मजदुर पनि खटिरहेका छन् । मेसिन, औजार पनि प्रयोग भइरहेका छन् । तर, बर्खे भेलले गरेका काम नगरेको सरह बनाइरहेको छ । कागजी रूपमा हेर्दा सबै कुरा दुरुस्त छ । मिलेको छ । तर, यर्थाथमा पुग्दा बाटो खनिएको ठाउँमा बाटो भत्किएको हुन्छ । अन्य भौतिक पूर्वाधार निर्माण गरिएको ठाउँमा भेल तथा पहिरोले विनाश निम्त्याइरहेको हुन्छ । साधन, शक्ति र जनश्रम खर्च त भइरहेको छ ।

त्यसैले, लागेको बानी नफेरिएको हालको अवस्थामा सुधार ल्याउन सरकार सम्बन्धित मन्त्रालय र त्यस मातहत रहेका निकायलाई अनुगमन, निरीक्षण र सुपरिवेक्षणका लागि पूर्ण रूपमा सजग बनाएर खटाउनुपर्ने स्थिति सिर्जना हुन गएको छ । यो वर्ष पनि आर्थिक बेट बर्खाको भेलसँगै बगिरहेको छ । दैनिक अर्बांै रुपैयाँ खर्च भइरहेको छ । तर, त्यसको सकारात्मक परिणाम भने देखिन सक्ने स्थिति छैन । यो अवस्थामा सुधार ल्याउन सरकारले बजेट विनियोजन गरेलगत्तै ठेक्कापट्टाका लागि टेन्डर आह्वान, ठेक्कापट्टा प्रदान, पेस्की बजेट निकासामा कुनै पनि ढिलाइ नगरी निश्चित समयमा काम सुरु गरिसक्नुपर्ने नीति तथा कार्यक्रम अगाडि ल्याउनु जरुरी भएको छ । पटकैपटक सुधार र सुढृढीकरणका लागि पहल गरिए पनि कार्यान्वयन हुन नसक्नुका कारण पत्ता लगाई यसको निराकरण गरिनु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा