काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने ज्वाला संग्रौला दम्पती सरकारी कागजपत्र कीर्ते काममा संलग्न रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा ज्वाला दम्पत्तिले सरकारी लिखत कीर्ते गरेको प्रमाण फेला परेको प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले बताए ।
संग्रौलाको जन्मदर्ता र उनका पति हिमाल उपाध्यायबाट नाता प्रमाणित र सम्बन्ध विच्छेदको कागजपत्रमाथी प्रहरीले अनुसन्धान गरेको थियो । ती कागजपत्रलाई प्रमाणीकरण गर्न सम्बन्धित गाउँपालिकालाई पठाउदा फर्जी भेटिएको प्रहरीको भनाई छ ।
जापानमा बसेर सामाजिक सञ्जालमा उग्र स्टाटस लेखेर चर्चामा आएकी संग्रौलालाई प्रहरीले ६ असारमा आफ्नै साथी खुश्बु (नविता) घिमिरेसंग सामाजिक सञ्जालमा भएको गाली गलौजका सन्दर्भमा ज्वाला प्रहरी कार्यालय गौशाला पुगेकी थिइन् ।
गौशाला प्रहरी कार्यालयमा दुईपक्षबीच छलफल चलिरहेका बेला उनले प्रहरीकै सामुन्ने नवितालाई कुटपिट गरेपछि नविताले किटानी जाहेरी दिएकी थिइन् । उक्त घटनामा प्रहरीले मिलापत्र गराएर पठाएको थियो ।
महाराजगञ्जमा एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि उनी पुनः पक्राउ परेकी थिइन् । रंगभेदी अभिव्यक्ति दिएको भन्दै ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका असई मणिकान्त झाले पनि उनीविरुद्ध जाहेरी दिएका छन् । सञ्चारकर्मी रबि लामिछानेकी समर्थक संग्रौला सामाजिक सञ्जालमा उग्र स्टाटस लेख्ने गर्छिन् ।