राजधानी सहर काठमाडौंलगायत उपत्यकाका तीनै सहरमा जोरबिजोर नम्बरमा गाडीहरू सञ्चालनमा ल्याइएपछि थप सावधानीको आवश्यकता पर्न गएको महसुस सबैलाई भएको छ । जोरबिजोर नम्बरमा सार्वजनिक यातायात चलेकै दिन गाडीमा निकै भिडभाड रहेको र सोचेअनुरूप यात्रीहरूको सावधानी पनि नपुगेको देखिएको छ । गाडी सञ्चालक स्वयं यात्रुहरूले चाप पारेको भन्दै भीडभाड यात्रुहरू लिएर हिँड्ने गरिरहेका छन् । ठाउँठाउँमा चेक जाँच रहे पनि यात्रुहरूको कामका चापका कारण यसो हुन गएको स्पष्टीकरण गाडी सञ्चालकले दिइरहेका छन् । अर्कोतिर पुग्नैपर्नेछ भन्दै यात्रुहरू निकै हतारहतारमा भीडभाडसहित यात्रा गर्ने गरिरहेका छन् । आवश्यक दूरी कायम गर्ने, मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्ने कुरालाई निकै गम्भीरताका साथ लिएको देखिँदैन । बरु, हतारहतार गन्तव्यमा पुग्नुपर्ने मात्र ध्याउन्न रहेको देखिन्छ ।
अर्कोतिर लामो समयसम्म गाडी थन्क्याएर बस्नुपर्दा साहु र बैंकको किस्तासमेत तिर्न नपाएका गाडी सञ्चालक थोरै भए पनि आम्दानी हुने लोभमा जहाँकहीँ प्यासेन्जर खोज्दै हिँडेको देखिन्छन् । यी कुराहरू कतिपय सेवासँग जोडिएका छन् त कतिपय बाध्यतासँग पनि जोडिएका छन् । यसको अर्थ गाडी सञ्चालन हुनुहुँदैन थियो भन्ने होइन । बरु, गाडी सञ्चालनमा ल्याएपछि अपनाउनुपर्ने मापदण्ड पूरा हुन सक्लान् वा नसक्लान् सोको पूरापुर ख्याल गर्नुपर्ने थियो । यसका लागि नियामक निकाय, सञ्चालक तथा यात्रुहरू बढी जिम्मेवार हुनुपर्ने देखिन्छ । तर, नियामक निकाय, यात्रु तथा सञ्चालक सबैमा धेरथोर लापर्बाही देखापरिरहेको छ । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने र सेनिटाइजर प्रयोग गर्ने कुरामा भने जत्तिको हेक्का पुग्न सकिरहेको छैन । कोरोना महामारीको दोस्रो लहर बढी आक्रामक र नृसंश भइरहेको बेला यस्तो छुट कसैलाई पनि छैन । यसको अर्थ यातायात नै सञ्चालन गर्नुहुँदैन । यात्रा नै गर्नुहुँदैन र बस चढ्नु नै गल्ती हो भन्ने होइन । बरु, महामारीको प्रकृतिअनुसार आफूलाई सर्तक बनाएर तदनुकूलको व्यवहारमा ढाल्न र अभ्यस्त बनाउन नभुल्नु हो । तर, पनि हेर्दा सामान्यजस्तो लाग्ने तर यसैले धेरैको ज्यान लिन सक्ने वातावरण नबनोस् भन्नेमा सबै सर्तक रहनुपर्छ । थोरै पनि सतर्कता गुमाएर हेलचेक्र्याइँ गर्ने हो भने हामीहरू आफन्त हुन सक्छांै तर महामारी भने कसैको पनि मित्र वा आफन्त हुन सक्दैन । यसले पु-याउने धनजनको क्षतिलाई समयमै ख्याल गरिनुपर्छ ।
सवारी साधन चलेसँगै जनताका जनजीविकाका कुराहरू पुनः सञ्चालनमा आउन थालेका छन् । आफूले गर्ने कारोबार वा व्यवसाय गर्दा पनि महामारी रोकथामको मापदण्डलाई हेक्का राख्न बिर्सनुहुँदैन । केही महिनादेखि निरन्तर चलेको लकडाउन र त्यसले दैनिक गुजाराका लागि अर्थोपार्जनमा पारेको असर कम गर्न यो सापेक्षतामा सुलाइएको सवारीसाधनले कम गर्न अवश्य मद्दत गर्नेछ । तर, यही सेवा र सुविधाले महामारीलाई बढाउन पनि मद्दत गर्न सक्ने कुरालाई हामी सबैले गम्भीरताका साथ लिनुपर्छ । उपत्यकामा जोर र बिजोर सवारीसाधन सञ्चालनमा आउनुपूर्व घरेलु तथा अन्तर्राष्ट्रिय हवाई उडान पनि प्रयोगमा आइसकेको छ । हवाई उडानमा निश्चित दूरीसहितको स्वास्थ्य मापदण्ड पालना गरिएको देखिए पनि सार्वजनिक यातायातमा भने त्यसलाई कायम गर्न नसकिएको देखिन्छ । त्यो लापर्बाही र हेलच्येक्रेयाइँ कम गर्न नियामक निकायका साथै यात्रुहरू र सञ्चालक बढी जिम्मेवार र सर्तक रहनु जरुरी हुन गएको छ । यही सर्तकताले मात्र आगामी आर्थिक क्रियाकलापलाई गति प्रदान गर्न सक्नेछ ।






