लोक संवादमा शिक्षा

आज मुलुकलाई कमिलाजस्तै मिल्न सक्ने र माहुरीजस्तै परिश्रम गर्ने नागरिकको खाँचो छ । हरेक नागरिकमा इतिहासप्रति गौरवको अनुभूति गर्न सक्ने भावना र देशप्रतिको माया हुन आवश्यक हुन्छ । पुर्खाहरूको योगदान र बलिदानबाट प्रेरणा लिएर आफू, आप्mनो समाज, भाषा, धर्म, संस्कृति विकास एवं स्वाभिमानको रक्षा गर्न सक्ने सुसंस्कृत नागरिक उत्पादन गर्न शिक्षाको ठूलो भूमिका हुन्छ । देशको शिक्षा प्रणालीले समाजमा रहेका विविधतालाई एकतामा बाँध्ने शुत्रका रूपमा काम गर्न जरुरी हुन्छ ।

स्वदेशमा नै आर्थिक उन्नति गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु शिक्षाको आर्थिक कार्य हो । समग्रमा शिक्षा व्यक्ति, समाज र देश विकासकोे आधार स्तम्भ हो । सामाजिक, आर्थिक, सांस्कृतिक, वैज्ञानिक एवं राजनीतिकलगायत क्षेत्रको विकास र समृद्धिको स्रोत हो शिक्षा । त्यसैले देशको शिक्षा प्रणालीले हरेक क्षेत्रमा प्रभाव पारेको हुन्छ । परन्तु हाम्रो देशको सन्दर्भमा शिक्षाको अवस्था र यसबाट उत्पादित शिक्षित जनशक्तिको अन्तरदृष्टि र आउटपुटको आधारमा शिक्षाको अवस्था कस्तो छ त ? माथि उल्लेखित गुण र चिन्तन भएका नागरिकहरू उत्पादन भएका छन् त ?

अभिभावकहरू भन्छन्, ‘सरकारले शिक्षालाई नागरिकको मौलिक अधिकारमा दस्तावेजीकरण गरी विद्यालय शिक्षालाई निःशुल्क गराए तापनि व्यवहारमा लागू गर्न सकेको छैन । निजी शिक्षालयहरू व्यापार केन्द्र भएका छन् । सर्वसाधारणको पहुँचमा छैनन् । ठूलो लगानी गरेर पढाएका छोराछारीले न जागिर पाउँछन् । न त कुनै काम गर्न सक्ने सीप आर्जन गर्न सक्छन् । अहिले समाजमा सांस्कारिक चेतनामा पनि ह्रास आइरहेको छ । शिक्षित छोराछोरीहरूले शास्त्रीय उपदेशहरूको पालन गर्ने चिन्तनको विकास भएको पाइँदैन । बिहान सबेरै उठ्ने, धर्मकर्म, पूजापाठ, घरधन्दा आदि इत्यादि व्यावहारिक ज्ञान पनि कमजोर हँुदै गए । देशको शिक्षा सिङ न पुच्छरको भयो । छोराछोरालाई पढायो, विदेश पठायो । के गर्नु ?

छोराछोरी भन्छन्, ‘मम्मी ड्याडी पुरानो चिन्तनका । उहाँहरू जस्तै बनिदिनुपर्ने । चुलो चौकोमा काम गर्नुपर्ने । खेतखलाको काममा पनि सघाउनुपर्ने । पढेपछि त त्यहीअनुसारको काम गर्नुप¥यो नि । कृषिजन्य काम नै गर्ने हो भने यी यतिका पढेको के काम ?’ किसान परिवारका छोराछोरीहरूमा उल्लेखित चिन्तनको विकास गराउने शिक्षाले कस्तो भविष्यको निर्माण होला ?

व्यावहारिक, रोजगारमूलक एवं जीवन उपयोगी ज्ञान नै नभए शिक्षाको मर्म भाँचिन्छ

शिक्षकहरू भन्छन्, ‘हाम्रो शिक्षा प्रणालीले विद्यार्थीहरूमा अनुशासन निर्माण गर्न सकेन । आपूmभन्दा ठूलालाई इज्जत, सानोलाई माया, कमजोरलाई दया देखाउन सक्ने शिक्षितहरू उत्पादन गर्न सकेन । कृषि, पशुपालनलगायतका क्षेत्रसँग शिक्षा जोडिएन । व्यावहारिक, रोजगारमूलक एवं जीवन उपयोगी ज्ञान नै नभएपछि शिक्षाको मर्म भाँचिन्छ । यस्तै भएको छ । सरकारले शिक्षाको गुणस्तर उकास्न महसुस हुन सक्ने कुनै पनि काम गरेको छैन । बरु विद्यार्थीहरूलाई माथिल्ला कक्षामा पुग्न सकिने सहज बाटा र पाटाको अवसर दिएको छ । ग्रेडिङ सिस्टम लागू भएपछि विद्यार्थीहरूमा पढ्ने लेख्ने रुचि कम हुँदै गएको पाइन्छ । विद्यार्थीहरूमा पास भइहालिन्छ नि भन्ने मनोविज्ञानको विकास हुँदै गएको छ ।

विद्यार्थीहरू भन्छन्, ‘विद्यार्थीको मनोविज्ञान बभ्mन नसक्ने सरहरूले दिक्क बनाउँछन् । किताब रटाउने, आधुनिक शिक्षण सिकाइमा दक्षता नभएका गुरुहरूले यसो गर, उसो गर भन्ने आदेशात्मक टिचिङले सिर्जनात्मक क्षमताको विकास हुँदो रहेनछ । प्लस टु पछाडि विदेश नगई प्रगति गर्न नसकिने साथीहरूको विचार बढ्दो छ । आखिर बुबाआमाले यति धेरै लगानी गरेर पढाउनुभयो । युवा अवस्थामा विदेश नगई नहुने अवस्था छ । न त पढेर आप्mनै देशमा जागिर पाइन्छ । न त शिक्षामा व्यावहारिक ज्ञान बुभ्mन र सिक्न नै पाइन्छ । भविष्य अन्योल छ ।’

शिक्षाविद् भन्छन्, ‘राज्यले शिक्षामा लगानी बढाउँदै लगेको छ । नेपालको जनसंख्यालाई पुग्ने शिक्षालय खोलिएका छन् । भौतिक पूर्वाधारमा ठूलो रकम खर्च भएको छ । परन्तु शिक्षालाई गुणस्तरीय बनाउन राज्यले सकेन । शिक्षा समयसापेक्ष हुन सकेन । शिक्षाका व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय उद्देश्य पूरा हुन सकेनन् । शिक्षाजस्तो प्राज्ञिक क्षेत्रलाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्ने गरिएकाले शिक्षा अधुरो भयो । अपुरो भयो । तहस नहस भयो । लथालिंग भयो । राजनीतिकरण भयो । सामुदायिक विद्यालयमा नागरिकको आकर्षण घट्दो छ । निजी विद्यालय अस्वाभाविक शुल्क उठाएर अकुत सम्पति कमाउने माध्यम बनेका छन् । सरकार टुलुटुलु हेरेर बसेको छ । यस सन्दर्भमा राज्यले शिक्षालाई राष्ट्रियकरण गर्दै सबैको पहुँचमा गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्ने नीति अपनाउनुपर्छ । यसो गर्दा राज्यले प्राज्ञिक थिंक टयांक बनाई उनीहरूसँग सहकार्य गर्न आवश्यक छ ।

शिक्षण पेसाका विज्ञ भन्छन्, ‘शिक्षण सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने गुरुजनहरू आप्mनो पेसामा इमानदार एवं दक्ष नभएसम्म शिक्षण सिकाइको गुणस्तर उकास्न सम्भव छैन । जसरी एउटा कुमालेले चाहेको आकारमा काँचो माटोका भाँडालाई आपूmले चाहेको आकार प्रकारमा ढाल्न सक्छ त्यसरी नै सिकाइका दार्शनिक र मनोवैज्ञानिक ज्ञान र नवीन विधिको ज्ञान भएका गुरुजनले मात्र भिन्न उमेर, स्वभाव, आचरण एवं प्रतिभा भएका विद्यार्थीलाई सिकाइ जीवन्त गराउन सक्छन् । बुझाउन सक्दछन् । शिक्षार्थीहरूलाई नैतिकवान्, सिर्जनशील, योग्य र सक्षम बनाउन सक्छन् । उनीहरूमा रहेको आन्तरिक क्षमतालाई उजागर गर्न सक्छन् । यसो हुन सकेको छैन । एकातिर सक्षम शिक्षकको व्यवस्थापन गर्न सरकार चुकेको छ भने अर्कोतिर शिक्षकलाई राजनीति गर्न छुट दिएको छ । अध्ययन अनुसन्धान गरी अध्यापन गराउनुपर्ने गुरुजनहरू राजनीतिक दलको झोला बोकेर हिँडेपछि कसरी स्तरीय शिक्षण सिकाइ हुन सक्छ ?

आध्यात्मिक गुरु भन्छन्, ‘अनुशासन मानव जीवनको पहिलो प्राथमिकता हो । अहिले शिक्षामा अनुशासन हराउँदै गएको छ । आफूलाई जन्मदिने आमा, बुबाको महत्वसमेत बुझाउन सकेको छैन शिक्षाले । शिक्षित सन्ततिबाट आप्mना वृद्घ बुवाआमालाई वृद्घाश्रममा जान बाध्य बनाउने समाचार पढ्नुपर्दा शिक्षितमा नैतिकता भ्रष्ट हुँदै गएको प्रस्ट हुन्छ । हरेक व्यक्तिको कर्तव्यबोध गराउन नसक्ने शिक्षा बास्ना बिनाको पूmलजस्तो हुन्छ । यसका साथै हाम्रा सामाजिक मूल्य, मान्यता, धार्मिक सन्देश एवं संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि हाम्रो शिक्षा सफल भएको पाइँदैन । अनि कसरी व्यक्ति एवं समाज शिष्ट, सभ्य, शालीन र सुसंस्कृत हुन सक्छ ?

स्वदेशमा नै आर्थिक उन्नति गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु शिक्षाको आर्थिक कार्य हो

अर्थशास्त्रीहरू भन्छन्, स्वदेशमा नै आर्थिक उन्नति गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु शिक्षाको आर्थिक कार्य हो । शिक्षाले देशमा भएको प्राकृतिक स्रोत र साधनको उपयोग गर्न सक्ने ज्ञान र सीप भएका जनशक्ति उत्पादन गर्न आवश्यक हुन्छ । कृषि, पशुपालन, उद्योग, व्यापार, कला, साहित्य, विज्ञानलगायतका क्षेत्रमा चाहिने जनशक्ति उत्पादन गर्ने काम शिक्षाको हो । विश्वविद्यालयसम्मको अध्ययनले आफ्नो खुट्टामा उभिन सक्ने, उद्यमी हुने र स्वरोजगारको ढोका खोल्ने सीप भएको जनशक्ति उत्पादन गर्न नसक्नु शिक्षाको ठूलो कमजोरी हो ।

उल्लेखित व्यक्ति एवं व्यक्तित्वका आवाजले शिक्षाको वर्तमान अवस्थालाई प्रतिनिधित्व गरेका छन् । यसरी हेर्दा शिक्षा क्षेत्रमा समस्या नै समस्याले जेलिएको देखिन्छ । आजको शैक्षिक अवस्थालाई माथि उठाउन राज्यको दृष्टकोण असफल भइसकेको अवस्था छ । त्यसैले शिक्षामा आमूल परिवर्तन आवश्यक भइसकेको छ । यसो गर्दा शिक्षाको व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय उद्देश्यहरू निर्माण गर्नेदेखि लिएर पाठ्यक्रम एवं पाठ्यपस्तकलाई समयसापेक्ष बनाउनु पहिलो सर्त हुन आउँछ ।

अन्त्यमा शिक्षा शब्दकोशका अनुसार पाठ्यक्रमलाई निश्चित उद्देश्य, लक्ष्य, विषयवस्तु, प्रक्रिया, स्रोत र मूल्यांकनको साधनका रूपमा लिइएको पाइन्छ । राष्ट्रिय शिक्षा पद्घति योजना २०२८ मा पाठ्यक्रम शिक्षाको उद्देश्य प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम हो भन्ने छ । पाठ्यक्रमविद् सेलरले पाठ्यव्रmमलाई शिक्षाको उद्देश्य पूरा गर्न बनाइएको शैक्षिक योजना हो भनेका छन् । यस सन्दर्भमा देशको शैक्षिक योजना बनाउँदा व्यावहारिक, जीवन उपयोगी, सांस्कारिक, वैज्ञानिक एवं आजको समाजका बहुआयामिक क्षेत्र समेट्ने र भोलिको समाजको आवश्यकता सम्बोधन गर्न सक्ने नीति निर्माण, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ, मूल्यांकन, नियमनलगायतका क्षेत्रमा आमूल परिवर्तन गर्न विलम्ब गर्नुहुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 334 times, 1 visits today)

epaper

ताजा समाचार

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा