राजनीति र प्रशासनबीच एकताबद्ध प्रयास जरुरी

राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीचको एकताबद्ध प्रयासबाट मात्रै मुलुकले विकास र समृद्धि हासिल गर्न सक्छ । अहिले त आमजनताले कोरोनाको सन्त्रास भोग्न बाध्य भइरहेका छन् । कोरोनाका कारण कतिखेर मृत्युको मुखमा पर्नुपर्ने हो भन्ने भयले नागरिक दिनहँु त्रसित छन् । त्यसैले यस्तो अवस्थामा राजनीति र प्रशासनिक नेतृत्वको मुख्य काम जनताको स्वास्थ्य सुरक्षा गर्नुमा नै केन्द्रित हुनुपर्छ । यस्तो संकटको समयमा पनि राजनीति र प्रशासनबीच राम्रो तालमेलयुक्त वातावरण बन्न सकेको छैन । जुन निकै दुःखद हो ।

हामीकहाँ राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच राम्रो तालमेल भई प्रभावकारी रूपमा काम हुन सक्ने अवस्था कहिल्यै पनि बन्न सकेन । त्यसैले पनि सरकारको काम प्रभावकारी हुन सकेन भने नागरिकले राम्रो सेवा पनि पाउन सकेनन् । यसैको परिणामस्वरूप राजनीति र सरकारप्रति जनताले अपनत्वको महसुस पनि गर्न सकेनन् ।

राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्वलाई पूर्णरूपमा नियन्त्रणमा राख्न सकेको देखिँदैन भने सार्वजनिक प्रशासनमा रहेका कैयांै कर्मचारीमा कामचोर प्रवृत्ति हावी हँुदै आएको छ । जनताप्रति जिम्मेवारी र उत्तरदायी हुनुपर्ने दुवै पक्ष जागिरे प्रवृत्तिमा रमाउने गरेका छन् । राजनीतिक नेतृत्वले प्रशासनिक नेतृत्वलाई सधैं शंकाको दृष्टिकोणबाट हेर्ने र प्रशासनिक नेतृत्वले पनि राजनीतिक नेतृत्वप्रति अविश्वास गर्ने प्रवृत्ति अहिले पनि रोकिन सकेको छैन । त्यसैले समस्या दुवै पक्षमा छ । यतिखेर हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनको अभ्यासमा छांै । यो शासन व्यवस्था संसारकै उन्नत शासन व्यवस्था हो । तर, शासन सञ्चालनमा महŒवपूर्ण भूमिकामा रहेका राजनीतिक र प्रशासनिक नेतृत्वको पुरानै मानसिकता र कार्यशैलीका कारण नयाँ शासन व्यवस्थाको संस्थागत विकासमा गम्भीर समस्या देखिन थालेका छन् । यी समस्याको समयमा नै समाधान खोज्न जरुरी छ ।

संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकारमा धेरै समस्या देखिन थालेका छन् । जनतालाई सबैभन्दा नजिकबाट सेवा दिने भनेकै स्थानीय सरकारका रूपमा रहेका स्थानीय तह हुन् । तर, धेरै स्थानीय तहमा विकृतिका चाङ छन् । जनप्रतिनिधि विकास योजनालाई लागू गर्ने र सेवा प्रवाह प्रभावकारी बनाउनेभन्दा पनि कमाइ धन्दामा बढी लिप्त भइरहेका छन् । त्यहाँ रहेका कर्मचारी पनि जनप्रतिनिधिसँगै नै मिलिमतो गरी आफ्नै फाइदा हुने काममा नै रम्दै आइरहेका छन् ।

स्थानीय तहमा गरिने गल्तीले केन्द्रीय राजनीतिलाई समेत प्रभावित पार्ने निश्चित छ । स्थानीय तह, प्रदेश र संघीय सरकार तीनवटै सरकारमा देखिएका विकृतिको समयमा नै निवारण हुन सकेन भने छोटो समयमा नै संघीय शासनप्रति आमजनतामा निराशा आउन सक्ने र प्रतिगामीलाई टाउको उठाउन सहज हुन सक्ने सम्भावनासमेत त्यतिकै बढेर गएको छ ।

जनप्रतिनिधिले जतिसुकै बद्मासी गरे पनि कर्मचारीतन्त्रले भने टुलुटुलु हेरेर बस्ने गरेको छ र उल्टो उनीहरूलाई साथ दिने गरेको छ । जनप्रतिनिधिलाई सही दिशामा ल्याउन कर्मचारीतन्त्रले पनि आवश्यक भूमिका खेल्न सक्नुपर्छ । देश बनाउने शपथ लिएर जागिरमा आएका कर्मचारी कानमा तेल हालेर बस्ने र उल्टो आफ्नै मात्रै स्वार्थमा रमाउने कार्य बन्द गरिनुपर्छ ।

स्थानीय तहमा रहेका जनप्रतिनिधिले पनि हिजो जनतामा गरेका वाचाअनुसार काम गरेर जनतालाई खुसी बनाउन सक्नुपर्छ । अहिले सबै ध्यान कोभिडविरुद्धमा केन्द्रित गरिनुपर्छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वले आफ्ना कमी कमजोरी सच्चाउँदै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

एकाबिहानै भूकम्पको धक्का, महसुस काठमाडौं उपत्यकामा पनि