निर्वाचन राजनीतिक अन्योलताको निकास

तनावपूर्ण राजनीतिको अन्त्य कहिले होला ? यो हामी सबै नेपालीको अहिलेको मुख्य चिन्ता र चासोको विषय हो । तनावपूर्ण राजनीति देश र जनताको हित प्रतिकूल हुने भएकाले यसको अन्त्य चाँडो होस् भन्ने अपेक्षा गरिएको हो । सम्मानित सर्वोच्च अदालतबाट निकट भविष्यमै आउने फैसलाले तत्कालका लागि राजनीतिक निकास दिए पनि स्थिर राजनीतिक निकासका निम्ति हामीले निर्वाचनमा जानैपर्ने हुन्छ भन्ने कुरा सर्वविदितै छ । राष्ट्रिय राजनीति तनावपूर्ण बन्ने कारण पनि अनेक हुन सक्छन् । विविधकारणबाट उत्पन्न हुने राजनीतिक तनाव अल्पकालीन र दीर्घकालीन भनी दुई प्रकारले वर्गीकरण गर्न सकिन्छ ।

प्रायः गरी नेताको स्वार्थ र स्वेच्छाचारिताबाट सिर्जित तनाव अल्पकालीन हुन सक्छ । तर, दलीय स्वार्थ र प्रतिस्पर्धा तथा जनभावना सिर्जित तनाव भने दीर्घकालीन हुन सक्छ । मुलुकमा अहिले देखिएको राजनीतिक तनाव अल्पकालीन हो । नेतृत्व तहकै पारस्परिक स्वार्थ सिर्जित अहिलेको तनावले क्षणिक भए पनि राष्ट्रिय राजनीतिलाई सशंकित भने बनाएको छ । अस्थिर राजनीतिक तनाव अन्त्य हुन सक्छ तर अत्यधिक बहुमत प्राप्त स्थिर सरकारै अस्थिर बन्ने अवस्था कायम रहेसम्म राजनीतिक तनाव सदाका लागि अन्त्य हुन सक्दैन । यसको कारक तŒवको पहिचान पनि जनस्तरबाटै हुनुपर्छ । भविष्यमा पुनः यही प्रवृत्ति पुनरावृत्त हुन नदिन नेताभन्दा नेता छनोट गर्ने जनताले नै संवेदनशील बन्नुपर्छ ।

विगत एक दशकदेखि कायम रहँदै आएको राजनीतिक अस्थिरताबाट नेपाली जनता आजित बन्दै आएको विदितै छ । राजनीतिक अस्थिरताको पीडा जनताले बेहोरे भने नेता र राजनीतिक दलले यसको फाइदा लिए । यसैले नेता र दलमुखी समृद्धि अन्त्य पारी देश र जनतामुखी समृद्धि स्थापित गराउने उद्देश्यले पछिल्लो आमनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई अत्यधिक बहुमतले विजयी गराएर जनताले तत्कालका लागि राजनीतिक अस्थिरता अन्त्य गरे । तर, जनताबाट प्राप्त बहुमतलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै शीर्षस्थ नेताहरूले ‘बाँदरको हातमा नरिवल’ भनेझंै औचित्यहीन बनाइदिए । राजनीतिक स्थिरता दल र नेताका लागि भन्दा देश र जनताकै लागि लाभप्रद हुने भएकाले आफ्नो स्वार्थ पूरा हुन नसक्ने ठानेरै नेताले स्वार्थको प्रतिस्पर्धा निम्त्याएर पुनः मुलुकको राजनीति अस्थिरता उन्मुख बनाए । जुन दुःखद हो ।

सत्तामा रहेकाले सत्ता छोड्न नचाहने, सत्ता बाहिरकाले जसरी पनि सत्तामा पुग्नै पर्ने आकांक्षा राख्नुको रहस्य नै स्वार्थ हो । राजनीतिक मूल्य र मान्यतामा, राजनीति आधारित रहेसम्म दलीय सिद्धान्तले मान्यता पाउने हुँदा सत्तामा दलको प्रतिनिधि जो पुगे पनि कुनै फरक पर्दैन । सिद्धान्तमा आधारित राजनीतिमा स्वार्थ र स्वेच्छाचारिताले स्थान पाउँदैन । सत्तामा पुग्नेले दलीय सिद्धान्तलाई नै कार्यान्व्यन गर्नैपर्ने भएकाले दलबीचको प्रतिस्पर्धा पनि स्वच्छ र पारदर्शी हुन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पनि दलीय सिद्धान्तकै आधारमा सत्तामा पुग्यो । केपी शर्मा ओली पनि दलीय सिद्धान्तकै आधारमा प्रधानमन्त्री बने । दलीय सिद्धान्तभित्र नेताको स्वार्थ हुनुहुँदैन । यही क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीसँग के कस्तो सम्झौता गरेका थिए भन्ने कुरा जनसरोकारको विषय होइन । सार्वजनिक रूपमा यस्तो टिप्पणी गर्नु पनि उचित हुँदैन । प्रधानमन्त्रीले दलीय मूल्य र मान्यता मुताबिकै सत्ता सञ्चालन गर्ने हो नेता विशेषको आकांक्षा र प्रभावमा होइन भन्ने कुरा सबैलाई जानकारी भएकै हो । अत्यधिक बहुमत प्राप्त दलको निर्वाचित कार्यालयसम्म प्रधानमन्त्री बहाल रहन्छन् भन्ने आमनागरिकको दृष्टिकोण रहनु स्वाभाविक हो । निश्चित अवधिसम्म कायम रहनुपर्ने स्थिर सरकार अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालकै कारण बीचैमा संकटको भुमरीमा धकेलियो ।

सिद्धान्तमा आधारित राजनीतिमा स्वार्थ र स्वेच्छाचारिताले स्थान पाउँदैन

संकटको जड पनि पुष्पकमल दाहालको स्वार्थ थियो भन्ने कुरो पनि बराबर सार्वजनिक भएकै हो । दलीय सिद्धान्तमा पार्टी सञ्चालित हुँदा केपी शर्मा ओली वा पुष्पकमल दाहालमध्ये जो सत्तामा रहे पनि केही फरक पर्दैन । तर, दलीय मूल्य मान्यतालाई व्यक्तिको स्वार्थले विस्थापित गर्नेसम्मको अधिकार नेताले प्राप्त गर्दा सोही कारण सत्तारूढ पार्टीमा विखण्डन आयो । यही सन्दर्भको ओलीको ठाउँ आफूले लिनुपर्छ भन्ने दाहालको दृष्टिकोण सकारात्मक होइन । पुष्पकमल दाहालकै पछि लाग्दा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि पार्टीमा रहँदै आएको साख आफैंले खस्काए । प्रधानमन्त्री भइसकेका दुवैले दाहालको स्वार्थलाई साथ दिँदा आमनेपालीकै नजरबाट टाढिए । लोकतन्त्रमा दलबीच र नेताबीच नै प्रतिस्पर्धा हुनुपर्छ तर यस्तो प्रतिस्पर्धा देश र जनताको मुद्दामा केन्द्रित रहनुपर्छ । प्रतिस्पर्धाले व्यक्ति खारिँदै आउँछ भने दललाई लोकप्रिय बनाउँछ । यसले प्रतिस्पर्धा निजी स्वार्थमा होइन समूहगत स्वार्थ देश र जनताको हित र प्रगतिमा, लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन र जनता लाभान्वित गराउन केन्द्रित भए मात्र त्यो सबैका लागि मान्य हुन्छ ।

तर, राजनीतिक वृत्तमा देखिएको पछिल्लो प्रतिस्पर्धा नेताकै मात्र स्वार्थमा आधारित रहँदा निराशाजनक भयो । यस सन्दर्भमा प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेसको भूमिका पनि प्रभावकारी देखिएन । प्रतिपक्षमा रहेको कांग्रेसको व्यवहारले भने सत्ता साझेदारकै झलक दिँदै आयो । प्रतिपक्षमा रहेको कांग्रेसकै सभापति शेरबहादुर देउवाले सत्तासँग गरेको अप्रत्यक्ष साँठगाँठ कांग्रेसका निम्ति फाइदाजनक भयो । देउवाको साँठगाँठले प्रधानमन्त्री ओलीलाई नै मबजबुद बनायो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दलीय अधिकार नै अध्यक्षद्वयलाई सुम्पिदिँदा दुवै अध्यक्ष सिंगो पार्टीपंक्ति मानिनु स्वाभाविकै थियो । सर्वाधिकार सम्पन्न नेताकै कारणबाट अन्ततः पार्टी नै धराशायी बन्यो । अनियन्त्रित स्वेच्छाचारिता आफ्नै लागि घातक हुन्छ, यसले दुर्घटना निम्याउँछ भन्ने कुरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समयमै ध्यान पु¥याएको भए पार्टीमा विखण्डन आउने थिएन । यसका निम्ति अध्यक्षद्वय मात्र होइन सिंगो पार्टी नै दोषी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका कदम पनि कतिपय कानुनसम्मत थिएनन् भन्ने कुरा सम्मानित सर्वोच्च अदालतकै फैसलाले नै बताइसकेको छ । अदालतको फैसलाले ओलीलाई सजग गराएको पनि देखियो । यसको पछिल्लो दृष्टान्त प्रधानमन्त्री ओलीले पार्टीलाई नेकपा माओवादीसँग गरिएको एकतापूर्वकै अवस्थामा फर्काउन गरेको पछिल्लो निर्णयले पनि गल्ती सच्याई हिजोभन्दा आज ओली बुद्धिमान बनेको संकेत ग¥यो । तर, त्यसलाई अझै पनि माधवकुमार नेपाल पक्षको विपक्षी समूहले स्वीकार गरिसकेको अवस्था छैन । स्वेच्छाचारिता कहिल्यै पनि लोकतान्त्रिक हुन सक्दैन । जनसमर्थन रहेसम्म लोकतन्त्र जीवित रहन्छ । जनभावनाको कदर नगर्ने प्रवृत्ति लोकतान्त्रिक हुँदैन । यो अवस्थामा लोकतन्त्रको अस्तित्व नै समाप्त हुन्छ । नेताले लोकतान्त्रिक व्यवहार अपनाए अपनाएनन् ? भन्ने कुराको छानबिन गर्ने न्यायाधीश भनेको जनता नै हुन् । लोकतन्त्रभित्र पलाएका विकृति र विसंगति चिरफार गरी हटाउने शल्य चिकित्सक पनि जनता नै हुन् । यसैले लोकतान्त्रिक शासन व्यवस्थामा देखिएका कमजोरी हटाउन पनि जनतामा जानुबाहेक अर्को विकल्प हुँदैन ।

मुलुकमा देखिएको अहिलेको मुख्य राजनीतिक समस्या राजनीतिक अस्थिरता नै हो । राजनीतिक अस्थिरताले देशकै मर्यादा अन्तर्राष्ट्रिय जगत्मा गिराएको अनुभूति हुन थालेको छ । सरकारले कोरोनाविरुद्धको खोपको व्यवस्था समयमै गर्न नसक्नु र यसको निम्ति राष्ट्रपतिलाई प्रयोगमा ल्याउन तर राष्ट्रपतिकै प्रयासलाई अन्तर्राष्ट्रिय जगत्ले वास्ता नगर्नुको रहस्य राजनीतिक अस्थिरता नै हो । सत्ता परिवर्तन हुनु नौलो कुरो होइन तर प्रवृत्ति परिवर्तन भएन भने त्यो मुलुककै निम्ति हानिकारक बन्छ । ओलीको स्थान ओगट्न खोज्ने दाहालको रणनीति नै स्वार्थ प्रेरित भएको र विगतकै उनको कार्यकाल लोकप्रिय हुन नसकेको अवस्थामा उनको पुनरामन जनताका निम्ति उत्साहजनक छैन । केपी ओलीको ठाउँमा शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनालै आउन सक्लान् । तर, जो आए पनि सिस्टमको फ्लोअप नभएसम्म लोकतन्त्र मजबुद हुँदैन । अत्यधिक बहुमतकै सरकार नेताबीचको इगोकै कारण धराशायी बन्यो भने चार पाँच दलको संयुक्त सरकार कति दिन चल्ला ?

सत्तामा पुग्नैपर्ने, सत्तामै टिकिरहने, विपक्षी र विरोधीलाई उठ्नै नदिने नीतिमा आधारित राजनीति कहिल्यै पनि स्वच्छ, पारदर्शी र जनताको हितकर हुँदैन

यसर्थ ६-६ महिनामा सरकार फेबदल गरेर सबैको पालो पु¥याएर देश लुटाउनुभन्दा नयाँ जनादेशको निम्ति जनतामाझ जानु उत्तम हो । यस सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासम्म जान गरेको संसद् विघटनको कदम उचित देखिन्छ । स्वार्थको राजनीति गर्ने व्यक्तिलाई पाखा लगाएर सिद्धान्तको राजनीति गर्ने ऊर्जाशील सक्षम र दक्ष एवं इमानदार व्यक्तिको नेतृत्वमा देश परिचालित भएको हेर्ने आमनेपालीको आकांक्षा छ । यसको निम्ति निर्वाचनबाहेक अन्य विकल्प छैन । अहिलेको मूल्य मुद्दा विघटित संसद् पुनस्र्थापित मात्र होइन । मुख्य मुद्दा त राजनीतिक स्थिरता स्थापित गराई नयाँ नेतृत्वलाई सत्ता सुम्पने नै हो । स्वार्थको राजनीतिमा परम्परागत व्यक्तिलाई नै दो¥याई, तेह¥याई सत्ता सुम्पदा मुलुक दिनानुदिन धराशायी बन्ने कुराप्रति जनता चिन्तित छन् । सत्तासीन बन्नकै लागि जुट्ने चार पाँच दलको सहमति स्थिर र राज्यका लागि हितकर हुँदैन भन्ने कुरा विगतमा बराबर दोहारिँदै आएकै हो । सत्ता फेरबदल ठूलो कुरा होइन मुलुक गतिशील बनाउनु ठूलो कुरा हो । अहिले मुलुकलाई लोकतन्त्रको व्यावहारिक अनुभूति दिलाउन सक्ने दक्ष व्यक्तिको खाँचो छ । यसका लागि पनि निर्वाचन नै मुख्य विकल्प हो ।

धराशायी बनेको विद्यमान राजनीतिक अस्थिरतालाई आडभरोसा दिएर अल्पकालको निम्ति बाबजुद बनाइएको नाटक गरिए पनि त्यो दीर्घकालसम्म टिकाउ हुँदैन । आफूलाई प्राप्त अत्यधिक बहुमतको कदर गर्न नसक्ने व्यक्तिकै अझै पनि हालीमुहाली हुनु भनेको मुलुकलाई दुरवस्थाको खाडलमा धकेल्नु हो भन्ने कुरा जनताले नै बुझेका छन् । ढिलो चाँडो मुलुकले निर्वाचनमै जानुपर्छ । आगामी निर्वाचनमा कुन दललाई राज्य सत्ता सुम्पने कुनलाई प्रतिपक्षमा राख्ने अथवा राजनीतिक स्थिरतकै सदुपयोग गर्न नसक्ने उनै पुरानै रैथाने व्यक्तिलाई नै पुनः राजनीतिक खलनायकै बनाइरहने ? भन्ने कुरा जनताले नै निर्णय गर्ने कुरा हो । यसतर्फ जनता पनि आफैं सजग बन्नुपर्छ ।

सत्तामा पुग्नै पर्ने सत्तामै टिकिरहने, विपक्षी र विरोधीलाई उठ्नै नदिने नीतिमा आधारित राजनीति कहिल्यै पनि स्वच्छ, पारदर्शी र जनताको हितकर हुँदैन । यो प्रवृत्तिको राजनीतिले मुलुकलाई उँभो लगाउँदैन । विगत १४ वर्षको परिदृश्यले नै यो कुरा प्रमाणित गरिसकेको छ । अहिले अधिकांश दलका शीर्षस्थ भनिने नेता जनताका निम्ति एलर्जी बन्दै आएका छन् । उनीहरूले लोकप्रिय बोलीकै भरमा बराबर जनतालाई धोका दिँदै स्वार्थ केन्द्रित राजनीति गरेर फाइदा लुट्दै आए । उनीहरू नै ठूला भ्रष्टाचारमा मुछिए, तस्कर र अपराधीसँगै हातेमालो गरेर दोहोरो फाइदा लिए । अपराधलाई राजनीतिकरण गरी अपराधिक प्रवृत्तिलाई महŒवपूर्ण ओहदा प्रदान गरी सम्मान गर्दै आए । राजनीतिक अपराधी कानुनभन्दा माथिका हुन्छन् भन्ने नजिर स्थापित गरे । उनीहरूकै संरक्षणमा बलात्कारी र हत्याराले उन्मुक्ति पाउँदै आए । ऐन कानुन निमुखा र निरीहको लागि मात्रै ल्याइएको हो भन्ने व्यावहारिक अनुभूति दिलाए ।

प्रधामन्त्री केपी शर्मा ओलीले पनि सत्तामा टिकिरहन टीकापुर हत्याकाण्डमा दोषी देखिएका रेशम चौधरीलाई छुटकारा दिलाउने सर्तमा जसपाको महन्त ठाकुर पक्षसँग सम्झौता गरेरै सत्ता थप मजबुत बनाउने प्रयास गरे । तर, ओलीको यो स्वार्थको सम्झौता जनताको निम्ति मान्य छैन ।

यसैगरी, भावी प्रधानमन्त्रीकै रूपमा प्रस्तावित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नै जनताको नजरबाट गिरेकै व्यक्ति हुन् । उनले त रौतहट बमकाण्डका घाइतेलाई जीवितै इँटाभट्टामा होमेर तड्पाएर मार्ने नाइके अफताव आलमलाई छुटाउन लागि परेको सर्वविदितै छ । पदमा नहुँदै हत्यारालाई काखी च्याप्ने देउवा प्रधानमन्त्री बने अपराधीले प्रोत्साहित पाउने मात्र होइन आस्थाका बन्दी छुटाउने क्रममा भएका कारगार सबै खाली नहोलान् भन्न सकिन्न । यो अवस्थामा मुलुको शान्तिसुरक्षा कस्तो होला ? यसको अलावा १० वर्षसम्म राजनीतिको नाममा हिंसात्मक आन्दोलनबाट आफूले ५ हजार निर्दोष व्यक्तिको ज्यान लिएको स्वीकार गर्ने पुष्पकमल दाहाल त नरसंहारकै नाइके नै भए । दाहालको विगतको कार्यकाल पनि चमत्कारीपूर्ण थिएन । यसरी अपराधको राजनीतिकरण गर्ने प्रवृत्ति हावी भएसम्म र त्यस्तै मानसिकताका व्यक्ति नै राजनीति क्षेत्रका नायक बनेसम्म मुलुकको राजनीति स्वच्छ र पारदर्शी तथा जनउत्तरदायी हुँदैन भन्ने निर्णय लिन जनता नै अब सक्षम बन्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

एकाबिहानै भूकम्पको धक्का, महसुस काठमाडौं उपत्यकामा पनि