अति गर्नु अत्याचार नगर्नू भन्ने लोकउक्ति नेपाली राजनीतिमा मेल खाँदैन । दलहरूले राजनीतिलाई सुख, सुविधा, पद, प्रतिष्ठा र आयआर्जनको माध्यम बनाउँदा बनाउँदै अत्याचार गर्न पुगे । एकातिर राजनीति भ्रष्टचारमा डुबेको छ भने अर्कोतिर छलछाम र झुठको पेसा भएको छ । दलहरूकै कारण समाजमा यत्रतत्र, सर्वत्र भ्रष्टचारले जरा गाडेको छ । नेपाली समाजले राणाकाल र निरंकुश पञ्चायती व्यवस्था अत्याचार भयो भनेर व्यवस्था फेर्नका लागि लामो संघर्ष गरे । लोकतन्त्रको स्थापना गरे । तर, लोकतान्त्रिक सरकार र दलहरूले पनि अत्याचार गर्न छाडेनन् । अहिलेको सरकारका क्रियाकलाप र राजनीतिक दलमा देखिएको टुट, फुट, झुठ, स्वार्थ र निर्लज्ज क्रियाकलाप कलाविहीन नाटकका रूपमा प्रहसन भएका छन् । यो पनि राजनीतिक सिद्घान्तप्रति गरिएको अत्याचार हो ।
किन चाउरिस् मरिच ? आप्mनै पीरले भनेझैं विकास र सुशासनको गफ दिएर जनमत बटुल्न सफल ओली सरकार आप्mनै कार्यशैलीका कारण चकनाचुर भयो । पर्याप्त बहुमतप्राप्त जननिर्वाचित सरकारले विगत तीन वर्षमा गरेका कामकारबाहीहरू जनहित र देशका लागि अनूकल हुन सकेनन् । यस अवधिमा राजनीतिक दलले सिद्धान्त, निष्ठा र आदर्शविपरीत राजनीतिक अभिनय गर्दै आए । अमर्यादित गालीगलौज र टुट फुटमा विभाजित भए । शीर्ष भनिने नेतागणहरूकै कारण राजनीति लाजनीतिमा परिणत भएको छ । यिनीहरूकै कारण राजनीति क्षेत्रमा केन्द्रदेखि स्थानीय तहसम्म विसंगति व्याप्त छ । राजनीतिक विसंगतिकै कारण प्रशासनतन्त्र भ्रष्टचारमा चुर्लम्म डुबेको छ । यस वर्ष नेपालीले स्विटजरल्यान्डको बंैकमा २२ अर्ब रुपियाँ बढेको तथ्यांक बाहिरिएको छ । विदेशी ऋण बढेको छ । प्रधानमन्त्रीले भ्रष्टचार गर्दिनँ र गर्नेहरूलाई सहन्न भन्ने गरेका थिए । उनले नेतृत्व गरेको समयमा सबभन्दा बढी भ्रष्टाचार भएको तथ्यांक बाहिरिएका छन् । राजनीतिमा योभन्दा बेइमानी के हुन्छ ? योभन्दा ठूलो नाटक के हुन्छ ? नौटंकी के हुन्छ ? के राजनीति गर्नेहरूलाई लोकलाजको अनूभति हुँदैन ? नैतिकता हुुँदैन ?
भूपि शेरचनको कविता घुम्ने मेचमाथि अन्धो मान्छेजस्तो यो सरकार असक्षम साबित भएको छ । लडखडाएको छ । ढंग न ढाल खानको काल भनेझैं कुनै पनि काम गर्न सफल नभएको यो सरकारले आर्थिक दोहन गर्न भने सफल भएको छ । भरखरै प्रदेश १ का मुख्यमन्त्रीका लागि काठमाडांैमा मासिक ३ लाख रुपियाँको घरभाडा तिरेर कार्यालय राखिएको समाचार आएको छ । नेपाली जनताले थाहा नपाएका यस्ता सित्तैको धन फुपुको श्राद्धको राइदलो कति होलान् ? यो सरकारको न त आर्थिक सुशासन छ ? न त राजनीतिक संस्कार ? ओखलमा हात हाल्नेलाई मुसलको के को डर ? भनेझैं भ्रष्टाचार र आर्थिक दोहनबाट पालित पोषित यी नेतालाई यो मुलुक आर्थिक दोहन गर्ने सुगम ठाउँ बन्यो । सम्भवत दुई तिहाइको जनमतको आधारमा बनेको जननिर्वाचित सरकारले एउटै कार्यकालमा ६ महिनाको फरकमा दुई÷दुईपटक संसद् विघटन गरेको घटना विश्वजगत्मा नै पहिलो होला । यति मात्र होइन देशको संविधान एवं कुनै पनि नीति नियमको ख्याल नै नगरी मनपरी गर्ने लोकतान्त्रिक पद्घति अभिनयबिहीन नाटक होइन र ?
विकास र सुशासनसँग नजोडिएको राजनीतिक अभिनयलाई तिरस्कार गर्नुपर्ने बेला आएको छ
समाजमा सत्य कुराहरू उजागर नभएका पनि होइनन् । तथापि एक्लो बृहस्पति झुट्टा भनेझैं सत्य बोल्ने र लेख्ने राजनीतिक विश्लेषक, लेखक, बुद्घिजीवी, स्वतन्त्र चिन्तक, सामाजिक अभियान्ताका आवाज बुलन्द हुने गरेका छन् । तर, सुनुवाइ हुँदैन । आज पढेलेखेका युवाहरू देशमा छैनन् । गाउँघर वृद्घवद्घा र केटाकेटीका बस्ती भएका छन् । हरेक वर्ष कृषि उत्पादन घट्दो छ । यस वर्ष मात्र ४४ अर्बको चामल मात्र आयात भएको समाचार आएको छ । देश विकास गर्ने युवाको मेहनत र पसिनाले हो । युवाको जोस, जाँगर, सीप र शक्तिलाई विकास निर्माणका कार्यमा लगाउन सकिएन भने देशले विकासको गति लिन सक्दैन । यही लोकतान्त्रिक व्यवस्थामा युवा विदेश निर्यात भएका हुन् । स्वदेशमा बाँकी भएका युवा पनि बेरोजगारीले सताइएका छन् । कोही राजनीतिक दलका झन्डा बोक्न बाध्य भएका छन् भने कोही कुलतमा फँसेका छन् । देशलाई युवाविहीन बनाएर विकास र समृद्घिको गप हाँक्ने गतिविधि पनि कलाविहीन नाटक नै हो । देशप्रति गरिएको भद्घा मजाक हो ।
देश विभिन्न तह, वर्ग, क्षमता, सीप, कला, हैसियत र पेसा भएका नागरिकको समागम थलो हो । हाम्रो मुलुकमा नागरिक समाज, बुद्घिजीवी, प्राज्ञ, पत्रकार, कानुनविद्, लेखक, प्राध्यापक, विज्ञ, विशेषज्ञ, कवि, कलाकारलगायतका विभिन्न व्यक्ति एवं व्यक्तित्वको अभाव छैन । तथापि राज्यसँग उनीहरूको ज्ञान र विज्ञतालाई देश निर्माणमा उपयोग गर्ने अक्कल छैन । सहकार्यको संस्कृति छैन । संस्कार छैन । केही मात्रामा रहेका शीर्ष स्तरका पुराना राजनीतिज्ञले मात्र देश चलाउने विधि र तरिका अपनाएकाले समाजमा थप्रै विवाद सिर्जना भएका छन् । उनिउ फुल्दो न ढुंगो टुसाउँदो भन्ने लोक उक्तिसँग मेल खाने यो असक्षम नेतृत्वबाट विकास र सुशासन सम्भव नै देखिँदैन ।
देशमा समस्या नै समस्याका चाङहरू छन् । भ्रष्टचार, ढिलासुस्ती, अपारदर्शिता, गैरजिम्मेवार प्रवृत्ति, दण्डहीनतालगायतका समस्याको समाधान गर्नेतर्फ सारकारको कुनै चासो छैन । शिक्षा क्षेत्र लथालिंग छ । लाखौंको संख्यामा विद्यालय उमेर समूहका बालबालिका विद्यालय शिक्षाबाट बाहिर छन् । सवैका लागि शिक्षाको सपना नारामा मात्र सीमित छ । संविधानमा शिक्षा र स्वास्थ्य सेवालाई मौलिक अधिकारको रूपमा दस्तावेजीकरण गरिएको छ । परन्तु व्यवहारमा यिनै दुईवटा क्षेत्र व्यापार भएका छन् । राज्य समाजका तमाम समस्याबाट नागरिकलाई छुटकरा दिने योजनामा अर्जुन दृष्टिका साथ लाग्नुपथ्र्याे । त्यसो हुन सकेन ।
प्राकृतिक स्रोत र साधनले भरिपूर्ण मुलुकमा भिजन, मिसन र एक्सनको इच्छाशक्ति भएको राजनेता नहुनु नेपालीहरूका लागि दुर्भाग्यको विषय हो
प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रोजस्तो मुलुकमा भिजन, मिसन र एक्सनको इच्छाशक्ति भएको राजनेता नहुनु नेपालीहरूको दुर्भाग्य हो । राज्यले शिक्षाको माध्यमद्वारा दक्ष जनशक्ति उत्पादन गरेर सक्षम जनशक्तिको माध्यमले प्राकृतिक स्रोत र साधनहरूको दोहन गर्नुपर्नेमा राजनीतिकलाई देश विकासको आधार मानेकाले देशका हरेक क्षेत्र कमजोर भएको अवस्था छ । विकासमैत्री राज्य र दक्ष जनशक्तिको अभावमा देशको विकास असम्भवको कुरा हो । सिंहदरबारबाट विकासको जतिसुकै ठूला कुरा गरे अहिलेको राजनीतिक प्रवृतिले सुशासन र विकास सम्भव छैन ।
जुन जोगी आए पनि कानै चिरेका भनेझैं देशलाई विकासको बाटोमा हिँडाउन सक्ने कुनै पनि नेता विशेष वा विश्वासयोग्य राजनीतिक दल नभएपछि सर्वसाधारण निराश भएका छन् । २०४६ सालदेखि नागरिकहरूले राजनीतिक दलहरूलाई पालैपालो चुनावमा जिताएर सरकार बनाउने मौका दिए । पालैपालो सरकारमा पुगेका दलहरूले नागरिकका समस्याहरूलाई निदान गर्ने र राहतको महसुस हुने केही पनि कार्य गर्न सकेनन् । बरू देशलाई कमजोर बनाउने र नागरिकको राष्ट्रिय भावनामा चोट पु¥याउने कार्य भयो । सरकार फेरबदल भइरहने अभ्यास बारम्बार भइरह्यो । देश कुइरोको कागजस्तै दिशाहीन भूमरीमा अल्झिरह्यो । अझै पनि राजनीतिको पूmलबारीमा रसपान गरिरहेको समूहले आप्mनो दुनो सोझाउन आपूm सम्बद्घ नेता वा राजनीति दल उत्कृष्ट रहेको कला विहीन अभिनय गरिरहेको देखिन्छ । सुनिन्छ, यी अन्धभक्तहरू सुशासनका बाधक हुन् ।
देशमा राजनीतिक परिवर्तन जनताको त्याग, तपस्या र बलिदानबाट भएका थिए । यी परिवर्तनहरूको व्यवस्थापन गर्न राजनीतिक पार्टीहरू सफल नहुँदा नागरिकका लागि प्रजातन्त्र वा गणतन्त्र हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै भएको छ । नागरिकले विकासकोे अनुभूति गर्न पाएका छैनन् । केही व्यक्ति र समूहले मात्र नेपाली राजनीतिलाई दुहुनो गाई बनाएका छन् । काम गर्ने कालु मकै खाने भालु भनेझैं जनताको तागत र बलिदानबाट आएको गणतन्त्रलाई राजनीतिक दलहरूले बिना लगानीको आम्दानीको स्रोत बनाएका छन् । यस सन्दर्भमा उल्लेखित क्रियाकलाप र राजनीतिक प्रवृत्तिलाई परास्त गर्न नागरिक जागरण जरुरी छ । समाजले ठीक र बेठीक छुट्याउन सक्नुपर्छ । विकास र सुशासनसँग नजोडिएको राजनीतिक अभिनयलाई तिरस्कार गर्नुपर्ने बेला आएको छ । यसै गरौं ।