सर्जियो रामोस पीएसजीमा

पेरिस । स्पेन तथा रियल म्याड्रिडका पूर्वकप्तान तथा डिफेन्डर सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् । पीएसजीले भेट्रान डिफेन्डर रामोसलाई फ्रि एजेन्टमार्फत २ वर्षका लागि क्लबमा अनबुन्ध गरेका हुन् ।

सम्झौताअनुसार ३५ वर्षीय रामोस सन् २०२३ सम्म पीएसजीमा रहनेछन् । पीएसजीले बिहीबार रामोसलाई क्लबमा सार्वजनिक गरेका छन् । अब उनले पीएसजीमा आफ्नो परम्परागत ४ नम्बरको जर्सी लगाउनेछन् । पीएसजीमा सम्झौता भएसँगै रामोसले पीएसजीमा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताएका छन् ।

‘यो मेरो जीवनमा ठूलो परिवर्तन हो, यो नयाँ चुनौती हो । म यो दिन कहिल्यै बिर्सन सक्दिनँ । म यो क्लबको महत्वाकांक्षी परियोजनाको हिस्सा हुन पाएकोमा ठूलो गर्व गर्छु ।’ पीएसजीमा सम्झौतापछि रामोसले भने, ‘यति धेरै स्टार खेलाडी भएको टोलीको एक हिस्सा बन्न पाउँदा खुसी छु । पीएसजी आफंैमा इतिहास बोकेको क्लब हो ।

म यहाँबाट पनि ट्रफीहरू जित्न चाहन्छु ।’ पीएसजीमा रामोस रियलका पूर्वसहयात्री केलर नाभास, एन्जल डि मारिया, अचरफ हाकिमीसँग पुर्नमिलन हुनेछ । जुआन बर्नाट, सर्जियो रिको, पाब्लो साराविया र एन्डर हेरेरा उनको स्पेनिस सहयात्री हुनेछन् । रामोस यो सिजन पीएसजीमा अनुबन्ध हुने तेस्रो खेलाडी हुन् । यसअघि पीएसजीले जर्जिनियो वाइनाल्डम र अचरफ हाकिमीलाई अनुबन्ध गरेको थियो ।

चारपटकको च्याम्पियन्स लिग विजेता रामोसको अनुभव पीएसजीलाई फाइदाको विषय हुनेछ । पीएसजी पहिलोपटक च्याम्पियन्स लिग जित्ने लक्ष्यमा रहेको छ । पीएसजीमा रामोसको सहयात्रीमा अब नेयमार केलियन एमबाप्पे पनि हुनेछन् । अब पीएसजीको लक्ष्य नेयमार र एमबाप्पेलाई क्लबमै राख्नु हुनेछ । सन् २०१० को विश्वविजेता टोलीका सदस्य रामोसले गत सिजन चोटका कारण अधिकांश खेल गुमाएका स्पेनको युरोपेली च्याम्पियनसिप र ओलम्पिक टोलीमा स्थान बनाउन असफल भएका थिए ।

क्लबले सार्वजनिक गर्नु अगावै पीएसजीको वेभसाइटमा पीएसजीको नयाँ डिफेन्डर जो ४ नम्बर जर्सीमा देखिनेछन् भनेर समाचार लेखेको थियो । तर, लगत्तै उक्त पोस्ट हटाइएको थियो । रामोस बुधबार नै पेरिस पुगेका थिए । उनले पीएसजी टीभीसँगको अन्तरवार्तामा ४ नम्बर जर्सीबाटै आफूले खेल करियर सुरु गरेको र यो जीवनभर साथ रहेको बताउँदै यही ४ नम्बरमा थुप्रै उपाधि जित्न सफल भएको बताएका छन् ।

रियलमा उनले दुई वर्षको सम्झौता माग गरे पनि यसमा सहमति जुट्न नसक्दा उनले सिजनको अन्त्यसँगै रियल छाडेपछि उनी फ्रि एजेन्ट बनेका थिए । रामोसले रियलबाट १६ सिजन बिताउँदा ६ सय ७१ खेल खेलका थिए । जउनले रियलबाट १०१ गोल गरेका छन् । सन् २००५ मा सेभियाबाट रियल पुगेका रामोसले रियलबाट २२ भन्दा बढी उपाधि जितेका छन् । रामोसले रियलबाट पाँचपटक ला लिगा र चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

यता, क्लब फुटबलमा विवादित छवि बनाएका इटालियन फरवार्ड मारियो बालोटेली टर्किस क्लब एडाना डिमिरस्परमा अनुबन्धित भएका छन् । बालाटेली फ्रि एजेन्टमार्फत टर्किस क्लब एडानामा अनुबन्धित भएका हुन् । उनले टर्किससँग ३ वर्षको सम्झौता गरेका छन् । ३० वर्षीय फरवार्ड यो सिजनको अन्त्यसँगै इटालियन सिरी ‘बी’ क्लब मोन्जाबाट स्वतन्त्र बनेका थिए । उनी ६ महिनाका लागि मोन्जामा आबद्ध भएका थिए । तर, टोली यो सिजन पनि शीर्ष डिभिजनमा उक्लन सकेन ।

इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुलका पूर्वफरवार्ड बालाटेलीको यो १०औं क्लब हो । उनले लुमिजाने, इन्टर मिलान, म्यानचेस्टर सिटी, एसी मिलान, लिभरपुल, निस, मार्से, ब्रेसिया र मोन्जाबाट खेलिसकेका छन् । क्लबको अफिसियल ट्वीट ह्यान्डलबाट बालाटेलीले एडानामा अनुबन्धित भएको तस्बिर सार्वजनिक भएको छ । व्यावसायिक खेल करियरमा टर्की उनको चौथो राष्ट्र हो । यसअघि उनले इटाली, इंग्ल्यान्ड र फ्रान्सबाट खेलिसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 425 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै