पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश अर्थतन्त्रका विषयमा श्वेतपत्र जारी गरेको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आइतबार पत्रकार सामु सो श्वेतपत्र जारी गरेको जानकारी दिए । उनले विगतका वर्षमा प्रदेशको अर्थतन्त्रले सही दिशा लिन नसकेको उल्लेख गर्दै अब लगानी मैत्री वातावरण नबनाउँदा निजी क्षेत्र सशंकित भएको बताए ।
श्वेतपत्र अनुसार प्रदेशमा गएका वर्षमा द्वितीय क्षेत्रको योगदान घट्दै गएको जनाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ग्रार्हस्थ उत्पादनमा द्वितीय क्षेत्रको योगदान १७.४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा यस क्षेत्रले अर्थतन्त्रमा जम्मा १६.६ प्रतिशत योगदान गर्ने अनुमान रहेको छ ।
मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको प्रथम योजनाको अन्त्यसम्ममा द्धितीय क्षेत्रको योगदान २२.४ प्रतिशत पु-याउने लक्ष्य लिइएकोमा द्वितीय क्षेत्रमा आएको ह्रासका कारण अर्थतन्त्रले सही दिशा लिन नसकेको बताए ।
अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री पोखरेलले प्रदेशको आवधिक योजना कार्यान्वयन गर्न १० खर्ब १२ अर्ब पुँजी लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको र सार्वजनिक क्षेत्रबाट कुल लगानीको ३५.६ प्रतिशत खर्च गर्ने प्रतिवद्धता गरिएको बताए । यसका लागि सरकारले प्रत्येक वर्ष करिब ७२ अर्ब पुँजी लगानी गर्न आवश्यक भए पनि गएका तीन आर्थिक वर्षमा सरकारले गरेको पुँजीगत खर्च वार्षिक करिब ११ अर्ब मात्र रहेको बताए ।
निजी क्षेत्रबाट कुल लगानीको ५८.१ प्रतिशत, सहकारी क्षेत्रबाट ४.४ प्रतिशत र सामुदायिक क्षेत्रबाट १.१ प्रतिशत लगानी हुने अपेक्षा गरिएको छ । प्रथम पञ्चवर्षी योजना अवधिमा औसत आर्थिक वृद्धिदर १०.२ प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको भए पनि गएका ३ वर्षमा आर्थिक वृद्धिदर बढ्नुको साटो घट्दै गएको छ । चालु वर्षमा आर्थिक वृद्धिदर जम्मा २.६ प्रतिशतमा सीमित हुन सक्ने अनुमान गरिएको छ ।






