काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोली तथा विभागीय नेपाल एपीएफकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’को दायाँ घुँडाको चोटको सफल शल्यक्रिया भएको छ । सावित्राको कतारस्थित दोहास्थित अस्पेटार अस्पतालमा बिहीबार सफल शल्यक्रिया भएको हो ।
उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) र मिनिस्कसको शल्यक्रिया भएको हो । सावित्राले झन्डै ४५ मिनेटमा शल्यक्रिया सफल भएको र अहिले केही दुःखाइ भने रहेको बताएकी छन् । चोट लागेको झन्डै पाँच महिना लामो समयपछि उनी शल्यक्रिया र रिह्याबिलिटेसनका लागि १२ असारमा कतार प्रस्थान गरेकी थिइन् ।
उनले त्यहाँ आफ्नो क्वारेन्टिन अवधि पूरा गरेपछि शल्यक्रियाका लागि मिति तय भएको थियो । सावित्राको चाहनाअनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार फुटबल संघको सहयोगमा उपचारको व्यवस्था मिलाएको थियो । लामो समयदेखि कतार फुटबल समयमा पटक पटक नेपाली खेलाडीको उपचारमा सहयोग गर्दै आएको छ । राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर अहिले पनि कतारमै उपचार गराइरहेका छन् ।
टोलीका अर्का खेलाडी विक्रम लामा केही साता अघि उपचार गरेर फर्केका थिए । सावित्राले गत वर्ष ३ फागुनमा राष्ट्रिय महिला लिग दौरान नेपाल पुलिस क्लबसँगको खेलको क्रममा दायाँ घुँडामा गम्भीर चोट बोकेकी थिइन् । खेलको ७९औं मिनेटमा साम्बाले मैदान छाडेकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो । विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो । चोट लाग्नुअघि लिगको १० खेलमा सावित्राले ४३ गोल गरेकी थिइन् ।
सावित्रा लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् । सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमा परिचित छिन् । उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छन् । दुवैपटक उनी खेलेको टोली आई लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महŒवपूर्ण भूमिका निर्वाह गरेकी उनी आई लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।
उपचारमा व्यस्त हुनुपर्ने भएपछि सावित्राले घरेलु मैदानमा १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज)मा आयोजना हुने भनिएको एएफसी महिला एसियन कप २०२२ को छनोट चरणको खेल गुमाउनेछन् । नेपाल समूह ‘एफ’मा रहेको छ । नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् ।






