धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१७ पथरीका केही महिला शिवगंगा नदीको किनारमा रहेको चौरमा गाईगोरु, बाख्रा चराइरहेका थिए । नदीमा तिघ्रासम्मको पानी थियो । केही मानिस नदीमा जोखिम मोलेर वारपार गरिरहेका थिए । गाईबाख्रा चराउँदै गरेकी पथरीगाउँकी ३५ वर्षीया सीता चौधरीले साथीसँग सोधिन्, यो नदी (शिवगंगा)मा पुल बन्ने भन्थे, खै कहिलेदेखि काम अघि बढ्ला ?
धनगढी उपमहानगरपालिका–१६ र १७ जोड्ने शिवगंगा नदीमा पुल निर्माणका लागि सम्झौता भएको अवधि समाप्त भइसकेको छ, तर अहिलेसम्म सो पुलको पिल्लर समेत बनेको छैन । धनगढी उपमहानगरपालिका–१६ ढाकाटोलका हरिबहादुर कटुवालको वडा नम्बर–७ देवहरियामा व्यापार व्यवसाय छ । उनले दैनिकजसो घरदेखि पसल र पसलदेखि घरसम्म सोही नदी पार गरेर आउजाउ गर्छन् । पसल जानका लागि नदी पार गरिरहेको अवस्थामा भेटिएका हरिबहादुरले भने, खुट्टामा घाउ भएपछि मलमपट्टी गरेको छु । नदीको बहाव पनि बढेको छ । पट्टीमा पानी पसे समस्या हुन्छ ।
उनले नदीमा पानीको बहाव अत्यधिक बढेका दिन घरदेखि धनगढी बजार आउने गरेको बताए । उनले भने, यहाँदेखि १५ मिनेटमै धनगढी बजार पुगिन्छ, तर वर्षातमा नदीको बहाव बढेकाले लामो यात्रा गरेर धनगढी पुग्नुपर्छ ।’ उनीजस्तै अरू पनि सो नदीबाट वारपार गरिरहेका थिए । बजारबाट घरका लागि साइकलमा सामान बोकेका नदीमा साइकल बोक्दै वारपार गरिरहेका थिए । धनगढी उपमहानगरपालिका वडा नम्बर–१७ पथरीकी ४० वर्षीय पार्वती चौधरीले भनिन्, ‘नजिकैको खुटिया नदीको पुल बनिसक्यो । तर, यो पुलको काम कहिलेदेखि सुरु हुने हो अत्तोपत्तो छैन ।’
धनगढी उपमहानगरपालिका–१७ का स्थानीय भागिराम र मानबहादुर चौधरीले यात्रु, साइकल तथा मोटरसाइकल पार गराउन बैलगाडा सेवा सञ्चालन गर्ने गरेका छन् । ‘असारदेखि वर्षा सुरु हुँदा नदीको बहाव बढ्छ, पुल छैन । त्यसैले मानिसको आवतजावतमा सहजता ल्याउन बैलगाडाबाट सेवा दिन्छौं’ भागिरामले भने, आफ्नै घरको सामान र पराल बोक्ने बैलगाडा अहिले मानिसलाई नदीमा वारपार गराएर आम्दानीको स्रोत बनेको छ ।’ उनले प्रतिमोटरसाइकल वारपार गराएको सय रुपैयाँ लिने गरेको बताए ।
दैनिक सय बढी मानिस यो नदीबाट पार गर्छन् । उनले दैनिक मोटरसाइकल वारपार गराउँदा एक हजार दुई सयदेखि चार हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनले शिवगंगा पार गर्दा रामपुर, घसिटा, बेहडाबाबा मन्दिर पुगिने गरेको बताए । अर्का बैलगाडा सञ्चालक मानबहादुरले भने, ‘भारी वर्षा भई नदीको बहाव बढेको दिन बैलगाडा चलाउन सकिँदैन । त्यसबेला हामी बन्द गर्छौं ।’ गराउने गरेको बताए । वडा नम्बर १६ स्थित वेहडाबाबा मन्दिरको दर्शनका लागि धनगढी तथा भारतका विभिन्न स्थानका दर्शनार्थीहरू आउने गरेका छन् । वेहडाबाबा धनगढीको मुख्य बजार हुँदै कनरीदेखि पनि जान सकिन्छ । तर, देवहरियादेखि छोटो यात्रा पर्ने भएकाले अधिकांशसले सोही बाटोमा यात्रा गर्न रुचाउँछन् । देवहरियादेखि वेहडाबाबा जान खुटिया र शिवगंगा नदी पार गर्नुपर्छ ।






