समर ओलम्पिक आजदेखि

टोकियो । विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करण ग्रीष्मकालीन ओलम्पिक शुक्रबारदेखि जापानमा सुरु हँुदै छ । उद्घाटन समारोह नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण एक वर्षपछि सारिएको थियो ।

यसपटक विश्व नै कोभिडसँग जुधिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, जापान सरकार, जापान ओलम्पिक कमिटीले बन्द रंगशालामै ओलम्पिक गर्ने निर्णय गरेको हो । टोकियो ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबार हुने भए पनि सामूहिक खेल फुटबललगायतका खेल २१ जुलाईदेखि नै सुरु भइसकेको छ ।

आयोजक जापानले उद्घाटन समारोहलाई सामान्य रूपमा नै अघि बढाउने निर्णय गरेको छ । यसपटकको टोकियो ओलम्पिक २०२० मा विश्वका २०४ भन्दा बढी राष्ट्रका ११ हजार २ सयभन्दा बढी एथलिटले सहभागिता जनाउँदै छन् । एथलिटले ३३ खेलमा ३ सय ३९ स्वर्णका लागि प्रतिस्पर्धा गर्दै छन् । उद्घाटनको मार्चपासमा नेपालको झन्डा पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाहले बोक्नेछन् ।

नेपालबाट चार खेलमा ५ खेलाडीले टोकियो ओलम्पिकमा सहभागिता जनाउँदै छन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्स शाह, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दै छन् । गौरिकाले महिला १०० मिटर फ्रि स्टाइलमा तथा एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । सोनियाले ४८ केजीमुनि खेल्नेछिन् । कल्पनाले १० मिटर एयर राइफल्समा तथा सरस्वतीले १०० मिटर दौडमा नेपालको चुनौती पेस गर्नेछिन् ।

युनिभर्सियालिटी प्लेसअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् । वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । नेपालले शनिबार दुुई खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेस गर्नेछन् । सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् ।

यस्तै सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । छनोट चरण पार गरे अन्तिम चरण साँझ नै हुनेछ । ओलम्पिकमा नेपाली टोलीको लक्ष्य पदक भन्दा पनि आफ्नो प्रदर्शन सुधार गर्नु नै हुनेछ । २७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । हिट चरण पार गर्न सकेमा २८ जुलाईमा अर्काे खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरणमा २९ जुनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । २८ जुलाईमा जलपरी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन् । हिट चरणपछि २९ र ३० जुलाईमा यस इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । ३० जुलाईमा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । यो टोकियो आलेम्पिकका नेपालका लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । सुरुवाटमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिए पनि अन्तिम समयमा सरस्वती चौधरीले १ सय मिटर दौडमा खेल्ने अवसर पाएकी हुन् । हिट चरण पार गरे जुलाई ३१ मा यस इभेन्टको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ । गौरिका सिंह दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिकको अवसर बटुल्नेछन् ।

गौरिका रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । यसपटक नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २४ जनाको टोली जापान पुग्नेछन् । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तथा नेपाल ह्यान्डबलका अध्यक्ष तेज गुरुङ र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव उपाध्यक्षले अन्तिम समयमा जापान गएनन् । सेभ दि मिसनको रूपमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल रहेका छन् ।

सोनियालाई रसियन प्रतिद्वन्द्वी
टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्टले पहिलो चरणमा रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन् । सोनियाले जुलाई २४ मा प्रतिस्पर्धा गर्नेछिन् ।

बिहीबार भएको खेल तालिका सार्वजनिक समारोहमा ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो । डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रूपमा सहभागी छैन । अर्थात् ओलम्पिकमा रुसको राष्ट्रिय झन्डा र राष्ट्रिय गान बजाइने छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झन्डामुनि प्रतिस्पर्धा गर्नेछन् । सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् ।

यस प्रतियोगितामा भने उनी आठौं वरीयताकी खेलाडी हुन् । इरिनाले यसै मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन् । नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७औं स्थानमा छिन् । उनी वाइल्डकार्डमार्फत ओलम्पिकमा छनोट भएकी हुन् । सोनिया र प्रशिक्षक सूर्यनारायण श्रेष्ठ केही दिनअघि नै टोकियो पुगिसकेका छन् । सोनियाले नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । उनले जुनियर विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छन् ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ