सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्

काठमाडौं । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन विधेयक तीन वर्षदेखि अड्किएकोप्रति समेत ध्यानाकर्षण गराए ।

४ साउन २०७५ मा प्रतिनिधिसभामा पेस नागरिकता ऐन संशोधन विधेयक अझैसम्म पारित हुन सकेको छैन । विधेयक पारित नहुँदा जन्मका आधारमा नागरिकता लिएकाका सन्तान नागरिकताबाट बञ्चित छन् । नेपाली नागरिक आमाको सन्तानले आमाकै नामबाट नागरिकता पाउनसमेत सकेका छैनन् ।

संसद्मा प्रस्तुत नागरिकता विधेयक रोकिनुको कारणसहित सांसदले जानकारी गराउन माग गरेका छन् । उनीहरूले नागरिकताबाट बञ्चित नहुन भन्दै तत्काल संसद्मा छलफल गरी पारित गराउन जोड दिएका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफावार छलफल सकेर प्रतिवेदन पेस गरिसकेको छ ।

तर, सो विधेयकको प्रतिवेदनमाथि दलहरूले असहमति राखेका कारण अघि बढ्न सकेको छैन । समितिले विधेयक पारित गर्नुपर्नेमा कुनै चासो नदेखाएको र कार्यसूचीमा प्रवेश नपाएकोप्रति सांसदले आक्रोशसमेत पोखे । ‘नेपाली भएर पनि नागरिकताबाट बञ्चित हुँदा युवापुस्तामा राज्यप्रति वितृष्णा जाग्ने परिस्थिति आएको’ भन्दै उनीहरूले ‘सदनबाट विधेयक पारित गरी नागरिकता पाउने अधिकार दिनुपर्ने’ सुझाए ।

विशेष समयमा जनता समाजवादी पार्टी (जसपा) सांसद प्रमोद शाहले नागरिकता विधेयक पारित नहुँदा धेरै नेपाली अनागरिक भएर बस्नुपरेको बताए । ‘जन्मको आधारमा नागरिकता पाएकाको सन्तान कहिले यो देशको नागरिक हुने ? परिवारको एउटा सदस्यले नागरिकता पायो तर अर्कोले पाएको छैन, यस्ता नेपालीलाई कहिलेसम्म गैरनागरिक बनाएर राख्ने ? गैरनागरिक बनाएर राख्ने ? राष्ट्रवादी कसरी हुन्छ ? बरु विदेशी महिलाले नेपालमा विवाह नै गर्न नपाउने प्रावधान राख्न चुनौती दिन्छु ।’

प्रमुख प्रतिपक्षी एमाले सांसद लालबाबु पण्डितले नागरिकता विधेयक जतिसक्दो छिटो पास गर्नुपर्नेमा जोड दिए । संसद्मा अड्किएको धेरै भएको बताउँदै उनले विधेयक सहज रूपमा छिटो पास हुनुपर्ने उल्लेख गरे ।

नेकपा माओवादी केन्द्र सांसद इन्दु शर्माले नागरिकता विधेयक संसद्बाट पास नहुँदा धेरै अनागरिक भएर बस्नुपरेको भन्दै जतिसक्दो छिटो विधेयक पास गरिनुपर्ने बताइन् । ‘यो सदनमा पेश भएको नागरिकता ऐन संशोधन विधेयकको प्रतिवेदन छिटोभन्दा छिटो सर्वसम्मतिले पास गरियोस्,’ उनले नागरिकताबाट कुनै पनि नागरिकलाई बञ्चित बनाउन नहुँने धारणा राख्नेक्रममा भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन सम्बन्धी टिकटक बनाएर ५० लाख दर्शक पुर्‍याउनेलाई ५० हजार पुरस्कार !