स्तनपानमा आधुनिकताले ल्याएको समस्या

नेपाल मल्टिइन्डिकेटर क्लस्टर सर्वे २०१९ अनुसार नेपालमा शिशु जन्मेको १ घण्टाभित्र स्तनपानको सुरुवात गर्नेको संख्या ४२ प्रतिशत छ । पूर्णस्तनपान गराउनेको संख्या ६२ प्रतिशत र २ वर्षसम्म स्तनपान गराउनेको संख्या ८७.६ प्रतिशत छ । यस आवमा स्तनपान प्रवद्र्धन गर्न मातृ तथा शिशुमैत्री अस्पतालका रूपमा विकास गर्ने तथा हरेक स्थानीय तहमा स्तनपान कक्ष स्थापना अभियान विस्तारमा छ । प्रसूति तथा स्त्रीरोग अस्पताल गृहमा प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न ह्युम मिल्क बैँक स्थापना गरिँदै छ । जसका लागि १ करोडको मेसिन किनिँदै छ । सन् २०२१ मा हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदै छ ।

आमाहरूमा स्तनपानसम्बन्धी पर्याप्त जानकारी नभएकाले पहाडी र तराई क्षेत्रका कतिपय जिल्लामा बिगौती दूध दुहेर फाल्ने गरिन्छ । स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउँछ, शरीरको तौल घट्छ, स्तनको आकार बिग्रन्छ भन्ने गलत मानसिकतामा रहेका महिला कतिले कमजोर भइन्छ । कतिले दूध पुग्दैन भन्दै दूध खुवाउँदैनन् । शिशुलाई ममताको पहिलो उपहार स्तनपान गराउँदा शिशुका लागि मात्र नभई स्वयं आमाका लागि पनि उत्तिकै महत्वपूर्ण छ भन्ने तथ्यलाई महŒव नदिएका कारण स्तनपान गराउने नारीहरूको संख्या घट्दै छ । स्तनपान नगराउने समस्या सहर बजारमा बढ्दो छ भने गाउँघरका आमा उचित खानपानको अभाव, कामको चाप तथा अज्ञानताले यथेष्ठ स्तनपान गराउन सक्दैनन् ।

आमाको दूध शिशुको अधिकार तथा प्रकृति प्रदत्त उपहारका साथै जीवनदायी अमृत पनि हो

स्तनपान गराउँदा आमालाई आत्मीयता, भावनात्मक, सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्छ

स्तनपान गराउँदा : सौन्दर्य वृद्धि हुने गर्छ । स्तनपानले पारिवारिक बचतसमेत बढाउँछ । गर्भावस्थामा सञ्चित बोसोसमेत घटाउँछ । स्तनपान गराउँदा प्रोजेस्ट्रोन हर्मोनको वृद्धिले ६ महिनासम्म गर्भनिरोधकका रूपमा काम गरेको पाइन्छ । गर्भधारण ढिलो हुन गई गर्भान्तरमा पनि मद्दत पुग्छ । स्तनपान ५० प्रतिशतले कम गर्दा १७ देखि ३७ प्रतिशत प्रजनन् दरमा वृद्धि हुन्छ । डब्बा तथा अन्य दूध खुवाउँदा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार कम हुन्छ । स्तनपान गराउँदा आमालाई आत्मीयता, भावनात्मक सुखानुभूति, गौरव, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्छ । बच्चाले आफूलाई सुरक्षित ठान्छ । बच्चाले दूध चुस्दा अक्सिटोसिन हर्मोन उत्पन्न भई दूध पगार्ने भएकाले बच्चा गर्भमा रहेको बेला खुलेको आमाको पाठेघरलाई खुम्चन मद्दत पु-याउँछ । पाठेघरमा लाग्ने रोग न्यूनीकरण गर्छ । प्रसवपछि हुने रक्तश्राव रोक्छ । त्यसैगरी, आमालाई पछि गएर हुने डिम्बाशय, स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना आठ गुणाले कम हुन्छ । स्तनपान गराउँदा आमाले पूर्णता पाउँछ ।

आमाको तथा बिगौती दूध : एउटा स्वस्थ आमाको स्तनबाट बच्चाको दैनिक आवश्यकता पूरा गर्न प्रतिदिन ९ देखि १२ सय मिलिलिटर दूध निस्कन्छ । जसमा ८८.२० प्रतिशत पानी, १.२५ प्रतिशत प्रोटिन, ल्याकटोज ७.२ प्रतिशत, ३.१ प्रतिशत चिल्लो पदार्थ, ०.२८ प्रतिशत क्याल्सियम र भिटामिन सी ०.३ प्रतिशत तथा भिटामिन ए, बी कम्पेलक्स, सी, डी र ई तथा लाइपेज इन्जाइम र शक्तिवद्र्धक थुप्रै तत्व प्रशस्त पाइन्छन् । आमाको सुरुको दूध ७ देखि १० दिनभित्रको अलि बाक्लो, पहेंलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोस्ट्रमसहित हुन्छ, जसलाई बिगौती दूध भनिन्छ । जसमा हानिकारक संक्रामक जीवाणु र कीटाणुलाई नष्ट पार्ने, संक्रामक रोगसँग लड्न सक्ने तत्व भएको, कार्बोहाइडे«ड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्वले भरिपूर्ण भएकाले बिगौती दूधलाई पहिलो खोप पनि भनिन्छ ।
आमामा जन्मेदेखि गर्भधारण गर्दासम्म उत्पन्न भएका रोगविरुद्ध विकसित एन्टिबडी भएको दूध, बच्चा जन्मनेबित्तिकै वा ढिलोमा जन्मेको आधादेखि एक घण्टाभित्रै खुवाउनुपर्छ तर पीप मिसिएको दूध भनी फ्याँक्ने र सट्टामा ५० प्रतिशत महिलाले गर्ने विशेषगरी तराईमा मह चटाउने, घिउ, जन्मघुंटी, ग्लुकोज र घोटीचौथी खुवाउनेजस्ता कार्य उचित होइनन् । महिलाले स्तनपान गराउने गरेको आँकडा भए पनि समयावधि, प्रक्रिया पूरा गर्ने ज्यादै न्यून छन् र ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने झनै कम छन् ।

आमाको दूधको फाइदा : बच्चाको शारीरिक आवश्यकतानुसार मस्तिष्क विकास गर्न जरुरत पर्ने सबै एमिनो एसिड पाइन्छन् । समय सीमा र मात्रा नभएको खाद्यवस्तु पनि यही आमाको दूध नै हो । आमाको दूध स्वच्छ, सुपाच्य, हानिकारक कीटाणुको प्रवेश हुन नपाउने, प्राकृतिक तत्वनिहित भएकाले घाँटीको संक्रमण, स्कर्भी, रिकेट, पोलियो, इन्फलुएन्जा र दमजस्ता रोगबाट बचाउँछ । शिशुको बढ्दो उमेरको आवश्यकताअनुसार दूधको संरचनामा पनि परवर्तन हुने गर्छ । आठ महिना बढीसम्म स्तनपान गराइएका आठ/नौ वर्षका शिशुहरू बढी तिक्ष्ण भएको प्रमाण छ । आमाको दूधमा रहने इम्युनोग्लोबिन ‘ए’ले रोगसँग लड्न एन्टिबडीको काम गरी पाचन प्रणालीमा लाग्ने संक्रमण रोक्छ ।
आमाको दूध प्रचुर मात्रामा ६ महिनासम्म खुवाउँदा पानीको समेत आवश्यकता पर्दैन । आमाको दूध बच्चाका लागि तयारी खाना पनि हो जसलाई शिशुले चाहेमा जुनसुकै बेला र जुनसुकै स्थानमा सजिलैसँग खुवाउन सकिन्छ । त्यसैमा अझ बच्चालाई समयअनुसार आवश्यक पर्ने तत्वहरू, उचित मात्रामा रहन्छ, पातलिने सम्भावना रहँदैन । सुपाच्य हुन्छ र दिगो रहन्छ साथै बाहिरी सूक्ष्म जीवले आक्रमण गरी दूषित बनाई रोग लाग्ने सम्भावना पनि रहँदैन । तसर्थ बट्टाको दूध खानेमा भन्दा निमोनिया, दम, झाडापखालाले समात्ने र मृत्यु हुने सम्भावना २५ गुणा कम र भिटामिन ए, फलाम र पोषणको कमी भई, कुपोषण हुने सम्भावना न्यून रहन्छ । शारीरिक अवस्था कमजोर हुने, समयमै घस्रिने र हिँडडुल गर्न नसकिने, दूध पचाउन नसकिने, बान्ता हुने, आँखा कमजोर हुने पछि रतन्धो हुने, बौद्धिक क्षमता कम हुने र कमजोर शारीरिक अवस्थाका कारणले व्यक्तित्व विकास गर्न सक्दैन ।

आमाको दूध पुगेको छ कि छैन कसरी थाहा पाउने ?

१. शिशुको तौल बढे नबढेको हेरेर : शिशु जन्मेको १५ दिनसम्म उही तौल रहन्छ र त्यसपछि प्रत्येक महिना शिशुको तौल कमसेकम ५ सय ग्राम बढेको हुनुपर्छ । यदि यसो नभए प्रशस्त मात्रामा आमाको दूध खान नपाएको ठहर्छ । पहिलो पाँच महिनामा दैनिक २० ग्राम त्यसपछि १५ ग्रामका दरले शिशु बढ्दै जानुपर्छ ।

२. शिशुले २४ घण्टामा कतिपटक पिसाब फेर्छ : प्रशस्त दूध खान पाएको शिशुले २४ घण्टामा कम से कम ६ देखि आठपटक सफा पिसाब फेर्छ ।

आवश्यकताभन्दा ज्यादा स्तनपान गराउँदा शिशुको पाचन प्रणालीमा नकारात्मक असर परी फाटेको दूध जस्तो बान्ता हुन्छ, नपचेको गिलो दिशा हुन्छ । यसो भएमा ३–४ घण्टाको फरकमा स्तनपान गराउनुपर्छ ।

अन्तमा, बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै खुवाए पुग्ने र त्यसपछिको शारीरिक र मानसिक विकासका लागि दूधको साथै अन्य ठोस खानेकुरा दुई वर्षसम्म खुवाउनुपर्छ । त्यसैले उचित समयअनुसार उचित मात्रामा स्तनपान गराउँदा र शिशुको खाद्यपदार्थमा ध्यान दिँदा कुपोषण हुन सक्दैन । आमाको दूध शिशुको अधिकार तथा प्रकृति प्रदत्त उपहार एकातिर हो भने अर्कोतिर जीवनदायी अमृत समान हुन्छ । सुरक्षित स्तनपान सिकाउन युवावस्था र गर्भवती महिलाको परीक्षणदेखि नै सुरु गर्नु तथा पुरुषलाई पनि महत्व, सुरक्षित तरिका, निर्मलीकरण’bout सिकाउनुपर्ने आजको आवश्यकता हो ।

 

तपाइको प्रतिक्रिया
(Visited 289 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ