काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ ।
यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले जारी राखेको अनुसन्धान अन्तिम चरणमा छ ।
अनुसन्धानबाट अहिलेसम्म प्राप्त सूचनाअनुसार प्रधान कार्यालयबाट साइबर ब्युरोमा सरुवा भएका कुमार शाह र यूएन शाखामा कार्यरत कार्यालय सहयोगी सुरेश बमको सो प्रकरणमा मुख्य संलग्नता देखिएको छ । उनीहरू दुवै जना आन्तरिक नियन्त्रणमा छन् । शाहको भाइबरमा नै प्रश्नपत्र भेटिएको थियो भने यूएन शाखाबाटै प्रश्नपत्र बाहिरिएको पुष्टिसमेत भइसकेको छ ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामाको नेतृत्वमा गठित छानबिन समितिले शनिबारसम्म तीन दर्जन प्रहरीलाई अनुसन्धानमा तानेको छ । सो प्रकरणमा जोडिएको आशंकामा ३० जनासँग भने प्रत्यक्ष सोधपुछ गरिएको छ ।
छानबिन समितिका संयोजक डीआईजी लामाले अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै वास्तविकता खुल्ने बताए ।
‘अनुसन्धान अन्तिम चरणमा छ, एउटा फ्रेम आइसक्यो, छिट्टै सत्यतथ्य ल्याउँछौं,’ डीआईजी लामाले राजधानीसँग भने ।
गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि प्रि–स्याट परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए ।
तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गरेको थियो । त्यसमध्ये १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए नभएको खुलेको छैन ।
‘प्रश्नपत्र आउट भएको पुष्टि भइसक्यो । तीन दर्जन बढी प्रहरी कर्मचारीलाई अनुसन्धानमा ल्याएका छौं, ३० जनासँग सोधपुछ भइसकेको छ,’ छानबिनमा संलग्न एक प्रहरी अधिकारीले अनुसन्धान’bout जानकारी दिँदै भने ।
प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाएको जनाएको थियो ।
छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रूपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको हो । डीएसपी पाठक र खड्का परीक्षार्थी हुन् । खड्का भने केही समयअघिसम्म यूएन शाखामा नै कार्यरत थिए ।
प्रधान कार्यालय स्रोतका अनुसार डीएसपी पाठकले परीक्षाको प्रश्नपत्र हातमा आइलागेपछि प्रश्नपत्र बाहिरिएको सूचना’bout उच्च तहमा जानकारी गराएका थिए । प्रश्नपत्र लिक भएको विषयमा यूएन शाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ । शाखामा रहने हरेक वस्तु उनकै मातहत रहने गर्छ ।
अनुसन्धानको दायरामा लिइएका दुई जना प्रहरीलाई भने नक्सालस्थित सशस्त्र प्रहरी गण नम्बर–१ मा आन्तरिक थुनामा राखिएको छ ।






