काठमाडौं । कोरोना संक्रमण काठमाडौंमा फेरि बढ्न थालेपछि यहाँका विभिन्न टेलिभिजन च्यानलबाट आएका रियालिटी सोहरूको छायांकन अन्योल अवस्थामा छ । तर, यस्तो अवस्थामा पनि साहसिक रियालिटी सो ‘हिमालय रोडिज’को छायांकनसँगै प्रसारण हुने भएको छ । रोडिजको चौथो संस्करण अब सुरु हुने भएको छ । सामाजिक दूरी कायम गर्दै कोरोनाबाट आफूहरूलाई सुरिक्षत राखेर यो कार्यक्रमको छायांकन गरिने आयोजक पक्षले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटका क्रममा जनाएको हो ।
यो रियालिटी सोको औपचारिक घोषणा शुक्रबार गरिएको छ । आयोजक प्रायोजकसँग सम्झौतापत्रमा हस्ताक्षरसँगै सिजन ४ को प्रोमो पनि सार्वजनिक गरिएको हो । चौथो शृंखलाको नारा ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । यो शृंखलामा प्रतियोगीले आफूलाई विभिन्न संकटबीच पनि सुरक्षित र जीवित राख्न संघर्ष गर्नेछन् ।
यसअघि नै यो प्रतियोगिताको घोषणा गरिने भए पनि कोरोना महामारीको दोस्रो लहरका कारण निर्धारित मितिभन्दा केही ढिला सुरु गर्न लागिएको आयोजक पक्षले जनाएको छ । हिमालय रोडिजलाई यसपटकबाट सिमोश सुनुवारले निर्देशन गर्ने भएका छन् । यस अघिका शृंखलासम्म अमनप्रताप अधिकारीले निर्देशन गरेका थिए ।
‘हिमालय रोडिजलाई रोडिज फ्रेन्चाइजको रोडम्यापअनुसार सीधा परिवर्तन ल्याउन नमिले पनि दर्शकलाई आफ्नो मिहिनेतमा केही फरक स्वाद दिलाउनेछु,’ पत्रकार भेटघाटका क्रममा निर्देशक सुनुवारले भने, ‘यो नयाँ शृंखला अहिलेका युवापुस्ताको संघर्षमा केन्द्रित रहनेछ ।’
रोडिजमा ग्याङ लिडरको रूपमा अभिनेता अनुपविक्रम शाही, दिया मास्के, आशिष राना ‘लाहुरे’, पहिलो संस्करण विजेता समन रहेका छन् भने रेमनदास श्रेष्ठले होस्ट गर्नेछन् । भायकम १८ को लाइसेन्स मातहत यो कार्यक्रम उत्पादन तथा प्रसारण हुँदै आएको छ ।
चौथो शृंखलाको डिजिटल अडिसन पनि शुक्रबाबाटै सुरु भएको छ । कोरोना कहरपछि सुरक्षा मापदण्डको कारण भौतिक उपस्थितिमा अडिसन सञ्चालन गर्ने वातावरण नभएकाले पहिलोपटक रोडिजमा डिजिटल अडिसनको सुरुवात गरेको हो ।






