काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीबाट तेस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् । पोखरा भ्रमणका लागि घोषणा गरिएको ३८ सदस्यीय टोलीबाट प्रशिक्षक अलमुताइरीले सोमबार १० खेलाडीलाई बाहिर राखेका हुन् ।
नेपालको सर्वाधिक गोलकर्ता बन्ने सूचीको दौडमा रहेका अनुभवी फरवार्ड भरत खवास, मिडफिल्डर विक्रम लामासँगै १० खेलाडीले तेस्रो चरणमा स्थान बनाउन सकेनन् । भरतले १० अन्तर्राष्ट्रिय गोल गरेका छन् । नेपालबाट सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन रायमाझीको नामम समान १३ गोल रहेको छ । जर्जप्रिन्स कार्की, रेजिन धिमाल, विशाल सुनार, रन्दिप पौडेल, राजीव लोप्चन, सन्जोक राई र सेसेहाङ आंदेम्बे छनोटबाट बाहिरिएका हुन् । विक्रम लामा प्रारम्भिक सूचीमा नरहे पनि कतारमा गरिएको शल्यक्रियापछि टिमसँगै अभ्यासका लागि पोखरा गएका थिए ।
काठमाडौंमा झन्डै एक महिनाको प्रशिक्षण र त्यसपछि १० दिनको विश्रामपछि नेपाली राष्ट्रिय टोलीले गत बुधबारदेखि पोखरामा प्रशिक्षण थालेको थियो । पोखरामा प्रशिक्षणको एक साता नबित्दै प्रशिक्षक अलमुताइरीले खेलाडी कटौती गरेको हो । पहिलो चरणबाट बाहिरिएका केही खेलाडीलाई समेट्दै पोखरा क्याम्पमा ३८ खेलाडी सहभागिता रहेका थिए । पहिलो चरणबाट बाहिरिएका मध्येबाट शिशिरले तेस्रो चरणमा स्थान बनाउन सफल भए । एरिक विष्ट र प्रकाश बुढाथोकी भने पोखरा क्याम्पमा उपस्थित थिएनन् ।
नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा छ । त्यसअघि नेपालले घरेलु मैदानमा भारतसँग १७ र २० भदौमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । तर, भारतले पक्का गरिसकेको छैन । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुने तालिका छ ।
नेपाली टोली
किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज ज्यू ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशीष लामा, अभिषेक रिजाल र शिशिर लेखी






