आज गाईजात्रा

ललितपुर । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरमा सोमबार गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।

मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिंड्नेलाई निकालेर नगर घुमाउँदा मृतआत्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भत्रे विश्वास छ । तर, यसपालि पनि कोरोना भाइरसका कारण सबै प्रभावित हुने देखिएको छ । यद्यपि गत वर्षभन्दा यसपालि बढी चहलपहल हुने देखिएको छ । अघिल्लो दिन निकालिने लाखे नाचमा पनि मानिसको चहलपहल बढी देखिएको पाइएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन र विभिन्न स्थानीय तहले गाईजात्रा र त्यसपछि आउने विभिन्न जात्राका क्रममा सावधानी अपनाउन आग्रह गरेका छन् । लकडाउन खुले लगत्तै फेरि कोरोना संक्रमित बढ्दै जाँदा काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न स्थानीय तहले आन्तरिक रूपमा सकेसम्म घरमै जात्रा मनाउन आग्रह गरेका छन् ।

घरबाहिर आएर भिडभाड गर्दै जात्रा मनाउनाले संक्रमणको खतरा हुने संकेत गर्दै उनीहरूले सकेसम्म जात्रा पर्व मनाउँदै गर्दा भिडभाड नगर्न सुझाव दिएका छन् ।

मान्छे मरेको घरबाट भने थोरै संख्यामा मान्छे निस्केर गाईजात्रा मनाउन हुने उनीहरूको भनाइ छ । गाईजात्रामा व्यांग्यात्मक प्रर्दशन नाटक प्रर्दशन तथा लाखे नाच पनि देखाइने भए पनि यसपालि अत्यावश्यकबाहेक अरू प्रर्दशन नगरिने तयारी भएको छ ।

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश गर्न पाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।

जात्राका दिन केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुकुन्डो, पेरुंगाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ । नगर परिक्रमा गर्दा उनीहरूले रामायणको करुण रसका गीत र अन्य भजन भजन पनि गाउने गर्छन् । दिवंगतका परिवारजनले उनीहरूको सम्झनामा क्बाँटी, स्याउ, नास्पाती, काक्रो आदि बाँढ्ने गर्छन् ।

आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारजनलाई हसाउने र मरेका आफन्तको शोक हटाउने चाडका रूपमा पनि यसलाई लिने गरिन्छ । अपराह्नपछि ठाउँठाउँबाट लाखे नाच पनि देखाइन्छ ।

आफ्नो घरमा मात्र होइन नगरका अन्य व्यक्तिमा पनि परिवारजन मरेका छन् भन्ने देखाएर चित्त बुझाउने बाटो यो पर्वले दिएको धेरै संस्कृतिविद्ले बताएका छन् । काठमाडांैका तत्कालीन मल्ल राजा प्रताप मल्लले आफ्नो पुत्र वियोगमा शोकमा डुबेकी रानीको मन बहलाउन गाईजात्राको चलन ल्याएको इतिहास छ ।

ललितपुरको पाटनसँगै अन्य सहरमा तथा काठमाडौंको वसन्तपुरसहित अन्य स्थानमा गाईजात्रा मनाइन्छ । यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङघिसी र माँक प्याखँ (बाँदर नाच) नाच देखाइने चलन भए पनि कोरोना माहामारीले यो प्रभावित हुनेछ । गाईजात्रा पर्व धुलिखेल, बनेपा, दोलखा, त्रिशूली, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, लमजुङ पोखरालगायतका नेवार बस्ती रहेका स्थानमा मनाइने गरिन्छ ।

गाईजात्रालाई लक्ष्य गरी हास्यव्यंग्य कलाकारले मुलुकको राजनीति तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक प्रस्तुति युट्युबलगायत अन्य सामाजिक सञ्जालमा हालिरहेका छन् । नाटकले देशको पछिल्लो अवस्थाप्रति तीखो व्यंग्य प्रहार गरेको छ ।

जनैपूर्णिमा मनाइयो
नयाँ जनै फेर्दै र डोरो नाडीमा बाँध्दै आइतबार जनैपूर्णिमा मनाइएको छ । आइतबार नयाँ जनै लगाउने तागाधारीले बिहानै उठी नुहाई धुवाई गरी वैदिक मन्त्र उच्चारण र सप्त ऋषिलाई तर्पण गरी जलशेचन गराइएको जनैलाई धारण गरेका छन् । उनीहरूले पुरानो जनै फुकाली चोखो गरी नयाँ जनै फेरेका छन् ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर डोरो बाध्ने र जनै फेर्ने काम गरिएको छ । डोरालाई शरीरको सुरक्षा कवचका रूपमा पनि लिने गरिन्छ । रक्षाबन्धन धागो महिलाको बायाँ नाडीमा र पुरुषको दायाँ नाडीमा बाँध्ने चलन छ । यो दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी बिसर्जन गर्ने परम्परा छ ।

यसरी डोरो गाईको पुच्छरमा बाँधे, मरेपछि त्यही डोरो समातेर बैतरणी नाघिने कथन छ । रक्षाबन्धनका रूपले पनि परिचित यस पर्वमा दाजुभाइलाई दिदीबहिनीले राखी पनि बाँधेका छन् । यसो गरेमा दाजुभाइको रक्षा हुने जनविश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 629 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित