काठमाडौं । ५ करोडभन्दा महँगो बजेटमा निर्माण गर्न लागिएको चलचित्र ‘एक्स–९’ मा अभिनेता अनमोल केसी अनुबन्धित भइसकेका छन् । यो चलचित्रका लागि हालै मात्र सौगात मल्ल अनुबन्धित भएका थिए भने यतिबेला अर्का अभिनेता पुष्प खड्का पनि अनुबन्धित भएका छन् । यो फिल्ममा अरू पनि केही अभिनेता अनुबन्धित भएका छन् ।
नेपालको सबैभन्दा ठूलो एक्सन–थ्रिलर चलचित्र भनेर एक्स–९ लाई दाबी गरिएको छ । तीन महिनापछि युरोपबाट छायांकन सुरु गरिने यो चलचित्रको अब अभिनय कार्यशालामा आफूहरू जुट्ने निर्माण पक्षको दाबी छ । अभिनेता पुष्पका अनुसार उनलाई यो फिल्मको लागि वर्ष नै माखिक रूपमा भनिएको थियो । तर यतिबेला भने आफूहरूबीच काजगी सम्झौता भएको यी अभिनेताले बताएका छन् । यो फिल्ममा आफू एक्सन प्रधान भूमिकामा हुने पनि यी अभिनेताको कथन छ ।
यो फिल्ममा अरू अभिनेता अनुपविक्रम शाही, राज कटुवाल पनि रहेका छन् । फिल्ममा बलिउडका एक अभिनेता राख्ने निर्माण पक्षको दाबी छ । जसका लागि सोनु सुदसँग कुराकानी भइरहेको निर्देशक मुकुन्द भट्टले बताएका छन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछन् । राजीव तामाङ, वीरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्मलाई नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।
यो फिल्मको युरोपका विभिन्न मुलुकसहित क्यानडा र नेपालमा छायांकन गरिने पनि फिल्मका निर्देशक तथा कथाकार भट्टले बताएका छन् । उनका अनुसार सिरिजको रूपमा निर्माण हुनेछ ।






