मिथिला शर्माको अध्यक्षतामा चेतन कार्की प्रतिष्ठान गठन

काठमाडौं । दिवंगत अग्रज गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीका नाममा चेतन कार्की प्रतिष्ठान स्थापना भएको छ । यस प्रतिष्ठानको कार्यालय चेतन कार्कीको ललितपुरस्थित घरमा रहनेसमेत निर्णय गरेको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गंगा कार्की रहनेगरी तदर्थ समिति गठन गरिएको हो ।

चेतन कार्कीले नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, गीतसंगीत क्षेत्रमा पु¥याएको योगदान जीवित राख्न उनको नाममा प्रतिष्ठान स्थापना गरिएको संरक्षक गंगा कार्कीले बताइन् ।

यो प्रतिष्ठानले चेतन कार्कीद्वारा स्थापना गरिएको हीरासिंहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तक र सम्मानपत्रको संरक्षण गर्ने र अप्रकाशित कृति र रचना प्रकाशन गर्नेजस्ता उद्देश्य रहेको पनि उनले बताइन् ।
अभिनेत्री मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा चलचित्र लेखक एवं निर्देशक मोहन निरौला, महासचिवमा कवि मुरारी सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्रद्वय पारस कार्की र पंकज कार्की छन् ।

प्रतिष्ठानको तदर्थ समिति सदस्यमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, नायक रवीन्द्र खड्का र कवि दिव्य गिरी छन् । चेतन कार्कीले नेपाली संस्कृति, कला र साहित्यमा योगदानको उच्च कदर प्रतिष्ठानले गर्ने जनाएको छ ।

विक्रम संवत् १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिएका चेतन कार्कीको नेपाली साहित्य तथा चलचित्र क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धवीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादुनमा बितेको थियो । चेतन कार्कीले निर्देशन गरेको पहिलो चलचित्र विश्वास हो भने भुमरी दोस्रो तथा पहिलो प्रेम अन्तिम चलचित्र रहेको छ । विक्रम संवत् २०१७ सालदेखि नै नेपाली रंगमञ्चमा प्रवेश गरेका चेतन कार्की चलचित्रमा भने २०२५ सालदेखि आबद्ध भएका हुन् ।

यसैगरी, परिवर्तन, आत्मा बेचेको छैन, हनिमुन, ढलेको गिलासजस्ता उपन्यास उनका प्रकाशित छन् । कार्कीका कल्पना टुट चुकी है (हिन्दी÷उर्दू) कवितासहित जुन निदाउन थाल्यो (कविता र गीति संग्रह), माया प्रितीको चोखो कथा (गीत संग्रह), हत्केलाले सधैंभरी सूर्य छेकिँदैन (मुक्तक संग्रह), हो देश मेरो पनि (गजल संग्रह), बसी बियाँलो (कथा संग्रह), दिल जिगरके टुक्रे (उर्दू मूक्तक) आदि पनि रचना गरेका छन् ।

चेतन कार्कीको पहिलोनाटक आत्मा बेचेको छैन । उनको पहिलो उपन्यास पनि आत्मा बेचेको छैन नै हो । यसैगरी, पहिलो गीत नातिकाजीको संगीतमा तारा देवी र भुवन थापा चन्दको स्वरमा रहेको दाइलाई बोलाऊ भने लेक स्वर पुग्दैन…हो ।

चेतनले रचना गरेका दर्जनौं गीतहरू अत्यधिक लोकप्रिय छन् । तीमध्ये तीजको रहर आयो बरी लै … सर्वाधिक लोकप्रिय गीत रहेको छ । चेतनले माया प्रीति, कान्छी, कन्यादानसहित थुप्रै फिल्मका लागि गीत रचना गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 742 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवामा १२ जनाको हेलिकप्टरबाट उद्धार