लन्डन । गत सिजनको अन्त्यपछि खेलाडीहरू युरोपेली च्याम्पियनसिप र कोपा अमेरिकासँगै मैत्रीपूर्ण खेलमा होमिएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहँदा ट्रान्सफर विन्डोमा सायदै कसैले यसपालि धेरै ठूलो हलचल होला भन्ने सोचेका थिएनन् । कोरोना संक्रमणका कारण आएको आर्थिक मन्दीले क्लबहरू निष्क्रिय हुने अनुमान धेरैको थियो । तर चर्चित खेलाडीको स्थानान्तरण हेर्ने हो भने यो सम्भवतः इतिहासकै सबैभन्दा चलायमान ट्रान्सफर विन्डो रह्यो ।
आधुनिक फुटबलका दुई सबैभन्दा ठूला स्टार लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले क्लब परिवर्तन गरे । एकातर्फ मेस्सीले झन्डै २ दशकपछि बार्सिलोना छाड्नु आश्चर्यजनक निर्णय रह्यो । रोनाल्डोले युनाइटेड फर्कंदा फुटबल वृत्तमा राम्रै चर्चा बटुल्यो । चेल्सीले बेल्जियन फरवार्ड रोमेलु लुकाकुलाई फिर्ता बोलायो ।
ट्रान्सफर विन्डोको अन्तिम समयमा बार्सिलोनाले एन्टोइन ग्रिजमनलाई एट्लेटिको मड्रिडमा फिर्ता पठाउनुले पनि क्लबको ट्रान्सफर मैदान भित्रभन्दा बाहिरको कारणले बढी दबाबमा रहेको प्रस्ट भयो । बार्सिलोनाले युवा मिडफिल्डर इलाइस मोरिबा र ब्राजिलियन डिफेन्डर एमर्सन रोयललाई पनि बाध्य भएर अन्तिम दिन बेच्नुप-यो । क्लबका कप्तानत्रय जेरार्ड पिके, सर्जियो बुस्केट्स र जोर्डी अल्बाले तलब कटाएर खेलाडी दर्ता गर्न सहयोग गरे ।
जति चर्चा ट्रान्सफर हुनेको रह्यो, केही शीर्ष ट्रान्सफर अन्तिम दिनसम्म प्रयासका बाबजुद असफल रहे । रियल मड्रिडले केलियन एम्बाप्पेका लागि निकै प्रयास गरे पनि अनुबन्ध गर्न सकेन । अन्तिम दिन विश्व कीर्तिमानी २ सय २२ मिलियन युरोको प्रस्ताव पनि पीएसजीले बेवास्ता ग¥यो । त्यस्तै टोटेनहमले ह्यारी केनका लागि म्यानचेस्टर सिटीको प्रयास बारम्बार अस्वीकार ग-यो ।
समर ट्रान्सफरको शीर्ष मुभ
लियोनेल मेस्सी (बार्सिलोना – पीएसजी)
क्रिस्टियानो रोनाल्डो (युभेन्टस – म्यानचेस्टर युनाइटेड)
एन्टोइन ग्रिजमन (बार्सिलोना – एट्लेटिको)
एडुआर्डो कामाभिंगा (रेन्नेस – रियल मड्रिड)
एमर्सन रोयल (बार्सिलोना – टोटेनहम)
सउल निग्वेज (एट्लेटिको – चेल्सी)
ड्यानियल जेम्स (म्यानचेस्टर युनाइटेड – लिड्स)
इलाइस मोरिबा (बार्सिलोना – आरबी लाइप्जिग)
मार्सल साबिट्जर (आरबी लाइप्जिग – बायर्न म्युनिख)
म्याथिअस कुन्हा (बर्लिन – एट्लेटिको)
मार्टिन ओडेगार्ड (रियल मड्रिड – आर्सनल
राफायल भरान (रियल मड्रिड – म्यानचेस्टर युनाइटेड)
रोमेलु लुकाकु (इन्टर मिलान – चेल्सी
ज्याक ग्रिलिस (एस्टन भिल्ला – म्यानचेस्टर सिटी)
जाडोन सान्चो (बोरुसिया डर्टमुन्ड – म्यानचेस्टर युनाइटेड)
जियानलुइजी डोनारुम्मा (एसी मिलान – पीएसजी)
सर्जियो रामोस (रियल मड्रिड – पीएसजी)
अचरफ हाकिमी (इन्टर मिलान – पीएसजी)
डायोट उपामेकानो (आरबी लाइप्जिग – बायर्न म्युनिख)
जर्जिन्हो वाइनाल्डम (लिभरपुल – पीएसजी)
एरिक गार्सिया (म्यानचेस्टर सिटी – बार्सिलोना)
सर्जियो अगुएरो (म्यानचेस्टर सिटी – बार्सिलोना)
मेम्फिस डिपाए (लियोन – बार्सिलोना)
डेविड अलावा (बायर्न म्युनिख – रियल मड्रिड)






