किरणको कीर्तिमानमा नेपालको हार

काठमाडौं ।कप्तान तथा गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीबाट सार्वाधिक ‘क्याप’ (खेल) खेल्ने कीर्तिमान बनाएको खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । नेपाली टोलीको पुरानै रोग फिनिसिङमा चुक्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । नेपालले पहिलो हाफमै गोलको सुन्दर चार मौका गुमाएको थियो ।

पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै आएको बलमा मनीष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाए पनि नियन्त्रणमा लिने क्रममा चिप्लिन पुग्दा डिफेन्डरले क्लियर गरिदिँदा नेपाल अग्रता लिनबाट चुकेको थियो । २२औं मिनेटमा पुजन उपकोटीको प्रहार अकासियो ।

लगत्तै २३औं मिनेटमा तेज तामाङले गोलरक्षक अमरिन्दर सिंह अघि बढेको मौकामा मैदानको मध्य भागबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता बढाउन सकेन । २५औं मिनेटमा क्रसबाट आएको बललाई अनिरुद्ध थापाले नभेट्दै गोलरक्षक तथा कप्तान किरण चेम्जोङले क्लियर गर्दै नेपालको संकट टारे । २८औं मिनेटमा आयुष घलानको क्रसलाई पेनाल्टी बक्समा आशीष लामाले हेडर प्रयास नभेट्दा नेपाल अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा मनवीर सिंहको क्रसमा विपिन सिंह थोउनाओजमको हेडरलाई अनन्त तामाङ हेडरमार्फ क्लियर गरिदिए ।

दोस्रो हाफको सुरुमै विशाल राईको फ्रिकिकलाई गोलरक्षक अमरिन्दर सिंहले सहजै नियन्त्रणमा लिए । ५३औं मिनेटमा चिङलेनसाना सिंह कोन्सामको क्रस पासलाई किरणले डाइभ दिँदै बचाउँदै नेपालको खतरा टारे । सब्सिच्युट फारुक हाजी कासम चौधरीले ६२औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । उनी दोस्रो हाफको सुरुमै मदान प्रवेश गरेका थिए । ६६औं मिनेटमा तेज तामाङको प्रहार फ्रेमबाहिर परे पनि अञ्जन विष्टले भेट्दै गरेको प्रहारलाई भारतीय गोलरक्षकले बचाउँदा नेपाल बराबरीबाट चुक्यो ।

६८औं मिनेटमा विशाल राई र नवयुग श्रेष्ठको समन्वयमा बनेको मुभमा नवयुग चुक्दा नेपालले खेललाई बराबरी गर्न सकेन । उनले पेनाल्टी बक्समा सुवर्ण अवसर चुकाएका थिए । ७४औं मिनेटमा मनीष डाँगीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ८०औं मिनेटमा कप्तान सुनिल क्षत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा सुनिल क्षत्रीले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै गोलरक्षक किरण सहजै बिट गर्दै गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा तेज तामाङले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

उनले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली टोली साफ च्याम्पियनसिपको लागि शुक्रबार कतार प्रस्थान गर्दै छ । त्यसपछि नेपाल सिधै साफका लागि माल्दिभ्स पुग्नेछ । नेपालले डिफेन्डिङ च्याम्पियन रहेको आयोजक माल्दिभ्ससँग खेल्दै साफको सुरुवात गर्नेछ ।

विशाल र राजनको ‘डेब्यु’
विगत एक दशकदेखि राष्ट्रिय टोलीमा रहेका गोलरक्षक विशाल श्रेष्ठ र सेन्टर ब्याक राजन गुरुङले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको ८६औं मिनेटमा विशालले कप्तान तथा गोलरक्षक किरण चेम्जोङको तथा राजनले मनीष डाँगीको स्थान लिँदै सिनियर टोलीमा डेब्यु गरेका हुन् ।

‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका गोलरक्षक समेत रहेका विशाल राष्ट्रिय टोलीमा दशकभन्दा लामो समय टोलीमा रहे पनि डेब्युको अवसर पाएका थिएनन् । सन् २०११ मा विश्वकप छनोटका दौरान विशाल पहिलोपटक टोलीमा परेका थिए । त्यसयता किरण पहिलो रोजाइमा रहँदा विकेश कुथु र विशाल श्रेष्ठ वैकल्पिक गोलरक्षकका रूपमा रहेका थिए । यसबीचमा दुईपटक चोटका कारण टोलीबाहिर रहेका उनी राष्ट्रिय टोलीमा भने रहँदै आएका छन् ।

उनले मनाङ मस्र्याङ्दीबाट पनि लिग उपाधि जितेका छन् । उनी घरेलु फुटबलमा पटकपटक उत्कृष्ट गोलरक्षक बनेका छन् । विशाल पछिल्लोपटक थ्री नेसन्स कपसँगै इराक र कुवेत भ्रमणको टोलीमा परेका थिएनन् । उनले यसपटक टोलीमा पुनरागमन गरेका हुन् । यस्तै एन्फा एकेडेमीका उत्पादन २१ वर्षीय सेन्टर ब्याकले घरेलु फुटबलमा विभागीय नेपाल एपीएफ क्लबबाट खेल्ने गर्छन् । उनले गत जेठमा सम्पन्न एनएसएलमा च्याम्पियन काठमाडौं रेजर्सबाट खेलेका थिए ।

कप्तान किरणको ७४ क्याप
गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् । भारतविरुद्धको आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रँदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पु¥याएका हुन् । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ खेलको कीर्तिमानसँग बराबरी गरेका थिए ।

किरणले राष्ट्रिय टोलीमा १३ वर्षको यात्रामा भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेल्दै विराजको कीर्तिमानलाई तोडेका हुन् । विराजले यो कीर्तिमान गत चैतमा स्वदेशमा आयोजना भएको थ्री नेसन्स कपमा बनाएका थिए । उनी बंगलादेशविरुद्धको फाइनल खेलको नियमित समयको खेल सकिन १ मिनेट बाँकी रहँदा त्रिदेव गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले थ्री नेसन्स कपपछि राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए ।

किरणले सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध पहिलो रोजाइमै डेब्यु गर्दा २४औं मिनेटमा घाइते हुन पुगेपछि उनको स्थानमा रितेश थापाले खेलेका थिए । त्यसको ९ महिनापछि नै फुटबलमा पुनरागमन गरे पनि उनी राष्ट्रिय टोलीबाट खेल्न झन्डै तीन वर्ष कुर्नुपरेको थियो । त्यसयता उनी राष्ट्रिय टोलीको पहिलो रोजाइका गोलरक्षक हुन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने