डडेल्धुरा । नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा अनावश्यक हस्तक्षेप गरेपछि सातौं जिल्ला अधिवेशन अन्यौलमा परेको छ ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेल्धुरामा अघिसारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदलाई जिताउने अभिप्रायले वडा, पालिका, प्रदेश सभाक्षेत्र र जिल्ला कार्यसमिति गरेर चार तहबाट विधिवत रुपमा पारित गरेर पठाएका क्रियाशील सदस्यहरुमा थपघट गरेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको नेपाली काँग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले बताए । उनले जिल्ला नेतृत्वका लागि उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै पठाइएकाले अन्यौलता उत्पन्न भएको जिकिर गरे ।
सातवटै स्थानीय तहका ५२ वडामा सभापति पदका आकंक्षी साँउदको पक्षमा प्रतिनिधी आउनेगरि क्रियाशील सदस्यतामा थपघट गरिएको छ । प्रक्रियागत ढंगले पठाइएका क्रियाशील सदस्यहरुको नविकरण गरिएको छैन भने नयाँ सदस्यताका लागि पठाइएको नामावलीसमेत फेरवदल गरिएको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।
नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टका अनुसार जिल्ला कार्यसमितिले प्रक्रिया पुगाएर दुई हजार पाँच सय छ जना नयाँ क्रियाशील सदस्य तथा नविकरणका लागि पुराना सदस्यको नाम समावेश गरेर कुल पाँच हजार आठ सय चार जनाको नामावली सिफारिस गरेको थियो । जसमध्ये चार सय ६० जनाको नाम छानविन समितिले हटाएर पठाएको छ भने कुनै पनि प्रक्रिया नपुगाइएका तीन सय १२ जनाको नाम केन्द्रबाटै थपेर पठाइएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको वडा गन्यापधुरा गाउँपालिका–१ मा १६ जना क्रियाशील सदस्यको नाम हटाएर देउवापुत्र जयबिरसिँह देउवासहित १० जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक गरिएको छ । अन्य स्थानमा हटाइका क्रियाशील सदस्यहरुमा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लकी आमा पार्वतीदेवी मल्ल, जिल्ला कार्यसमिति सदस्य कमला विष्ट, अमरगढी नगरपालिका–९ का सभापति नरबहादुर पाल र कार्यालय सचिव राम विष्ट लगायतका छन् ।
बिभिन्न पार्टीबाट नेपाली काँग्रेस प्रवेश गरेका ब्यक्तिहरुको समायोजनका लागि गठित जिल्लास्तरीय कार्यदलका सदस्य रामबहादुर ऐरको नाम पनि क्रियाशील सदस्यबाट हटाइएको छ । ऐरले सिफारिस गरेका सबै क्रियाशील सदस्यको नामावली छैन । तीन हजार एक सय ४४ नयाँ र दुई हजार पाँच सय ९८ पुराना गरेर गरेर केन्द्रबाट पाँच हजार सात सय ४२ जनाको नाम क्रियाशील नामावलीमा सार्वजनिक भएको छ ।
डडेल्धुरामा पार्टी सभापति देउवाकै दुई उपगुट क्रियाशील छन् । १४औँ महाधिवेशनमा जिल्ला सभापतिका लागि सभापति देउवाको ग्रीन सिंग्नलसहित पार्टीका पूर्व सभापति रघुवर भट्टले नेतृत्व गरिरहेको एउटा गुटको तर्फबाट परशुराम नगरपालिकाका मेयर साउँदलाई अघि सारिएको छ भने जिल्ला सभापति मल्ल समुहका तर्फबाट करुणाकर भट्ट र हरिप्रसाद भट्टले जिल्ला सभापतिका आकंक्षी छन ।
क्रियाशील सदस्यतामा उत्पन्न विवादका सन्दर्भमा नेपाली काँग्रेस डडेल्धुराले मंगलबार जिल्ला कार्यसमितिको बैठक आयोजना गरिएको र बैठकको निर्णयानुसार अघि बढने जिल्ला सभापति मल्लले जानकारी दिए । उनले क्रियाशील सदस्यता वितरणमा भएको अन्यायका कारण तीब्र असन्तुष्टि रहेकाले सातौं जिल्ला अधिवेशन सुनिश्चित हुन नसकेको बताए ।