संखुवासभा । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या गरेको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको प्रारम्भिक जाँचबुझमा टाउकोमा देखिएको गम्भीर चोटका कारण ६ जनाको मृत्यु भएको देखिएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनीहरूलाई पछाडिबाट लौरो वा मुंग्रोजस्तो कुराले आक्रमण गरिएको र सोको चोटले मृत्यु भएको अनुमान गरिएको छ । यद्यपि, आक्रमणमा प्रयोग गरिएको आशंकित वस्तु फेला पर्न सकेको छैन ।
प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाटै एक जना फरेन्सिकसम्बन्धी तालिम प्राप्त चिकित्सकलाई पनि घटनास्थलमा लगेको थियो ।
प्रहरीले रातको बेला नभई बिहानपख घटना भएको हुन सक्ने बताएको छ । शव भेटिएका खेतमा बुट पनि भेटिएकाले यो आशंका गरिएको हो । सोमबार बिहान मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन् ।
घटनास्थलमा अहिले प्रहरी नायब उपरीरक्षक भीम दाहालको कमान्डमा रहेको अनुसन्धान टोलीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरिरहेको छ । प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली पनि घटनास्थलमै छ । हालसम्म घटनामा संलग्न दोषी पत्ता लाग्न नसकेको प्रनाउ सुवेदीले जानकारी दिए ।






