राजनीतिक व्यवहार: गोली नचल्ने युद्ध

राजनीतिक दलहरू नीति निर्माण र राज्य सञ्चालनका प्रमुख संवाहक हुन् । यिनै राजनीतिक दलहरूबाट सरकार निर्माण हुने हो । हाम्रो देशमा एउटै दलको भारी लोकप्रियता नभएकाले मिलीजुली सरकार बनिरहेका छन् र यो क्रम आगामी दिनहरूमा पनि हुँदै जाने देखिन्छ । देशमा आवश्यक नीति, नियम एवं कानुन निर्माणगरी मुलुक सञ्चालन गर्नेजस्तो जिम्मेवार दायित्व बोकेका दलहरूको आपसी मेलमिलाप भने स्वार्थका आधारमा गाँसिने र छुट्टिने गरेको छ ।

यिनीहरूको आचरण, व्यवहार एवं कार्यशैली अदूरदर्शी छ । दलहरूको कार्यशैलीको सर्वत्र आलोचना भइरहेको छ । टीकाटिप्पणी हुने गरेको छ । राजनीतिक दलहरूमा सहमति एवं सहकार्यको लोकतान्त्रिक अभ्यास अत्यन्त कमजोर भएकाले मुलुकले दुःख पाइरहेको छ ।

लोकतन्त्रमा जनताबाट निर्वाचित भएर बहुमत प्राप्त दलले सरकार चलाउने प्रणाली विश्वव्यापी मान्यता हो । हाम्रो देशमा पनि यो अभ्यास हुँदै आएको छ । अलि ठूला दलहरूमा दर्जनौंको संख्यामा उमेर, अनुभव र अभ्यासले खारिएका नेताहरू छन् । कोही डेमोक्र्याटस छन् भने कोही कम्युनिस्ट छन् ।

त्यसो त नेपालका कम्युनिस्ट पनि डेमोक्रेटिक अभ्यासमा लागेको देखिन्छ । तर, दुःखका साथ भन्नु पर्छ कि नेपालका नेताहरूबाट वा राज्य सञ्चालकबाट आमनागरिकले असल कुरा देख्न, सुन्न र अनुभव गर्न पाएका छैनन् । यिनीहरू स्वार्थ, वेभिचार, अनैतिक आचरणले आलोचित छन् । आपसमा, कटाक्ष, रिस, द्वेष, गालीगलौजमा अभ्यस्त छन् । सत्तालिप्सामा अन्धभक्त छन् ।

पछिल्लो समयमा एमालेको विग्रह पछाडि अमर्यादित गाली गलौज र स्वार्थसत्ताको संस्कृति पराकाष्ठामा पुगेको छ । नेताहरूमा एकले अर्कालाई स्वीकार गर्नै नसक्ने, देख्नै नसक्ने नकारात्मक चिन्तन हुर्किएको छ । राज्य सञ्चालन गर्ने अभिभावकरूपी दलका नेतागण यत्ति अराजक, उत्ताउलो एवं निम्छरो भएपछि जनताले के सिक्ने ? राज्यका संयन्त्रहरूले के सिक्ने ? अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रभाव कस्तो पर्ला ? राजनीतिक दलका शीर्ष वा प्रभावकारी भनिनेहरूका व्यवहार र शब्द प्रहार बन्दुकको गोलीभन्दा बढी प्राण घातक लाग्छ । यस्तो कार्यशैली सभ्य, शालिन र सद्भावमैत्री समाजमा सुहाउने कुरा होइन ।

पछिल्लो समयमा एमालेको विग्रह पछाडि अमर्यादित गालीगलौज र स्वार्थसत्ताको संस्कृति पराकाष्ठामा पुगेको छ

‘भाइ फुटे गवार लुटे’ भन्ने उखान नेपालका दलमा चरितार्थ भएको छ । पछिल्लो समयमा एमाले दलभित्रको राईंदलो र यो दलमा आबद्ध व्यक्ति एवं व्यक्तित्वको गाली गलौज अत्यन्तै निम्नस्तरको छ । दलका माथिल्ला पदमा आसीन नेताहरूमै खाऊँ मै लाऊँ, सुखसयल वा मोज म गरूँको शैली हावी छ । आपूm नै ठूलो, जान्ने, बुभ्mने र कार्यकर्ताले पुज्ने व्यक्तिको रूपमा यिनीहरू भ्रमित भएजस्तो लाग्छ । यिनीहरूको स्वभाव अल्पकालीन स्वार्थमा केन्द्रित छ । कतिपय नेताहरू बकुलाले माछा ढुकेजस्तै आफूलाई कता फाइदा हुन्छ, उतै ढल्कने गरेको पाइन्छ ।

जता काफल पाक्छ उतै चरी नाच्छ भनेझैं जता पद, पैसा र कमिसनको तर मार्न पाइन्छ उतैतिर टाउको हल्लाउनेको निर्लज्जता छरप्रस्ट भएको छ । १० वर्ष जनयुद्धमा नरसंहार गरेर आएकाले आफ्नो दल छाडेर एक÷दुई महिने मन्त्रीपद पड्काएकोदेखि लिएर केपी ओलीको खेदो खन्नेहरू अहिले फेरि उतै जोडिएको प्रवृत्तिसम्म नेपाली राजनीतिका चमेरे चरित्र हुन् ।

हरेक दलभित्र नेपाली राजनीति मियो बिनाको दाईंजस्तो भएको छ । सिद्धान्त, निष्ठा, अनुशासन र लोकलाज नभएपछि यस्तो हुनु स्वाभाविकै हो । प्रजातन्त्रको पुनस्र्थापना २०४६ साल पछाडि राजनीतिमा उही अनुहार, उही असफल नेतृत्व, उस्तै कार्यशैली राजनीतिक अभ्यास जनतालाई पट्यार लाग्दो भइसकेको छ । यिनै लामो समयसम्म असफल अभ्यास गर्दै आएका वृद्ध नेताहरूको हातमा देश छ । न त यिनीसँग भिजन छ । न त मिसन नै । प्रजातन्त्रले दिएको वाक् स्वतन्त्रताको दुरुपयोग गर्दागर्दा यिनीहरूलाई एकआपसमा शीत युद्ध र भर्बल प्रहारको प्रतिस्पर्धाले मानवता बिर्साएको छ । सदाचार ओइलाएको छ । मन फाटेपछि सिलाउन नमिल्ने सामान्य कुराहरू पनि नेताहरूले बिर्सिएका छन् ।

३१ वर्षीय प्रजातन्त्रको कालखण्ड आमनागरिकका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मातझैं भएको छ । समाजमा गरिबी उस्तै छ । बेरोजगारी बढेको छ । उत्पादन घटेको छ । विदेशी ऋण बढेको बढ्यै छ । उद्योगधन्दाहरू खोेलिएका छैनन् । शिक्षा क्षेत्र तहस नहस छ । स्वास्थ्य सेवा प्रभावकारी छैन । भ्रष्टाचार झन् बढेको छ । राज्य सञ्चालन गर्ने खर्च देशले धान्नै नसक्ने अवस्थामा छ । सुशासन शून्य छ । युवाहरू स्वदेशमा छैनन् ।

महँगीले आकास छोएको छ । गाउँघरका खेतबारी बाँझिएका छन् । आत्महत्या गर्नेहरूको संख्यामा हरेक वर्ष वृद्घि भइरहेको तथ्यांक छ । कालोबजारी, दलाली र बिचौलियाबाट सर्वसाधारण ठगिएको ठगियै छन् । सामाजिक न्यायमा सुधार भएको छैन । प्रशासनतन्त्र उस्तै छ । सामाजिक सद्भाव खल्बलिएको छ । अनि सुधार भयो कहाँ त ? विकास भयो कुन क्षेत्रमा ? जनताबाट चर्को कर असुलेर बिनाइन्जिनियरिङ पहाडमा डोजर चलाएर बाटो बनाउने काम गर्दैमा विकास भएको ठानिन्छ र ?

लोकतान्त्रिक राज्यको भनाइ र गराइमा तालमेल हुनुपर्छ । जनताले विकास चाहेको छ । लोकतन्त्रको प्रत्याभूति आमनागरिकको चुलो चौकोमा हुनुपर्छ । लोकतन्त्र आवरणमा होइन व्यवहारमा देखिनुपर्छ । नागरिकहरूको जीवन भोगाइमा रूपान्तरित हुनुपर्छ । लोकतन्त्र नेताको भाषणमा होइन, जनताको जीवन भोगाइमा अनुभूति हुनुपर्छ । लोकतन्त्रको गुणगान गाएर नथाक्ने नेताहरूले काम पनि लोकतान्त्रिक गर्नुपर्छ । यसो हुन सकेको छैन ।

दलका नेताले गोली नचल्ने तर बोली चल्ने राजनीतिक युद्घमा मात्र सीमित नभई सहयोग, सहमति र सहकार्यको संस्कृति अवलम्बन गरून्

राजनीतिक स्थायीत्वका लागि पार्टीहरू एकता गरे । धेरै राजनीतिक दल भएकाले चुनावमा थे्रसहोल्डको व्यवस्था गरे । तर जब सरकारमा गए तब लुछाचुँडी, गालीगलौजमा उत्रिए । समूहगत भेलाहरू गर्ने, आप्mनो दुनो सोभ्mयाउने काममा यिनीहरू अभ्यस्त भए । बहुमतको संसद् विघटन गर्ने, सरकार गिराउने र बनाउनेमा जालझेलका सोचहरू उपयोग गरे । कुकुरको पुच्छर बाह्र वर्षसम्म ढुंग्रामा राख्दा पनि बांगाको बांगै भनेझंै यिनीहरूको आचरण उस्तै छ । २०७२ सालदेखि यताका मात्र राजनीतिक क्रियाकलाप हेर्दा पनि यिनीहरू सुध्रने संकेत देखिँदैन । राजनीतिक दलहरूमा पात्र उनै छन् । प्रवृत्ति उस्तै छ । यिनीहरूले सित्तैको धन फुपूको श्राद्घ भनेझैं देशको ढुकुटीमा हालीमुहाली गरी नै रहेका छन् ।

लामो समयको उतार चढाव पछाडि राजनीतिक गोलचक्रको अन्त्यपश्चात् २०७२ पछाडि स्थायी राजनीतिक चरणमा प्रवेश गरेको बुझाइ थियो । अब राजनीतिक स्थायित्व र जनताको लामो समयसम्मको विकासको चाहना पूरा हुन्छ कि भन्ने जनअपेक्षा थियो । जनताले बहुमतको सरकार बनाउन नेपाल कम्युनिस्ट पार्टीलाई म्यान्डेड पनि दिए । सरकारले इमानदार भएर मुलुकमा उपलब्ध स्रोत र साधन उपयोग गर्दै विकास निर्माणमा लाग्नुको सट्टा भ्रष्टाचार, अनियमित, आन्तरिक किचलो, गालीगलौज, बदलाको भावनामा राजनीतिक अभ्यास हुन पुग्यो । सत्ताधारी दलभित्र खान पाउने र नपाउनेको बीचको द्वन्द्व, झगडा, समूह विभाजन, मुद्दा, मामिलालगायतका निम्नस्तरका काम भए । आपसी मेलमिलाप भताभुंग भयो ।

अन्त्यमा कस्तो विडम्बना ! विकासको बाढी ल्याउने वाचाका साथ दुई तिहाइको समर्थनमा बनेको कम्युनिस्ट सरकार नागरिकका लागि हात्ती आयो हात्ती आयो फुस्सा भनेझैं भयो । राजनीतिक लडार्इंको उपजका रूपमा गठबन्धन सरकारको नेतृत्व लिएका शेरबहादुर देउवाले अध्यादेशबाट दल फुटाउने सक्ने सहज बाटो बनाइदिए । यसले नेपाली राजनीतिमा पार्ने दूरगामी प्रभावसँग उनलाई सरोकार भएन ।

यस्ता अदूरदर्शी नेताहरूले देश विकास कसरी गर्लान् ? सुशासन कसरी देलान् ? देउवा सरकार पनि भूपि शेरचनको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को पात्रका रूपमा नलड्खडाओस् । देश फेरि घुम्दै फिर्दै रुम्जटार भनेझैं अस्थिर, अराजक, दण्डहीनता र भ्रष्टचारको दलदलमा अझै नभासियोस् । विकास निर्माणका काम ठप्प नहोऊन् । दलहरू गोली नचल्ने तर, बोली चल्ने राजनीतिक युद्घमा मात्र सीमित नहोऊन् । राजनीतिक सहयोग, सहमति र सहकार्यको संस्कृति अवलम्बन गरून् ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 576 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने