तीज हो, नाँच्नु पर्छ मस्तले टोल थर्काएर

 

मेरी सानी छोरी १३ वर्षकी भइन् । उसले भनी ‘म त यसपाली तीजको दिन सारी लगाएर नाँच्ने हो, मलाई सारी चाहिन्छ ।’ मेरो छोरीको साइजको सारी पाइदैन भन्ने मलाई थाहा थियो । छोरीले नभइ भएन भनेपछि श्रीमती बजार डुलेर आई र भनी ‘तिमीलाई हुने सारी पाइएन, अब गुन्यु लाएरै नाँच !’

छोरीलाई चित्त बुझेन दराज खोली र आमाका सबै सारी निकाली । भएको मध्ये एउटामा आँखा लाग्यो । अनि भनी– ‘मलाई यो सारी लाइदिनु पर्छ ।’ श्रीमतीले एकघन्टा लगाएर सारी लगाइदिइ धेरै ठाउँमा मिलेन । फेरि छोरीले नै उपाय पत्ता लगाई । ‘मेरै साइजको पेटकोट भयो भने मिल्छ ।’

भोलिपल्ट श्रीमतीले पेटीकोटको कपडा किनेर ल्याई । आफ्नै साइजको पेटीकोटसँग आमाको सारी झोलामा हालेर टाउकोमा चश्मा अड्याउदै छोरी मामाघर गएकी छिन् । थाहा छैन उसको मिलाएर सारी लाएर नाँच्ने धोको पूरा हुन्छ कि हुन्न ।

ठ्याक्कै छोरीकै उमेरको मेरो पालाको तीजको पनि कुरा गरौं । तीजमा हिँड्न सक्ने जति आमाकै पछि लागेर मामाघर जाने चलन थियो । मामा घरबाट आमालाई लिन आउँथे । टाढा नजिक जे भए पनि दाई, भाइ, भदा, भदैनी मध्ये कोही लिन जान्थे । म मामाघरमै बसेर पढेकाले कहिले काँही मामाको नातीहरुसँग म आमालाई लिन जान्थे । घर र मामाघरको दुरी तीन घन्टाको थियो ।

हामी सानो छँदा आमाले तीजमा सारी लाएर माइत गएको थाहा पाइँन । प्रायः धोती लाएर जानु हुन्थ्यो । भरर्खर बिहे गरेकाहरुले सारी लाए पनि प्रायः धोती लाउनेकै बाहुल्यता हुन्थ्यो । अहिले जस्तो तीजका लागि सारी किन्ने चलन थिएन ।

तीजमा महिलाहरु प्रायः भोको बस्ने भएकाले बस्तु भाउलाई घाँस पातको जोहो पुरुषको भागमा पथ्यो । हल गोरु, लैना बकेर्ना भैंसी प्रायको घरमा हुन्थ्यो । तीजका लागि भनेर घाँस पालेर राख्ने चलन थियो । अरु बेलामा बिहान मात्रै घाँस काटे हुन्थ्यो भने दरखाने दिन स्कुलबाट आएपछि पनि एकभारि घाँस काट्नु पथ्र्यो ।

काठमाडौमा एक दिनमा  पुरुषहरुले कति मदिरा पान गर्दा हुन् त्यसको विषयमा कहिल्यै कसैले किन टिप्पणी गर्दैन । तर,माेबाइलमा दुर्गेश थापाकाे गीत सुन्दै महिलाले तीज भड्किलाे बनाए भनेकाे कुरा पटक्कै चित्त बुझ्दैन ।

अरु बेलाको तुलनामा तीजमा बढी घाँस काट्नु पथ्र्यो । तर, नमज्जा पटक्कै लाग्थेन । मेरी सानी छोरी अहिले जति रमाउँछे । त्यो उमेरमा म पनि त्यत्तिकै रमाउथेँ । मूल बाटोमा माइत जानेहरुको दोहोरीलत्त हिँडाइले गाउँमा एकखालको रौनक थपिन्थ्यो । त्यही नै उत्सव थियो ।

खर्च हुँदै हुदैन थियो भने पनि हुन्छ । घरमै जम्मा गरेको घ्यु, दही, आफ्नै बारीमा फलेको केरा र चिचिण्डा, घिरौंलाको तरकारी । तारेको आलु । राति उठेर खाने परिकारलाई दर भन्थ्यिो । भोलि पल्ट महिलाहरु निराहार ब्रत बस्ने भएकाले राति दर पकाएर खाने चलन थियो । बेलुका घ्यु हालेको भात र तरकारी हुन्थ्यो भने राति प्रायः खिर र तारेको आलु । खासमा महिलाहरुले मात्रै खाए हुने हो । घरमा भएका पुरुष पनि राति उठेर झर्को नमानी दर खान्थे । हामीलाई औधि रमाइँलो लाग्थ्यो राति उठेर दर खान ।

तीजको दिन स्कुल विदा हुन्थ्यो । हामी बेलैमा गाई फुकाउथ्यौं । दिउँसो एक बजेतिर गाई बाँधेर उकालो लाग्थ्यौ मैदी कोटमा । राजा पृथ्वीनारायण शाहको ब्रतबन्ध गरेको मैदी कोटमा महिलाहरुको टोली टोली जम्मा भएर गीत गाउँने नाँच्ने गर्थे । हाम्रो लागि त्यो मनोरञ्जनको असीमित माध्यम थियो । अहिलेको ‘सुपरहिट’ फिल्म हेरे जस्तै । हामी ठाउँ सरिसरि सबै समूहको गीत सुन्थ्यौ नाँच हेथ्र्यौ ।

प्रायः गीतमा सासु र नन्दको कहर बढी हुन्थ्यो । कतिपय समूहले कुनै घटनामाथि गीत बनाउँथे । बिहे नगरेकी कुनै युवती आमा भएको, पहिरो जाँदा सपरिवारको मृत्यु भएको, घर आगलागी हुँदा चौपायासहित मान्छेको मृत्यु भएको जस्ता घटनामा १५÷२० मिनेटको गीत बनाउँथे ।

हाम्रै गाउँमा एउटी दिदी पर्नेले बिहे नगरी पेट बोकेकी थिइन् । महिलाहरुले यस्तो गीत बनाएका थिए ।

सुन्तालाको बिरुवा बालखैमा लुंगियो
विकासे मलले बढेर होई…

यस्तै यस्तै गीत गाउँथे मिठो भाकामा ।

हिन्दु नारीहरुले श्रद्धाले मनाउने हरितालिका तीज पछिल्लो समय महँगो चाडको रुपमा परिचित हुँदैछ । महँगा सारी, पार्टी प्यालेसमा दर आदि इत्यादि ।

सामाजिक सञ्जालमा तीज, महिला र दरको विषयमा व्यापक टिप्पणी हुन्छ । तर, मलाई चित्त बुझ्दैन । पार्टी प्यालेसमा दर खाएर होहाल्ला गर्ने महिलाहरुप्रति मेरो सतप्रतिशत समर्थन छ । तीज हो महिलाले मस्तले साडी लगाएर नाँच्नु पर्छ टोलै थर्काउने गरी । मेरा आफ्नै मान्यता छ । मेरो मान्यतामा सहमत हुनैपर्छ भन्ने जरुरी छैन ।

महिलाहरुले तीज भड्किलो बनाए भन्नेहरुलाई मेरो एउटा जिज्ञासा । काठमाडौंका मुख्य सडकमा पाँचवटा सटरपछि छैटौं सटरमा एउटा रेष्टुरेन्ट भेटिन्छ । कुनै पनि रेष्टुरेन्टमा बेलुका नौ बजे पुग्दा ९५ प्रतिशत ग्राहक पुरुष हुन्छन् । काठमाडौमा एक दिनमा कति पुरुषहरुले कति मदिरा पान गर्दा हुन् त्यसको विषयमा कहिल्यै कसैले किन टिप्पणी गर्दैन । भट्टीका त कुरा छोडौं । भट्टीमा त महिलाको उपस्थिति शून्य हुन्छ । तर, हाम्रो समाजले दैनिक भट्टी धाउनेहरुको ’boutमा कहिल्यै प्रश्न गर्दैन । प्रश्न गर्नका लागि हरेक वर्ष तीज आउनै पर्छ ।

मैले १० कक्षा पढ्दा स्कुलमा २२ रुपैंया फि बुझाउथेँ । १० कक्षामा पढ्ने मेरो छोरीका लागि मध्यमस्तरको स्कुलमा महिले महिनाको १२ हजार फि बुझाउनु पर्छ । अनुपातमा हेर्ने हो भने तीज भन्दा महंगा जिनिस कति छन् कति, तर देख्ने आँखा छैनन् । अझ उदेक लाग्दो कुरा त मोबाइलमा दुर्गेश थापाको गीत सुन्दै फेसबुकमा तीज भड्किलो भो भनेर टिप्पणी गर्छन् ।

गाउँको कुरा छाडौं काठमाडौंमा पनि एक लिटर दुधका लागि हातमा सिसी बोकेर डेरीमा लाइन बस्नु पथ्र्यो कुनै बेला, अहिले होम डेलिभरी हुन्छ । प्रविधिको विकास भएपछि चाड, पर्वलगायतका रिति रिवाज र संस्कारमा पनि परिवर्तन हुन्छ । डेरा वा घरबाट हिँडेरै जाँदा १५ मिनेटमा अफिस पुग्ने पुरुषले मोटरसाइकल हुँईक्याएकोमा प्रश्न नगर्नेहरु महिलाले ३ वर्षमा एउटा सारीका किन्दा (हरेक महिलाले वर्षैपिच्छे सारी किन्दैनन्) यति धेरै प्रश्न गर्छन् । व्यवस्था परिवर्तनमा मात्रै समाज परिवर्तन हुँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 475 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा