पर्वको आगमन र कोरोना संक्रमणको जोखिम

बर्खाको समय पनि गइसक्यो, मनसुनले छाड्दै गर्दा उघारीमास पनि सुरु हुन थालेको छ । यसबेलामा मेला र पर्वको आगमन एकपछि अर्कोगरी हुँदै जान्छ । नेपाली महिलाको सर्वमान्य पर्व तीज निकै धुमधामका साथ मनाएर सकियो । पशुपति मन्दिर कोरोना संक्रमणको भयका कारण खुला गरिएन । तर, भक्तजनहरूको भीडभाडमा भने यसले कुनै असर पारेन । मन्दिरको बाहिरी परिसरमा भक्तजनहरूले निकै भक्तिभावका साथ शिव र पार्वतीको पूजाआराधना गरे । सुरक्षाकर्मीलाई सुरक्षा दिन त्यो भिडभाडमा निकै हम्मेहम्मे परेको देखिन्थ्यो । मुखमा मास्क लगाए पनि भिडभाडलाई हेर्दा कोरोना संक्रमण यस्तो बेलामा व्यापक हुन सक्दैन भन्ने अवस्था थिएन । मात्र मन्दिर प्रवेशमा अनुमति भएन तर भक्तजनको आवतजावत पशुपतिलगायतका मन्दिरमा कमी भने भएन । तीजपछि चौथी पर्वको नेवार समुदायमा ठूलो दसैंसरह महिमा छ । यो दिन नेवारका लागि निकै पुण्य र धनधान्यको दिन हो । गणेश चौथीका रूपमा पुजिने यो दिनमा पनि मानिसको ओहिरो र आवतजावत निकै हुुन्छ । यसबेलामा कारोना महामारी संक्रमणको डर पनि कम हुँदैन । तर, संस्कार र संस्कृतिका हिसाबले भगवान्ले पनि क्षमा गर्छन् भन्ने अलौकिकतामा विश्वास गरेको देखिन्छ ।

यसपछि पञ्चमी आउँछ । यसलाई सानो तीजका रूपमा निकै धुमधामका साथ मनाइने गरिन्छ । यस दिनलाई राज्यले तीजको झैं मान्यता नदिए पनि तीजको निरन्तरतामा समाप्ति वा सांग्यताका रूपमा लिइन्छ । यस वर्षको तीज पर्वको अन्तिम दिन भनेर यस दिन पनि तीज जत्तिकै महत्वका साथ यसलाई मनाउने गरिन्छ । यस दिनमा पनि भिडभाड र आवतजावत तीजको दिनमा भन्दा कम हुँदैन । यो दिनमा पनि महामारी संक्रमणको डर कम हुँदैन । यसपछिका दिनहरू अरू ठूला पर्वका तयारीका दिन रहनेछन् । असोज महिनामा वडादसैं आउँदै छ । यसको तयारी र सजधज पनि कम हुँदैन । यस पर्वमा विदेशमा रहेका नेपालीहरू पनि स्वदेश फर्कने गर्छन् । हेर्दा अन्तरदेशीय भेटघाट जस्तो देखिने बडादसैंको मिलन कोरोना महामारी संक्रमणको हिसाबले निकै जोखिमपूर्ण हुन जाने देखिएको छ । तीजमा सतर्क गराउन र अनुरोध गर्न त सकियो तर रोक्न सकिएन । यस्तै अवस्था बडादसैंमा आउने निश्चित छ । त्यस लगत्तै कात्तिक महिनामा तिहार र त्यसलगत्तै तराईको सबैभन्दा ठूलो चाड छठ लगातार आउँदै छन् । यी पर्वमा हुने भेटघाट र जमघटले महामारी फेरि बढ्ने त होइन भन्ने आशंका र चिन्ता जन्माइरहेको छ ।

यी पर्वहरूमा हुने घुलमिल र भेटघाट क्षणिक हुँदैनन् । भेटघाट र पाहुनाको ओइरो लागिरहन्छ । विभिन्न परिकार बाँडीचुँडी खाने र एक ठाउँबाट अर्को ठाउँमा लाने क्रम व्यापक रूपमा चल्छ । यसले पनि महामारी संक्रमण एकबाट अर्कोमा र एक ठाउँबाट अर्को ठाउँमा सर्न र सार्न मद्दत पु¥याउने देखिन्छ । यसै कारणले पनि यी पर्वहरूमा बढी सतर्क रहनु जरुरी छ । सबै पर्वहरू मनाउँदा सुरक्षाका सबै मापदण्ड पूर्णरूपमा पालना गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागलुङ दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बागलुङमा अधिकांस स्थानीय तहमा गठबन्धन सफल