स्कुल खोल्न सकिन्छ त ?

बाबा ! स्कुल खुल्छ त अब ? मैले त स्कुल जाने बाटो नै बिर्सिसकें होला । साथीहरू शिक्षकहरूको अनुहार पनि बिर्सेहुँला । स्कुल खुल्ने समाचार देखेर अनलाइन कक्षा सकिनेबित्तिकै छोरीले प्रश्न गरिन् ।

छोरी ! समय नै यस्तो छ । सरकारले खोल्ने त भनेको छ । खोइ के हुन्छ ? ल्यापटमा अनलाइन कक्षामा आँखा तानीतानी पढ्दा थाकेकी र साथीहरूसँग उफ्रिएर रमाउन नपाउँदा आत्तिएकी छोरीलाई मैले सम्झाउने कोशिस गरें ।

छोरीका प्रश्नहरूले मेरो मथिंगल झन्झनायो । कोरोनाको महामारीको कारण लकडाउन भएर पोहोरझंै यस वर्ष पनि स्कुल महिनौंदेखि बन्द छन् । लाखौं विद्यार्थी अन्योलमा छन् । विद्यार्थीहरूलाई स्कुल बोलाउने हिम्मत कसैले जुटाउन सकेका छैनन् । विद्याआर्जनका लागि विद्यार्थीहरू स्कुलमा अनिवार्यरूपमा उपस्थित हुनुपर्छ । स्कुल होटल रेस्टुरेन्ट, मल, सैलुन, पार्लरजस्तो गए पनि हुने नगए पनि हुने स्थान होइन् । विद्यार्थी जम्मा हुने थलो भएकाले संक्रमण तीव्र हुन सक्ने भयले अविभावक, विद्यार्थी र सरकार त्रसित मनोविज्ञानमा रहेका छन् । स्कुल खोल्ने र सञ्चालन कसरी गर्ने भन्ने विषयले शिक्षक, विद्यार्थी, अविभावक, स्कुल सञ्चालक, समुदाय र सरकारको अगाडि गम्भीर चुनौती बनेको छ ।

विद्यार्थीको पीडा
कोरोनाको संक्रमणले च्याप्दै ल्याएपछि पोहोर देशव्यापी लकडाउनल शैक्षिक संसारमा अनिश्चितताको बादल लामो समयसम्म लागिरहेको छ । स्कुल बन्द छन् । घरपरिवार समाज कठिन मोडमा खडा छ । त्यसको प्रभाव पनि विद्यार्थीमाथि परेको छ । लामो समय घरभित्र बस्नुपर्दा विद्यार्थीहरूले स्कुलको जीवन सम्झनु स्वाभाविक हो । स्कुलमा गएर सिकेको शिक्षा दिगो पनि हुन्छ । विद्यार्थीहरू साथीहरूसँग खेल्दा र रमाउँदा मानसिक रूपमा स्वस्थ र पढ्न उत्पे्ररित पनि हुन्छन् । स्कुलहरू बन्द भएकाले पाँच वर्षदेखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरू घरभित्र सीमित भएर बसेका छन् ।

शिक्षकको पीडा
संक्रमणको भयले स्कुल वन्द भएपछि सशरीर विद्यार्थी स्कुल आउने वातावरण बनेको छैन । अविभावकलाई स्कुलको फि तिर्नु कि नतिर्नु बनाएको छ । सरकार वा सामुदायिक विद्यालयमा पढाउने अविभावकले विद्यालयको शुल्क खासै बुझाउनु नपर्ने भएकाले त्यसको खासै चिन्ता रहेन । सामुदायिक स्कुलका शिक्षकहरूले तलब भत्ता महिनैपिच्छे पाइरहे । निजी विद्याालयका अविभावकले शैक्षिकसत्रको फि आधाआधा मात्रै तिरेका कारण त्यसको असर सोझो रूपमा शिक्षकमाथि परेको छ । शिक्षकहरूले पूरा तलब पाएका छैनन् । विद्यालय सञ्चालकहरू विद्यार्थीले बुझाएपछि दिउँला भन्दै टारिरहेका छन् । शिक्षकहरूको दैनिक गुजरा नै जोखिममा परेको छ । उनीहरू ल्यापटप किनेर अनलाइन कक्षा चलाउने सीप सिक्न पनि बाध्य भए ।

सरकारको अलमल
सरकारले वैकल्पिक शिक्षण विधिका रूपमा सूचना प्रविधि अवलम्बन गरेर विद्यार्थीलाई कम्प्युटरमा पढाउने व्यवस्था मिलायो । पोहोरका एसईई र १२ का परीक्षाहरू भए नतिजा पनि प्रकाशित भए । स्कुलको मूल्यांकनको आधारमा विद्यार्थीहरू कक्षा चढे । यस वर्ष एसईई भए पनि सरकार १२ कक्षाको परीक्षा गर्न अलमलियो । छिमेकी भारत सरकारले बेलैमा विद्यार्थीहरूले सामान्य अवस्थामा पढने पाठयक्रमको भार २० प्रतिशतले कम गरेर विद्यार्थीलाई हल्का बनायो । १० र १२ कक्षाको परीक्षा’bout बेलैमा टुंग्यायो । हामी शैक्षिकसत्र सुरु भइसक्दा पनि पाठ्यक्रम, विद्यार्थी र शिक्षक’bout नीतिगत रूपमा स्पष्ट हुन अलमलमा परिरह्यौं । जुन १२ को परीक्षा कसरी गर्ने वा कि नगर्ने भन्ने टुंगोमा पुग्न भएको ढिलाइले देखाउँछ ।

अनलाइन र दूरकक्षाको प्रभावकारिता
२०७५ साल असारबाट स्कुल नगइकन रेडियो टेलिभिजनबाट दूर शिक्षा र अनलाइन कक्षा चलाउने व्यवस्था आरम्भ भएको हो । घरभित्र बस्दाबस्दा आत्तिएका विद्यार्थीहरूलाई अनलाइन पढाइ वा दूरशिक्षाले केही राहत दियो । विद्यार्थीहरू अनलाइन र दूरशिक्षाको माध्यमबाट पढने कोशिस गरिरहेका छन् । २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ५१ प्रतिशतको रेडियोमा, ५६ प्रतिशतको टेलिभिजनमा र ५५ प्रतिशत जनसंख्याको मोबाइल फोनमा पहुँच पुगेको थियो भने ३ प्रतिशत जनसंख्या मात्र इन्टरनेट सुविधामा आबद्ध थिए । रेडियो प्रयोगकर्ता गाउँमा ५० प्रतिशत र सहरमा ५४ प्रतिशत थिए भने टेलिभिजन प्रयोगकर्ता गाउँमा ४१ प्रतिशत र सहरमा ११४ प्रतिशत रहेका थिए ।

विद्यालयहरू खोल्ने पढाउने सम्बन्धमा सबै सरोकारवालाले गम्भीर र संवेदनशील भएर पहल गर्नुपर्ने देखिन्छ

यसैगरी, मोबाइल फोन प्रयोगकर्ता गाउँमा ६० प्रतिशत र सहरमा ८४ प्रतिशत रहेको थियो भने इन्टरनेट प्रयोग गर्ने जनसंख्या गाउँमा ४ प्रतिशत र सहरमा १३ प्रतिशत मात्र थियो । १५औं योजनाले आर्थिक वर्ष २०७५÷७६ सम्ममा विद्युत् सेवा पुगेको जनसंख्या ८८ प्रतिशत र इन्टरनेट सुविधा पुगेको जनसंख्या ६६ प्रतिशत रहेको देखाएको छ । यसबाट अनलाइन र दूरशिक्षामा विद्यार्थीहरूको पहुँच कम रहेको स्पष्टै देखिन्छ । सहरको तुलनामा ग्रामीण, धनीको तुलनामा गरिब, निजी विद्यालयमा पढने विद्यार्थीको तुलनामा सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूको अनलाइन शिक्षा र दूरशिक्षामा पहुँच कम देखियो । यसले भविष्यमा शिक्षा आर्जनमा ठूलो असमानता ल्याउने जोखिम देखिएको छ ।

रेडियो, टेलिभिजन, मोबाइल फोन र इन्टरनेटमा पहुँच बढदै गएको भए पनि शैक्षिक गतिविधि चलाउन ती साधनहरूको गुणस्तर पनि उचित हुनुपर्छ । गाउँदेखि सहरसम्मका निम्न वर्गका जनता एउटै कोठामा ४÷६ जना बस्ने हुन्छन् । गरिब विद्यार्थीहरूका लागि दूरशिक्षा वा अनलाइनमा पढने वातावरण छैन । सबै परिवारसँग स्मार्ट मोबाइल पनि छैन । शिक्षाविज्ञ अनलाइन दूरकक्षाको गुणस्तरको हिसाबमा हेर्ने हो भने केवल एक तिहाइ विद्यार्थीहरूले मात्र सिक्न सकेको राय प्रस्तुत गर्छन् ।

सामान्यतः पाँच वर्षदेखि सत्र वर्ष उमेर समूह स्कुले उमेर हो अविभावक शिक्षकले पढ भनेर उत्पे्ररित गर्दा पनि पढ्नभन्दा साथीहरूसँग खेल्न रमाउने उमेर हो । घरमा थुनिएर बसेका छोराछोरीहरूलाई बाबुआमाले पढ् पढ् भनेर धेरै कर गर्न सक्ने अवस्था पनि छैन । विद्यार्थीलाई अनलाइन कक्षा र दूरशिक्षाका लागि कम्प्युटर अगाडि केन्द्रित गराउन हम्मेहम्मे परिरहेको छ ।

कोरोनाको पहिलो दोस्रो लहरबीच सामुदायिक र निजी स्कुलहरूले आफ्नो आफनो हिसाबले अनलाइन पढाइ सुरु गरेको पाइन्छ । निजी स्कुलहरूले चलाएका अनलाइन कक्षाहरूको पहुँच करिब ७०÷८० प्रतिशत विद्यार्थीसम्म पुगेको र गुणस्तर पनि राम्रो भएको अनुमान रहेको छ । शैक्षिक सत्रको कोर्स नै सक्न लागेको विद्यार्थीहरू सुनाउँछन् । तर, सरकारी शिक्षकहरूमा देखिएको उदासीनताले सामुदायिक स्कुलहरूको अनलाइन पढाइले गति लिन सकेको छैन । करिब ३ लाख ५० हजार सरकारी शिक्षकमध्ये केवल ३० प्रतिशत शिक्षक मात्र अनलाइन पढाइमा संलग्न रहेको शिक्षाविज्ञको अनुमान छ । यसकारण अनलाइन र दूर कक्षा चलाएर ढुक्क हुने अवस्था छैन् ।

शैक्षिक वातावरणको व्यवस्थापन
संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास संस्थाले कोरोना संक्रमणको अवस्थालाई आशावादी चरण, मध्यवादी चरण र निराशावादी चरण गरी तीन भागमा बाँडेको छ । आशावादी चरण भनेको खोपको आविष्कार र प्रयोगको अवस्था जहाँ सबै निर्धक्क हिँडडुल गर्न सक्छन् । दोस्रो, मध्यवादी चरण भनेको खोपको अनुसन्धान भइरहेको र संक्रमणको तीव्रता धिमा भएको र तेस्रो निराशावादी चरण कोरोना संक्रमण उच्च दरमा फैलिएको अवस्था हो ।

शैक्षिकसत्र लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको विषय हो । हामी निराशावादी चरणमा स्कुल खोल्ने कल्पना पनि गर्न सक्दैनौं भने आशावादी चरणमा स्कुल खोल्न केहिले पनि रोकेको हँुदैन । महामारीको संक्रमण तीव्र भइरह्यो भने स्कुल कलेज बन्द गरेर शैक्षिकसत्र नै गुजार्नुपर्ने अवस्था नआउला पनि भन्न सकिन्न । अहिले विश्व संक्रमणको मध्यवादी चरणमा छ । विश्वभर खोप अभियान चलेको छ । लकडाउन खुकुलो भएसँगै मानिस माक्स लगाएर, सामाजिक दूरी कायम गरेर, हातमा सेनिटाइजर दलेर काममा संलग्न हुन थालेका छन् । भ्याक्सिन लगाउने क्रम जारी छ । विस्तारै आर्थिक क्रियाकलाप चल्न थालेका छन् । अफिस कार्यालयबाट सेवाप्रवाह सुरु भएको छ । घरबाट पनि अफिसका काम भएका छन् । अनलाइन बिजनेस चलेको छ । तर, बन्द स्कुल कलेज खुल्न सकेका र विद्यार्थीहरू स्कुल जान पाएका छैनन् । विद्यार्थीको शैक्षिक वातावरणको व्यवस्थापन कसरी जोगाउन सकिएला भन्ने विषयमा विभिन्न कोणबाट चिन्तन र बहस भइरहेका छन् ।

व्यवस्थापनका लागि प्रस्ताव
विद्यार्थीहरूलाई अनलाइन र दूरकक्षाहरू चलाउने, अनलाइन र दूरकक्षा सञ्चालन गर्न शिक्षकहरूलाई तालिम दिने, सक्ने स्थानीय तहले रेडियो टेलिभिजन बाँड्ने, शिक्षकहरूले घरदैलो शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्कुल बोलाएर विद्यार्थीलाई होमवर्क दिएर होमवर्कमार्फत पढाउने, भच्र्युअल ल्याब बनाएर विद्यार्थीलाई विज्ञान वा विविध विषयको सीप सिकाउने प्रयास पनि गरिरहेका छन् । तर, पढाइ र सिकाइको पहुँच तथा गुणस्तर कसरी मापन गर्ने भन्ने चिन्ताको विषय बनेको छ ।

गत वर्षभन्दा यस वर्ष परिस्थिति केही बदलिएको र सजिलो भएको छ । हाम्रो देशमा करोडभन्दा धेरैले खोप लगाइसकेका छन् । स्कुलका शिक्षक कर्मचारीहरूले पनि खोप लगाइसकेका छन् । संक्रमण मत्थरोन्मुख पनि देखिएको छ । स्कुलका विद्यार्थीहरू सबैभन्दा अनुशासित वर्ग हो । तर, विद्यार्थी उमेरका बालबालिकाहरूले खोप लगाउन पाएका छैनन् । यसकारण अहिले बालबालिकाहरू नै बढी जोखिममा रहेको बताइन्छ ।

लाखौं विद्यार्थी अन्योलमा छन्, उनीहरूलाई स्कुल बोलाउने हिम्मत कसैले जुटाउन सकेका छैनन्

यस पृष्ठभूमिमा संक्रमणको मध्यवादी चरणको अवस्थामा शैक्षिकसत्र जोगाउने, विद्यार्थी स्कुल जान पाउने वातावरण बन्ने र उनीहरूमा कुनै प्रकारको मनोवैज्ञानिक समस्या नआओस् भन्ने उद्देश्य राखी बहसका लागि देहायबमोजिमको रणनीतिक प्रस्ताव प्रस्तुत छ ।
– सरकारले अस्थायी रूपमा पाठ्यक्रमको भार घटाएर सानो बनाउने, १२ कक्षाको परीक्षाका विषयमा तत्काल निर्णय लिने, हरेक कक्षाहरू हप्तामा पाँच दिन चलाउने, अनलाइन तथा दूरशिक्षाको पढाइलाई मान्यता दिने ।
– विद्यालयले विद्यालय शिक्षा र अनलाइन कक्षाहरू सँगसँगै चलाउने । अनलाइन शिक्षणका लागि मार्गनिर्देशिका बनाउने, विद्यालय शिक्षा नभएका दिनमा चार दिन अनलाइन कक्षाहरू चलाउने, विद्यालयहरूमा अनलाइन कक्षा चलाउन कम्प्युटर ल्याब बनाउने र आवश्यक परे शिक्षकलाई तालिम दिने, संक्रमित नभएका जिल्लाहरूमा कम भीड हुनेगरी स्कुलमा नै कक्षा चलाउने व्यवस्था गर्ने,
– विद्यार्थी, शिक्षकहरूले अनिवार्य रूपमा माक्स लगाउने, सेनिटाइजर बोकेर हिँड्ने र शिक्षकले विद्यार्थीहरूलाई हरेक कक्षा अगाडि र पछाडि सेनिटाइजर हातमा लगाउन लगाउने । माक्स लगाए नलगाएको अनुगमन गर्ने,
– कक्षामा कराएर पढाउँदा थुकका छिटा कक्षाभरि फैलन सक्ने भएकाले शिक्षकले बाक्लो माक्स लगाएर पढाउने ।
– विद्यालयहरू हरेक हप्ता बिहान ९ बजेदेखि साढे १२ बजेसम्म र १ बजेदेखि साढे ४ बजेसम्म गरी दुई सिफ्टमा सीमित कक्षा (सेक्सनसहित)हरू सञ्चालन गर्ने,
– एउटा कक्षा (वा सेक्सन)को पढाइ हप्तामा सीमित दिन मात्र गर्ने,
– विद्यार्थीको संंख्या हेरेर विद्यालयले कुन सिफ्टमा कुन कक्षालाई बोलाउने निर्णय गर्ने, दूरी कायम गर्न एउटा कक्षामा १५-२० जना भन्दा धेरै विद्यार्थी नराख्ने, कक्षाका सानासाना सेक्सन बनाएर पढाउने,
– एक दिनमा सबै विषयको पढाइ गर्न सक्नेगरी कक्षाहरूको समय विभाजन गर्ने, हरेक कक्षाहरूमा शिक्षक, विद्यार्थी विद्यार्थीबीचको दूरी कम्तीमा एक मिटर कायम गर्ने, ब्रेकको समयमा विद्यार्थीहरूलाई एकआपसमा छोएर खेल्ने खेल खेल्न वा गफ गर्न मनाही गर्ने,
– विद्यार्थीहरूलाई कक्षा कोठामा जाँदा र निस्कँदा दुई मिटरको दूरी बनाएर हिँड्न लगाउने,
– अविभावकहरूले नै विद्यार्थी लैजाने ल्याउने व्यवस्था गर्ने, स्कुल बस प्रयोग नगर्ने,
– विद्यालय र कक्षा कोठा हरेकदिन निसंक्रमित गर्ने र विद्यालयमा सेनिटाइजर, साबुन पानीको व्यवस्था गर्ने,
– शिक्षकले विद्यार्थीलाई होमवर्क दिने र सोको जवाफ शिक्षकले कक्षामा बताइदिने । विद्यार्थीको कापी किताब नछुने,
– स्कुलमा पढाइका अतिरिक्त कुनै पनि प्रकारको अतिरिक्त कार्य नगर्ने र भीडभाड हुन नदिने,
– अविभावकले छोराछोरी स्कुलबाट फर्केपछि उनीहरूको किताब कापी निसंक्रमित गर्ने र ब्याग तथा ड्रेस धुने व्यवस्था गर्ने,
– विद्यार्थीले स्कुलमा पिउने पानीबाहेक कुनै प्रकारको टिफिन नलैजाने, स्कुल क्यान्टिन पनि नचलाउने र
– एक दिनमा सीमित कक्षाका परीक्षा मात्र सञ्चालन गर्ने वा अनलाइन परीक्षा लिने ।

यी बुँदाहरू मान्नैपर्छ भन्ने होइन तर उपयुक्त भने हुन सक्छन् । विद्यार्थीको पढाइलाई निरन्तरता दिनु आजको आवश्यकता हो । स्कुल गएर पढ्न नपाउँदा किशोरकिशोरीहरूमा मानसिक समस्या आउन पनि सक्छ । मनोवैज्ञानिक कोभिडको संक्रमणभन्दा विद्यार्थी घरभित्रै बसिरहँदा हुन सक्ने घटना र मानसिक तनावको जोखिम उच्च हुने तर्क गरिरहेका छन् । यसकारण विद्यालय खोल्ने पढाउने सम्बन्धमा सबै सरोकारवालाले गम्भीर र संवेदनशील भएर पहल गर्नुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)

epaper

ताजा समाचार

केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने