प्रतिपक्षको विरोधका बीच संसद् सञ्चालन

फाइल तस्विर

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा शुक्रबार तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । तर, सभामुख अग्नि सापकोटाले बैठकलाई सञ्चालन गरिरहे । त्यहीबीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोस्ट्रम पुगे र विभिन्न अध्यादेश तथा विधेयक पेस गरे । एमाले सांसदहरूको रोस्ट्रम कब्जा गर्ने प्रयासलाई मर्यादापालकहरूले असफल पारिदिए ।

एमालेको अवरोध र नाराबाजीबीच सभामुख सापकोटाले शुक्रबारको प्रतिनिधि सभा बैठक चलाए । बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए । पहिलोपटक सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि रोकेका थिए । दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी जारी राखे । उनीहरूको नाराबाजीबीच सभामुख सापकोटाले बैठक अघि बढाए । केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संसद्मा पेस गर्न सभामुख सापकोटा अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए । एमाले सांसदको नाराबाजीबीच संसद्को बहुमतले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको थियो ।

त्यसपछि बस्ने बैठकमा सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने कार्यसूची थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले ओलीले ल्याएको बजेट परिमार्जन गरेको थियो । तेस्रोपटक बसेको बैठकमा पनि एमाले सांसदले फेरि नाराबाजी गर्न थाले । उनीहरूको नाराबाजीबीच अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पढिरहे । सुरुमा नाराबाजी गरिरहेका एमाले सांसदहरूलाई मर्यादापालकले रोकिरहेका थिए । केहीबेरपछि सांसदहरूले आफ्ना साथीलाई उठाएर काँध चढाए । उनीहरूले काँध चढेरै रोस्टमसम्म पुग्न प्रयास गरेको देखिन्थ्यो । तर, मर्यादापालकले उनीहरूको प्रयास सफल हुन दिएनन् ।

प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसदको अवरोधबीच अर्थमन्त्री जनार्दन शर्माले संघीय प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रस्तुत गरे । यसैबीच एमाले सांसदले प्रधानमन्त्री शेरबहादुर देउवा बसेको लाइनको माइक थुत्न थालेपछि प्रधानमन्त्री देउवाले आफ्नो माइक लुकाएका थिए । हुलदंगाबीच संसद्मा एमाले सांसदले माइक टिप्नै लाग्दा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई रोकेका थिए ।

रोस्ट्रम कब्जा गर्ने प्रयास असफल

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले सभामुखका कारण संसद्मा नाराबाजी गर्नुपरेको बताए । तीनवटा बैठकमा लागातार नाराबाजी गरेर बाहिरिएपछि नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै एमालेका सांसदहरूले यस्तो बताएका हुन् । एमालेका सांसद गोकुल बास्कोटाले शुक्रबार प्रतिनिधिसभामा के पेस भयो त्यो आफूलाई थाहै नभएको प्रतिक्रिया दिए । सभामुखले दलहरूलाई असमान व्यवहार गरेका कारण नाराबाजीमा केन्द्रित हुनुपरेको उनले बताए । ‘त्यो कुर्सीमा बसिरहँदा सबै दलप्रति समान व्यवहार गर्नुपर्छ,’ उनले भने, ‘उहाँले त्यो काम गर्नुभएन । हाम्रो विरोध त्यसप्रति हो ।’

एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको भूमिका संसदीय मर्यादाबाहिर रहेको बताइन् । सभामुखले १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिका साथ काम गरेको उनले बताइन् । कार्यव्यवस्था परामर्श समितिमा छलफल नगरी, बैठक नगरी, परामर्श नगरी, प्रमुख प्रतिपक्ष साथ नलिइकन संसद् चलाउन खोजे त्यो सफल नहुने उनले चेतावनी दिइन् । एमाले सांसद चौधरी नाराबाजीबीच बजेटको प्रतिस्थापन विधेयक पेस हुन थालेपछि रोस्टममा जान खोजेकी थिइन् । उनले भनिन्, ‘प्रमुख प्रतिपक्ष दललाई साथमा राखेर अघि बढ्नुको सट्टा अर्थमन्त्री शर्माले चोरबाटो र जंगली पाराले लुकेर प्रतिस्थापन विधेयक पेस गरेकाले त्यो प्रयास गरेको हो ।’

एमालेकी सांसद रेखा कुमारीले त गृहमन्त्रीको माइक नै तानेर रोस्ट्रमतर्फ फ्याँक्न खोजेकी थिइन् । यस’bout पत्रकारले राखेको जिज्ञासामा उनले सभामुख र अर्थमन्त्रीको कदम असंवैधानिक रहेकाले आफूले उनीहरूलाई नै हान्न गृहमन्त्रीको माइक तानेको बताइन् । सभामुखको सशक्त विरोध कायम राख्ने उनले बताइन् । उनले भनिन्, ‘सभामुखले मर्यादामा राख्न सक्नुभएन । त्यसको हामीले सशक्त विरोध गर्नुपर्छ ।’ एमालेका सांसद सुरेन्द्र पाण्डेले सबै दलको सहमतिमा प्रतिस्थापन विधेयक ल्याएको भए राम्रो हुने प्रतिक्रिया दिए । ‘संसद्भित्र सहमति लिएर विधेयक ल्याउनु राम्रो हुन्थ्यो,’ उनले भने, ‘सबैको सरोकारको विषय हो यो, यसकारण एमालेसँग पनि छलफल गरेको भए हुन्थ्यो ।’

यसैबीच अर्थमन्त्री जनार्दन शर्माले भने आफूले संवैधानिक व्यवस्थाअनुसार प्रतिस्थापन विधेयक ल्याएको प्रतिक्रिया दिए । प्रतिस्थापन विधेयकले आर्थिक अराजकतालाई नियन्त्रण गर्ने र मितव्ययिता कायम गर्ने उनले बताए । उनले बजेट विनियोजन भएको तर कुनै काम नहुने खालको योजनालाई हटाइएको उल्लेख गरे । आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अर्थमन्त्री शर्माको दाबी छ । उनले भने, ‘आर्थिक वृद्धि ७ प्रतिशतमा स्वतः पुग्नेछ ।’

 

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा