काठमाडौंको गोर्केणेश्वर, तनहुँको भानु नगरपालिकाले भदौ १५ बाट भौतिक उपस्थितिमा नै पठनपाठन थालेको छ । प्रदेश २ का सप्तरी, पर्सालगायतका अधिकांश जिल्लामा पनि भौतिक उपस्थितिमा नै पठनपाठन चालू छ । अनलाइन तथा वैकल्पिक विधि प्रभावकारी नभएको, सिकाइमा ठूलो क्षति भएको भन्दै शिक्षक शिक्षिका, अभिभावकसँगको छलफलपश्चात् नगर शिक्षा समितिले जनस्वास्थ्यका मापदण्ड विद्यालयले गर्नुपर्ने गरी नगरपालिकाले खोल्न दिएका छन् ।
मापदण्ड पालना नगरे कार्बाही गरिने बताए पनि अनुगमन छैन । नगरपालिकाले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति तथा जानकारी थिएन । शिक्षा स्थानीय तहको जिम्मेवारीमा रहेकाले वीरगन्ज पालिकाले त्यसो गरेको बताउँछ । गोकर्णेश्वरका मेयरले कि विकल्प दिनप-यो, सधैं कोठाभित्र थुनेर राख्न सकिँदैन भन्दै प्रशासन कार्यालयले रोक लगाएको नमान्ने बताएका थिए ।
काठमाडौं उपत्यकामा आउँदो असोज १ गतेदेखि पूर्णरूपमा भन्दा तयारीका रूपमा स्वास्थ्यका निश्चित मापदण्ड पालना गरेर विद्यालय खोल्ने विषयमा काठमाडौं जिल्लाका तत्कालीन प्रजिअ कालीप्रसाद पराजुलीको अध्यक्षतामा भदौ २१ गते बसेको बैठकले निर्णय गरेको छ । तिहारपछि मात्र विद्यालय पूर्णरूपमा खोल्ने तयारी छ । बैठकमा उपत्यकाभित्रका स्थानीयतहका शिक्षा शाखा प्रमुख एवं प्रतिनिधि, शिक्षा कार्यालय समन्वय इकाई प्रमुख, सुरक्षा निकायका प्रमुख सहभागी थिए । सबै शिक्षकलाई कोरोनाविरुद्धको खोप प्रदान, जिल्ला शिक्षाको शिक्षा समितिले कोभिडको जोखिम विश्लेषण गर्ने र सुरक्षित देखेमा पूर्णरूपमा खोल्न दिइने उल्लेख छ । स्वास्थ्य मापदण्ड पालना गराउन स्थानीय तहलाई जिम्मा छ ।
जनशक्ति कमजोर निस्कने : लामो समय कोरोना महामारीका कारण शिक्षणसंस्था बन्द भएपछि शिक्षाक्षेत्र डामाडोल बनेको छ । अन्योलताबीच कतिपय बीचमै परीक्षा सञ्चालन भएका छैनन् । तालिका निस्के पनि स्थगित भइरहँदा विद्यार्थी निराश भए । विगत दुई वर्षयता कक्षा पूरा नभई परीक्षा सञ्चालन गरी कक्षा वृद्धि गरिएको छ, एसईईको परीक्षासमेत आन्तरिक मूल्यांकनको आधारमा प्रकाशित भए ।
केन्द्रीकृत प्रणाली, कमजोर विद्यार्थीलाई मनोमानी अंक दिँदा शैक्षिक जनशक्ति कमजोर निस्कनेछन् र क्षेत्र धराशायी हुनेछ । जसले विद्यार्थीको भविष्यमा दीर्घकालीन असर पर्न सक्ने शिक्षाविद् बताउँछन् । त्यसो त ३ घण्टाको परीक्षाले विद्यार्थीको भविष्य निर्धारण गर्न सक्दैन ।
स्क्रिन डिसअर्डरका बिरामी बढे : लामो समयसम्म एउटै कामलाई निरन्तरता दिएमा त्यसले बानीको रूप ग्रहण गर्छ । कुलतलाई खराब किसिमको बानी भनेर चिनिन्छ । लामो समय बिताउने, एकैछिन इन्टरनेटबाट टाढा हुँदा केके न छुटेजस्तो महसुस, छटपटी, अरू काममा जाँगर नचल्ने, आफ्ना दैनिक गतिविधिमा समेत प्रभावकारिता कम हुँदै जाने आत्तिने, धेरै कुरा गुमाएजस्तो, शारीरिक दुखाइ, आक्रामक व्यवहार, उदासीनता, अवस्था इन्टरनेट वा स्क्रिन डिसअर्डर हो । प्रवृति बढ्दै गए व्यक्ति नियमित काम गर्न असमर्थ हुन थाल्छ । लतका कारण व्यक्ति पारिवारिक र साथीभाइको सम्बन्धलाई परित्याग गरी समाज र परिवारमा समायोजन हुन कठिनाइ महसुस गर्छ । केहीमा मानसिकका साथै शारीरिक लक्षणहरू हात, नाडी, शरीरका नसा दुख्ने, आँखा सुक्खा, दृष्टि तिरमिराउने, घाँटी र टाउकाको पछाडि भाग घिच्रो गर्धन दुख्ने, मस्तसँग सुत्न नसक्ने र वजन अत्यधिक बढ्ने वा घट्ने सम्भावना हुन्छ । साइबर बुलिङ, नग्न तथा हिंस्रक कार्यक्रम, चलचित्र, यौन दुव्र्यवहार पनि त्यत्तिकै बढाउँछ ।
तिहारपछि विद्यालय पूर्णरूपमा खोल्ने तयारी गरिए पनि उच्च जोखिम क्षेत्रमा विद्यालय केही समय नखोल्नु नै उपयुक्त हुनेछ
स्वास्थ्य मापदण्ड पालना न्यून : शिक्षण संस्थाहरू एकपछि अर्काे स्थानीय तहले निर्णय गर्दै खुल्दै गर्दा साना कक्षाका बालबालिकाले त झनै मास्क साटासाट गर्ने तथा एउटै बोतलबाट पानी पिउने गरेको देखिएको छ । शिक्षा मन्त्रालयको विद्यालय पुनः सञ्चालन कार्यढाँचा २०७७ मा भएको अनिवार्य मापदण्डमा मास्क अनिवार्य ८५ प्रतिशत, सेनिटाइजर तथा हात धुने व्यवस्था ६३, भौतिक दूरी ३९ प्रतिशत, सिफ्टमा पढाउने १०, ज्वरो मापन ७, सुरक्षित शौचालय ५ र मेडिकल रुमको व्यवस्था भएको १ प्रतिशतमा मात्र फेला परेको थियो । युनिसेफले सातवटै प्रदेशका सामुदायिक र निजी विद्यालयका करिब साढे ६ हजार अभिभावकमा गरेका अध्ययनको निष्कर्षमा दोस्रो लकडाउनअघि, लकडाउन अवधिमा र त्यसपछि पनि विद्यालय स्वास्थ्य मापदण्ड पालना नभएको र नहुने पनि भनेको छ । धेरै अभिभावकले विद्यालयमा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना नभएको गुनासो थियो । अधिकांश ८९ प्रतिशतले विद्यालय पठाउन चाहेको छन् तर कोरोनाको डर छ ।
त्यस्तै, अध्ययनले अनलाइनलगायतका वैकल्पिक माध्यमको पठनपाठन प्रभावकारी नभएको पनि निष्कर्ष निकालेको छ । संलग्न बालबालिकामध्ये सामुदायिक ७० र निजीका ५१ गरी कुल ६८ प्रतिशतले पाठ्यपुस्तक स्वअध्ययन गरेर सिकाइलाई निरन्तता दिएको बताए । विद्यार्थीमध्ये निजीका ४३ र सामुदायिकका १८ गरी कुल २७ प्रतिशत मात्र अनलाइन कक्षामा बस्ने गरेको, त्यसैगरी टेलिभिजनबाट २ र रेडियोमार्फत् १ प्रतिशत विद्यार्थीले मात्र पढाइ अघि बढाएको देखिएको छ । वैकल्पिक सिकाइमा शिक्षकले सहयोग नगरेको तथा सामुदायिकका ५९ र निजीका ३६ प्रतिशत गरी कुल ५० प्रतिशत बढीले सातामा एकपटक पनि सम्पर्क नगरेका अभिभावकको गुनासो छ । अभिभावकमध्ये ९० प्रतिशतले विद्यालय जान नपाउँदा सिकेका पनि बिर्संदै गएको दुःखेसो थियो । शैक्षिक शास्त्रमा हेरफेर भए पनि २० प्रतिशत बढीले आफू पास भए नभएको जानकारीसमेत नपाएको बताएका थिए ।
शिक्षा मन्त्रालयले सबै प्रकारका शिक्षणसंस्थाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तय जनस्वास्थ्य सुरक्षा मापदण्ड, स्मार्ट लकडाउन कार्यविधि २०७८ र विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ पूर्ण अनुसरण गर्न पुनः अपिल गरेको छ ।
स्मार्ट लकडाउनमा विद्यालय सञ्चालन : कार्ययोजनामा रातो क्षेत्रमा प्रधानाध्यापकसहित केही शिक्षक आलोपालो विद्यालय आउने र विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउने, गाढा पहेंलो एम्बरमा ५० प्रतिशत शिक्षक विद्यालयमा उपस्थिति भएर विद्यार्थीलाई समूहअनुसार सिकाइ सहजीकरण गर्ने, हल्का पहेंलो क्षेत्रमा शिक्षक विद्यालयमा उपस्थित भई विद्यार्थीलाई ससानो समूह बनाएर मात्रै सिकाइ सहजीकरण र हरियो क्षेत्रमा विद्यालय पुनः सञ्चालन कार्यढाँचाअनुसार भौतिक उपस्थितिमा नै पठनपाठन सञ्चालन गर्न सकिनेछ । संक्रमणको जोखिम नरहेका वा कम रहेको स्थानमा आलोपालो सिफ्ट वा अन्य विधि प्रयोग गर्न सकिन्छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा स्थानीय तहले विद्यालय सञ्चालन गर्नसक्नेछ । स्मार्ट लकडाउनको अवधारणामा कोरोना संक्रमणको क्षेत्र वर्गीकरण गरेर कम जोखिमका स्थानमा विद्यालय खोल्न शिक्षा मन्त्रालयको कार्ययोजना सीसीएमसीमा जानकारी दिनुपर्ने व्यवस्था छ ।
अनावश्यक भिजिटर नल्याउन, कोठाभित्रभन्दा बाहिर चौरमा वा खुला ठाउँमा कक्षा सञ्चालन गर्न ध्यान दिनुपर्छ
उच्च जोखिम क्षेत्रमा विद्यालय बन्द नै उपयुक्त
सुरक्षित रहन : संक्रमणबाट सुरक्षित बनाउन कक्षा कोठामा मात्र नभई स्कुलबस, लबी, क्यान्टिन, हलमा भिडभाड कम गर्ने र सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । नर्सको व्यवस्था, दैनिक स्वास्थ्य जाँच, घर फर्किसकेपछि पनि अभिभावकद्वारा स्वास्थ्य परीक्षण र अवलोकन, हाइजेनिक खाना, रोग प्रतिरोधि क्षमता विकास र अन्य संक्रमणबाट बचाउन सक्ने पोसिलो खानामा विद्यालय तथा अभिभावकले विशेष ध्यान दिनपर्छ । बारम्बार छोइने रेलिङ, ढोका, खेलकुद सामग्री, पाठयसामग्री, कक्षाकोठा, बस, क्यान्टिन लगातार सफा गर्नपर्छ । विद्यार्थी, शिक्षक र कर्मचारी स्वास्थ्य जाँचपछि मात्र विद्यालय प्रवेश गराउनुपर्छ ।
विद्यालय भौतिक रूपमा पठनपाठन गर्नेगरी खुल्दै गर्दा सुरक्षा मापदण्ड कागजी बनेका छन् । अनावश्यक भिजिटर नल्याउन, कोठाभित्रभन्दा बाहिर चौरमा वा खुला ठाउँमा कक्षा सञ्चालन गर्नुपर्छ । कक्षाकोठा र फर्निचरको व्यवस्थापनसँगै प्रवेशद्वारमा सेनिटाइज र ज्वरो नाप्ने, बसमा भौतिक दूरी, सिफ्ट वा आलोपालोमा पढाउने, नर्सदेखि आइसोलेसनको व्यवस्था गर्ने व्यवहारतः भएनन् । अनिवार्य मास्क, एक बेन्चमा दुई जना र कोठामा आधा, पकेट सेनिटाइजर बोक्ने, खाजा र पानीको आफंैले व्यवस्था गर्ने नभए क्यान्टिन र क्याफ्टेरियाको स्वस्थता, ब्रेक नगर्नेजस्ता मापदण्डमा ध्यानै नदिँदा शैक्षिकसंस्था कोरोनाको हब हुन सक्छन् ।
अन्तमा, बालबालिकाको सिकाइलाई निरन्तरता दिन विद्यालय, स्थानीय तहअनुसार सकारात्मक तथा सबल पक्षको खोजी गर्दै मापदण्डसहित पठनपाठन सञ्चालन गर्न सकिन्छ । तथापि, जनस्वास्थ्यका मापदण्ड व्यवहारतः लागू गर्न, गराउन र अपनाउन नसक्ने हो भने नसोचेको धनजनको क्षति हुन सक्ने भएकाले भौतिक उपस्थितिको कक्षा सञ्चालन बन्द गरी वैकल्पिक उपाय अपनाउनुपर्छ ।






