कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

 

काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा एकिकृत समाजवादी निकट मानिने कर्मचारीहरुले बबरमहलमा रहेको एमाले निकट निजामती कर्मचारी संगठनको केन्द्रिय कार्यालय कब्जा गर्ने प्रयास गरेपछि दुई पक्षबीच भनाभन र झण्डै हात हालाहालको स्थिति भएको थियो । दुबै पक्षले संगठनको कार्यालयमा दावी गरेपछि प्रहरीले अप्रिय स्थिति आउन नदिन संगठनको कार्यालयमा तालाबन्दि गरिएको जनाएको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार प्रसाद देवकोटा, वरिष्ट उपाध्यक्ष लेखनाथ कोइराला, उपाध्यक्ष भवानी दाहाल लगायतका पदाधिकारीहरु संगठनको कामको सिलसिलामा कार्यालयमा रहेको अवस्थामा नेकपा एकिकृत समाजवादी निकट मानिने संगठनकै पुर्व अध्यक्ष मोहन कुमार घिमिरे, महासचिव रेवन्त गौतम, शरणकुमार गुरुङ, राजन रेग्मी लगायतको समुह कार्यालयमा पुगेर कार्यालय कब्जा गर्ने प्रयास गरेका थिए । सोही क्रममा दुबै पक्षवीच भनाभन र विवाद भएको थियो । त्यसलगत्तै आएको प्रहरीको समुहले हस्तक्षेप गरि दुबै पक्षलाई पक्राउ गरेको हो । एमाले निकट संगठनका पदाधिकारी सहित ६० जनालाई पक्राउ गरिएको थियो भने संगठनकै असन्तुष्ट एकिकृत समाजावादी समर्थक ४७ जनालाई पक्राउ गरिएको थियो । असन्तुष्ट पक्षले एमाले विरुद्ध नाराबाजी गरेका थिए ।

संगठनका तत्कालीन महासचिव रेवन्त गौतमलाई सिमित पदाधिकारीको भेलामार्फत केहि दिन अघि मात्रै संगठनकै अध्यक्ष घोषणा गरिएको थियो । तर निजामती कर्मचारी संगठनको बहुमत सदस्यले त्यसलाई अवैध मान्दै आइरहेको छ । गौतमले नेपाल निजामति कर्मचारी संगठनले गर्ने कार्यक्रम बहिष्कार गर्दै आइरहेका थिए । उनले भने संगठनको आधिकारिक अध्यक्ष आफै भएको दावी गरेका छन् । महासचिव गौतमले आफु फुटको पक्षमा नभएको तर संस्थापन पक्ष आफैले फुटपरस्त नीति अपनाएकाले समस्या आएको बताए । कर्मचारी संगठनले पनि महाधिवेशनको लागि वर्तमान अध्यक्ष देवकोटाकै अध्यक्षमा आयोजक कमिटि बनाइसकेको छ ।

नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले संगठनको कार्यालयलाई केहि अनधिकृत व्यक्तिहरुले कब्जा गर्ने प्रयास गरेपछि आफुहरुले त्यसको प्रतिरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको बताए । अध्यक्ष देवकोटाले बहुमत सदस्य आफुहरु सँगै रहेका दावी गर्दै आफुहरु नै संगठनको आधिकारिक भएको दावी गरे । उनले असन्तुष्ट समुहलाई कानुनी लडाइमा जान चुनौती दिए ।

संगठनकी उपाध्यक्ष भवानी दाहालले प्रहरीले आफु लगायत अध्यक्ष देवकोटा, वरिष्ट उपाध्यक्ष लेखनाथ कोइराला लगायत ६० जना भन्दा बढि कर्मचारीलाई विनाकारण पक्राउ गरि आतंकित पार्ने प्रयास गरेको बताइन् । उता महासचिव रेवन्त सहित पुर्व अध्यक्ष घिमिरे, शरण गुरुङ लगायत ४७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले संगठनका दुई पक्षबीच झडप हुन सक्ने भएकाले उनीहरुकै सुरक्षाका लागि केहि समय नियन्त्रणमा लिएर छोडिएको बताए । पक्राउ परेका १ सय जनालाई सोमबार राती अवेर छोडिएको छ । प्रमुख जिल्ला अधिकारी रिजालले दुबै पक्षलाई भनाभन र विवादमा उत्रनु भन्दा पनि कानुनी लडाईमा जान सुझाएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 133 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक वर्षमा सुदूरपश्चिमबाट १३ सय बढी बेपत्ता

कुरी-कुरी