काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उनले रुलिङ गरेका हुन् ।
एमालेले संसद्को अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ । एमालेले प्रतिनिधिसभाका सभामुखको भेदभावका कारण आफ्नो दल विभाजन भएको र एकीकृत समाजवादीका सांसद राष्ट्रिय सभामा उपस्थित भएकाले बैठक अघि बढ्न नसक्ने तर्क गर्दै आएको छ । एमालेको अवरोधबीच राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले बजेट अघि बढाएका थिए । राष्ट्रिय सभाले बिहीबार नै बजेट पारित गरेको छ ।
एमालेले लामो समयदेखि उठाएको विषयमा छलफल गर्न उनले प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन् । ‘म नेपाल सरकार, प्रधानमन्त्रीलाई यो समस्या समाधानका लागि वार्ता र सहमतिबाट अग्रसर हुन आग्रह गर्दछु,’ तिमिल्सिनाले बैठकमा रुलिङ गर्दै एमाले सांसदहरूलाई बस्न आग्रह गरे ।
तर उनीहरू बैठक अवधिभर उभिए । राष्ट्रिय सभामा एमाले सांसदहरूले रोस्टम घेराउ र नाराबाजी गरेनन् । एमाले सांसदहरूले उठाएको विषय राष्ट्रले सुनेको उल्लेख गर्दै तिमिल्सिनाले संवादबाट समाधान निकाल्न एमालेलाई पनि सुझाए । ‘तपाईंहरूले उठाएको कुरा राष्ट्रले सुनेको छ । छलफल र संवादबाट समाधान निस्कने हो,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘छलफलको माध्यममा जाऔं । हाउस नियमित गर्दा राम्रो हुन्छ ।’
राष्ट्रिय सभाका अध्यक्षले रुलिङ गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा संसद् भवनमै भए पनि बैठकमा सहभागी भएनन् । उनी प्रतिनिधि सभाको बैठकमा भने सहभागी थिए । प्रतिनिधिसभा बैठकका सभामुख अग्नि सापकोटाले भने एमाले सांसदहरूलाई अदालतमा विचाराधीन विषय संसद्मा नउठाउन ध्यानाकर्षण गराए । तर, एमाले सांसदहरूले प्रतिनिधि सभामा रोस्टम घेराउ र नाराबाजी जारी राखे ।