बढ्दै लागूऔषध चरेसको अन्तर्राष्ट्रिय कारोबार

काठमाडौं । लागूऔषध चरेसको अन्तर्राष्ट्रिय कारोबारमा गिरोह नै सक्रिय रहेको पाइएको छ । त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय बजारमा विभिन्न प्रकारका हस्तकलाका सामान पठाउँदा कार्गो गरी लागू औषध चरेससमेत निर्यात गर्ने गरेको खुलेको छ ।

धमाधम पक्राउ पर्दै गिरोह

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले यस्ता कारोबारमा संलग्न गिरोहलाई धमाधम पक्राउ गर्दै गएपछि यसको पुष्टि भएको हो ।

ब्युरोले गत १४ असोजमा नेपालबाट हङकङ चरेस कारोबार गर्ने गिरोहलाई नै पक्राउ गरेको हो । सुरुमा एक जनालाई पक्राउ गरेको ब्युरोले अनुसन्धानका क्रममा सात जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले नेपालबाट हङकङ चरेस कारोबार गर्ने सात जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए ।

यस्तै, यसअघि गत ५ असोजमा समेत प्रहरीले कपनबाट विदेशमा चरेस कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको थियो । त्यसबखत नौ जना पक्राउ परेका थिए । कपनस्थित हस्तकलाका सामान उद्योगबाट प्रहरीले ७ किलो ६ सय १४ ग्राम चरेससहित ओसारपसारमा संलग्न गिरोहलाई नै पक्राउ गरेको जनाएको छ । उनीहरूले चकटी र डायरीसहितका हस्तकलाका सामग्रीभित्र चरेस राखेर हस्तकलाका सामानका रूपमा विदेश पठाएको खुलेको थियो ।

यसअघि उनीहरूले यसरी नै अचारको भाँडोमा समेत चरेस राखेर भारत हुँदै हङकङ, थाइल्यान्ड, टर्कीलगायतका देशमा लागूऔषध ओसारपसार गर्दै आएको पाइएको अनुसन्धानमा खुलेको छ ।

ब्युरो र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले १४ असोजमा पुनः ललितपुर मानभवनस्थित ब्लुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ७ किलो ९ सय ७७ ग्राम चरेस र नगद १ लाख बरामद गरेको हो । सो चरेस थांका र विभिन्न प्रकारका काठका सामग्रीभित्र लुकाइराखिएको अवस्थामा नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।

सो क्रममा प्रहरीले ३ किलो ५० ग्राम चरेससहित अञ्जित थापालाई पक्राउ गरेको थियो । उर्लाबारी–८ घर भएका उनी पक्राउ परेपछि अनुसन्धानका क्रममा सुनकोसी गाउँपालिका–५ घर भई हात्तीवन बस्दै आएका सुजन श्रेष्ठ पक्राउ परेका थिए । थापालाई उनले नै चरेस दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यसपछि प्रहरीले चरेस तस्करको जालोभित्र पस्न सफल भएको थियो । सो क्रममा प्रहरीले सुजनलाई चरेस दिने लिखु गाउँपालिका–५ सिन्धुपाल्चोकका ४१ वर्षीय जालिन्द्र श्रेष्ठलाई पक्राउ गर्न सफल भएको थियो ।

प्रहरीले उनको कोठाबाट थांकामा प्रयोग हुने आयातकार आकारको काठको ९६ थान लिस्टिकभित्र लुकाएर राखेको २ किलो ४० ग्राम चरेस बरामद गरेको हो ।

थप अनुसन्धान गर्दै जाँदा प्रहरीले बौद्ध बस्दै आएका दिनदयाल महतो र दीपेन्द्र महतोलाई पक्राउ गरेको जनाएको छ । उनीहरूको साथबाट ब्युरोले सानो थांकामा प्रयोग हुने आयातकार आकारको काठको लिस्टिक १ सय १३ थानमा लुकाई राखिएको २ किलो ८ सय ७५ ग्राम लागूऔषध चरेस नियन्त्रणमा लिएको हो ।

सोही क्रममा प्रहरीले जालिन्द्र श्रेष्ठ र सुजन श्रेष्ठलाई चरेस बिक्री गरेको आरोपमा पक्राउ गरेको जनाएको छ । यस्तै, सोही समूहमा जोडिएका रवि मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको कोठाबाट प्रहरीले ९ ग्राम ५ सय मिलिग्राम चरेस बरामद गरिएको जनाएको छ ।

त्यसपछि प्रहरीले कलंकीबाट मोक्तानलाई लागूऔषध चरेस उपलब्ध गराउने थाक्रे गाउँपालिका–३ धादिङका २३ वर्षीय मोतीलाल तामाङलाई २ ग्राम ५ सय मिलिग्राम चरेससहित पक्राउ गरेको भनेको छ ।

पक्राउ परेकाहरूउपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत म्याद थप गरी आवश्यक थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

epaper

ताजा समाचार

बालिका करणी अभियोगमा बिपिन पक्राउ