भने जस्ताे प्रेमी पाइनन् रीनाले


यो एक दशकको अवधिमा उनले १४ सय हाराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । चाँडबाडमा उनको ‘हाइ डिमान्ड’ हुन्छ । विशेषतः तीज र दसैं–तिहारमा सबैको माग पूरा गर्न सक्दिनन् । पछिल्लो दुई वर्ष कोरोनाले उनको पेशामा धक्का दियो, यद्यपि विस्तारै बौरिदै गएको उनको बुझाइ छ ।

उपत्यका वरिपरिको समुदाय लोकदोहोरीमा रमाउँछन् । सुरुका दिनमा अभिभावकको चाहना पूरा गर्न नृत्य रोजेको रीना बताउँछिन् । टिभीमा अरुका छोराछोरी नाँचेको देखेपछि हाम्रा छोरीहरू पनि यसरी नै नाँचिदिए हुन्थ्यो भन्ने अभिभावक लीलाबहादुर थापा र इन्द्रकुमारीको चाहना थियो । बाबुआमाको रहर पूरा गर्न रीना सानैदेखि नृत्यमा रमाउन थालिन् ।

आफ्नी छोरीलाई टिभीमा हेर्ने लीलाबहादुरको चाहना पूरा मात्र भएन, प्रतिभाको आँगनमा सर्वोत्कृष्ट भएबापत १ लाख ११ हजार नगदसमेत रीनाले जितिन् । उनी भन्छिन्, ‘पुरस्कारले पे्ररणा दियो । त्यही प्रेरणाले कलाकार बने, नृत्यलाई पेसा बनाएँ । अब यसलाई व्यवसायमा रूपान्तरण गर्छु भन्ने मेरो योजना हो ।’

लोकदोहोरीका मोडलहरूलाई हाम्रो समाजले कसरी हेर्छ भन्ने जिज्ञासामा रीना भन्छिन्, ‘अहिले पनि लोकदोहोरी कलाकार भनेपछि ओठ लोपार्ने चलन छ । तर, चलचित्रका अभिनेत्रीहरू नै अभिनय गर्न थालेपछि लोकदोहोरीमा आकर्षण थपिएको छ । त्यत्ति मात्र होइन, समय परिवर्तनशील छ, त्यही परिवर्तनले लोकदोहोरी मोडलहरूलाई पनि पैसा र इज्जत दिन थालेको छ ।’

झन्डै एक दशकअघि नेपाल टेलिभिजनबाट प्रसारण हुने प्रतिभाको आँगन कार्यक्रममा रीना थापामगर सर्वोत्कृष्ट भइन् । त्यसबेला उनी पाँचखाल नगरपालिकाको कोसीदेखामा रहेको श्रीराम माविमा अध्ययन गर्दै थिइन् । अहिले उनले नृत्यलाई पेसा बनाएकी छन्, नृत्य नै विषयमा उच्च शिक्षा हासिल गर्दै छिन्

लोकनृत्यमै पद्मकन्या क्याम्पसबाट डिग्रीको अध्ययन गर्न तयारी गरिरहेकी रीनाले भनिन्, ‘नेपालको भाषा, संस्कृति र परम्परा विशिष्ट छ । हाम्रो विशिष्टता नरुचाउने यो संसारमा सायदै होलान् । हामीकहाँ दक्षिण र पश्चिमी संस्कृतिको प्रभाव केही समय रह्यो तर आफ्नै मौलिकतामा रमाउनेहरूको जमात यहाँ ठूलो छ ।’

त्यसो त सूचना प्रविधिले पनि हाम्रो मौलिकतालाई प्रोत्साहनमा ठूलो सहयोग पुगेको छ । अहिले हातहातमै लोकगीत सुन्ने होइन, हेर्न सकिन्छ । हरेक समय कालखण्डको राम्रा र नराम्रा पक्ष हुन्छन् । लोक संस्कृतिको नाममा विकृतिहरू छन्, तर त्योभन्दा बढी सकरात्मक पक्ष रहेकाले मौलिकतामै रमाउन रीना आग्रह गर्छिन् ।

रीना लोकगीतमा मोडल मात्र होइन, सबै किसिमका नृत्यमा पारंगत छिन् । उनलाई पूर्वको मारुनी, तराईको मैथिली, उपत्यकाको चर्या र काँठेदेखि लिएर थारू र सुदूरपश्चिमको देउडा नृत्यमा समेत रमाउन सक्छिन् । पछिल्लो समय लोकदोहोरीमा उनी रमाइरहेकी छन् ।
नृत्यमा परांगत भएकैले उनको डिमान्ड देश–प्रदेशसम्म छ । उनले जापान, हङकङ, कोरिया, मलेसिया, कतार, दुबई, बंगलादेशलगायत दर्जन देशमा पुगेर नेपाली लोक संस्कृतिको प्रवद्र्धन गरिरहेकी छन् । सामान्य अवस्था हुँदा नेपालको विभिन्न ठाउँमा सांस्कृति कार्यक्रम लिएर महिनामा एकपटक हिँड्नुपर्ने उनको रुटिन नै बनेको थियो ।

उमेरले तीन दशक टेक्न लागिन्, सिंगल छिन् उनी । ‘रिलेसनमा बसौं, विवाह गरौं भन्ने प्रस्ताव प्रशस्त आएका थिए,’ रीना भन्छिन्, ‘सबै कुराले फिट छु, चित्त बुझ्दो प्रस्ताव आएको छैन, अबका दिनमा आएछ भने विचार गरौंला । एउटा रोजेको छु, तर, त्यसलाई जीवन साथी बनाउन सक्दिनँ ।’ त्यसो त मान्छेको जन्म, मृत्यु र विवाह सोचेजस्तो कहाँ हुन्छ र !’ उनी थप्छिन् ।

‘सम्पत्ति सबै कुरा होइन, सामान्य जीवन बाँच्न पुग्ने सम्पत्ति भए हुन्छ तर मेरो भावना बुझिदिने, समझदार, सधैंभरि मलाई मात्र माया गर्ने भए पुग्छ । फिजिकल्ली चाहिँ ऊ ठिक्कको हाइट, चट्ट जँुगादारी र हेर्दा आकर्षक होस् । यो चाहिँ मेरो जीवनसाथीको मापदण्ड हो ।’
‘हाम्रो परिवारमा पाँच दिदीबहिनी मात्र छौं, त्यसमध्ये तीन दिदीहरूको आफ्नै घरगृहस्थी छ । बुबाआमा, एउटी दिदी र म मात्र परिवारमा छौं । यसपटक पनि दसैंंमा कतै जाने वातावरण भएन । गत वर्ष पनि घरमै दसैं बित्यो । त्यसभन्दा अघि दसैंं देश–प्रदेशमा बिताइयो,’ उनले भनिन् ।

‘दसैंंमा हाम्रो प्रिय खाना मासु नै हो । मासु पनि बंगुरको स्वादिलो लाग्छ । खाना बनाउने ढंग मेरो छैन, म पकाएको खाने मात्र हुँ । खाना बनाउन मेरी दिदीको तदारुकता लोभलाग्दो छ । तर, मासु पोल्न आउँछ मलाई, पोलेको मासु मीठो पनि लाग्छ । यसपटकको दसैंंमा पनि पोलेको मासुसँग हल्का पेय पदार्थ लिँदै तास खेल्ने योजना छ । तासपत्ती र चली फलास खेलिन्छ, त्यत्रो ठूलो पैसाको हारमार हुँदैन, रमाइलोका लागि मात्र खेल्ने हो,’ रीना भन्छिन् ।

‘मेरो विचारमा घुम्ने, मान्यजनलाई भेटेर आशीर्वाद लिने समय आइसकेको छैन । घरमै पनि स्वास्थ्य मापदण्ड पूरा गरेर दसैंं मनाउनुपर्ने अवस्था छ । म चाहिँ घरमै भए पनि स्वास्थ्य मापदण्ड पूरा गरेर दसैंं मनाउँछु, तपाईंहरू पनि त्यसै गर्नु हुन्छ भन्ने आशा राख्छु । सबैको दसैंं खुसी साथ बितोस्, बडा दसैंंको शुभकामना !’ रीनाले सबैलाई आफ्नो तर्फबाट शुभकामना सुनाइन् ।
तस्बीरहरूः च्याङ्बा लामा

ड्रेसः स्वास्तिका फेसन हाउस
मेकअपः सरिता मगर ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केपी ओलीको गृहनगरमा एमालेको विजयी सुरुवात