काठमाडौं । अन्तरराष्ट्रिय नेपाली कलाकार समाज इनासको चौथो महाधिवेशनले इनास परिकल्पनाकार पुष्प बरुवाललाई सर्वसम्मतले ग्लोबल अध्यक्षमा पुनः निर्वाचित गरेको छ । बरुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
सोही अवसरमा नेपाली चलचित्रलाई आजको स्थानसम्म ल्याईपुर्याउन आ–आफ्नो विधाबाट अतुलनीय योगदान दिने कलाकार शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल, गौरी मल्ल, करिश्मा मानन्धर र संगीतकार शम्भुजीत बासकोटालाई ‘इनास विशिष्ट कलाकारिता सम्मान’ द्वारा सम्मान गरिएको छ ।

इनासद्वारा आयोजित दोस्रो अनलाईन नृत्य एवम् गायन प्रतियोगिताका दुवै विधाका विजयीहरूलाई नगद क्रमशः १ लाख, ५० हजार, २५ हजार र ट्रफीसहित पुरस्कृत गरिएको संयोजक दयाराम पाण्डेयले जानकारी दिए । त्यस्तै उत्कृष्ट काम गर्ने इनासका विभिन्न समितिलाई समेत पुरस्कृत गरिएको थियो ।
नेपाली कला, सस्कृति, भाषा, साहित्यको उत्थान र प्रबर्द्दनका साथै नेपाली चलचित्रको विश्वव्यापी बजार बिस्तारमा कृयाशील इनासले भुकम्प जाँदा र कोभिडको समयमा गरेका विभिन्न सामाजिक कार्यहरूको भिडियो समेत प्रस्तुत गरिएको थियो । जुन कार्यक्रमको सहभागीले प्रशंसा गरेका थिए । इनासकर्मीलाई स्तुपा सामुदायिक अस्पताल जोरपाटीमा उपचार गर्दा र राईजिङ मलमा सपिङ गर्दा २५% छुटको दुईपक्षीय सम्झौता पनि गरिएको थियो ।

चलचित्र विकास बोर्ड्का अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा कलाकार, पत्रकार, प्राविधिक, नेपाली चलचित्रसंग सम्बन्धित अध्यक्ष एवम् प्रतिनिधि देखि एनआरएनए अध्यक्ष कुमार पन्त सम्मको सहभागिता थियो ।






