बालविवाह न्यूनीकरणमा पहल गर

कालिकोट सास्कोटकी रामपुरा विक २४ वर्षकै कलिलो उमेरमा चार सन्तानकी आमा बनिसकेकी छन् । १४ वर्षकै उमेर उनको विवाह भएपछि १० वर्षभित्रै चार सन्तानकी आमा बनेकी रामपुराले कक्षा ८ मा पढ्दै गर्दा प्रेमविवाह गरेकी थिइन् । चार सन्तान साथमा भए पनि छोरो पाउने आशामा उनले तीन सन्तानको गर्भपात गरिसकेकी छन् । सुन्दा पनि निकै असहज र अप्ठेरो लाग्ने यो यथार्थता नेपाली समाजमा अहिले पनि विद्यमान छ । नेपालमा पिछडिएका इलाकाहरूमा अहिले पनि कानुन र जनस्वास्थ्यका कुरा दन्तेकथासरह नै बनिरहेका छन् । ‘हो रे’ र ‘छ रे’ भन्ने कुरा सुन्नमा आए पनि व्यवहारमा भने कार्यान्वयन हुन सकिरहेका छैनन् । त्यसका पछाडि आर्थिक, सामाजिक तथा सांस्कृतिक कारणहरूले निकै ठूलो काम गरिरहेका छन् । समाजमा चलिआएको मान्यता सामाजिक कानुनसरह हुन्छ । यो उक्त समाजमा सहज मात्र होइन, मान्य र स्वीकार्य पनि हुन्छ । सामाजिक प्रथा परम्परा कतिपय ठाउँमा सामाजिक कानुनसरह कार्यान्वयन गरिँदै पनि आएका छन् ।

मूलतः अशिक्षाका कारण सामाजिक व्यवहारमा दोहोरिरहने रामपुराहरूको जीवन पिछडिएको नेपाली समाजका द्योतक पनि हुन् । बालविवाह यिनीहरूलाई कमै मात्र थाहा हुन्छ । बाबाआमाहरूले नै घरमा छोरीहरू १४÷१५ वर्षको उमेर टेक्दै गर्दा ‘रहरको बिहे गर्ने’ भइसकेकी जस्ता कुराहरू उनीहरूकै अगाडि हाँसो ठट्टाका रूपमा गरिदिन थाल्छन् । यसले निर्माण गर्ने मनोविज्ञान कम खतरनाक हुँदैन । तर, यसमा स्वयं अभिभावको नै ख्याल पुगेको हुँदैन । जनचेतनाको अभावमा हुने यस्ता सामाजिक काम तथा व्यवहारले समाजलाई अझै पछाडि धकेल्ने काम गरिरहेको छ । यिनै चेलीहरू छोरा नभए अपुत्री भइन्छ भन्ने सामुदायिक कुसंस्कारले गर्दा पटकपटक गर्भपतनजस्ता डरलाग्दा समस्याबाट प्रताडित हुँदै आएका छन् । यिनीहरूलाई प्रजनन तथा महिलाअधिकारका कुरा थाहा छैन । महिला प्रजनन स्वास्थ्य’boutमा थाहा छैन । थाहै भए पनि आर्थिक तथा अन्य विभिन्न समस्याले उनीहरूलाई यसको सीमाभित्र रहन दिँदैन ।

सामान्य कखरा पढेपछि अब त ‘आँखा देख्ने भइसकी’ वा ‘छोरीले धेरै पढ्न र जान्नहुँदैन’भन्ने मानसिकताले पनि अन्जानमा धेरै हानि गरिरहेको छ । छिटो विवाह गरेपछि राम्रो लगाउन पाइन्छ, मीठो खान पाइन्छ भन्नेजस्ता आर्थिक आश्वासन र विवशताले पनि बालविवाहप्रति किशोरीको अनजानमा ध्यान तानेको देखिन्छ । कतिपय अवस्थामा घरमा हुने आमाबाबाबीचको निरन्तर झैंझगडा र कुटपिटले पनि चेलीहरूलाई बालविवाहको विकल्प रोज्न बाध्य पारेको देखिन्छ । अर्कोतिर केटाहरू पनि बालविवाहमा बाँधिइरहेका हुन्छन् । विवाह गरेर घरमा काम गर्न श्रीमती भित्र्याएपछि विदेश गएर कमाइ गर्न सकिने धारणाले पनि बालविवाहलाई प्रोत्साहित गरिरहेको छ ।

मुुलुकमा संघीय शासनअन्तर्गत संघ, प्रदेश र स्थानीय गरी तीनवटा सरकार सञ्चालन भइरहँदा पनि ती सरकारहरू बालविवाह जस्तो कुसंस्कारलाई पूर्णरूपमा अन्त गराउन असफल हुँदै आइरहेका छन् । अब तिनै तहका सरकारले समन्वयात्मक रूपमा बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न ढिलाई गर्नुहँुदैन । बालविवाहको न्यूनीकरण र अन्त्यका लागि सामाजिक जनचेतना ल्याउने खालका कार्यक्रमका साथै आर्थिक तथा सामाजिक र सांस्कृतिक उन्नयन हुने खालका योजना जनताका घरदैलोमा लैजान जरुरी छ । बिना नीति र कार्यक्रम मापदण्डका कुरा गरेर मात्र बसिरहने हो भने रामपुराजस्ता चेलीहरू बालविवाह गर्न बाध्य भइरहने देखिन्छ । यसका लागि तीनवटै सरकारले गम्भीरताका साथ सोच्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जाजरकाेट ९ अध्यक्षमा एमालेका दानबहादुर शाही विजयी