काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीको नाफामा १५ प्रतिशत कर लगाइने सहमति भएको छ । विश्वका प्रमुख २० अर्थतन्त्रका नेताहरूबीच ठूला व्यवसाय अर्थात बहुर्राष्ट्रिय कम्पनीहरूको नाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने सहमति भएको हो ।
बहुर्राष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्नो नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने विषय बाहिर आइरहेको बेला २० देशका नेताहरूले सो सम्झौता अनुमोदन गरेको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकाले प्रस्ताव गरेको करसम्बन्धी सम्झौता आधिकारिक रूपमा आइतबार स्वीकृत गरिने र सन् २०२३ बाट लागू हुने बताइएको छ । अमेरिकी अर्थमन्त्री जानेट यालेनले ऐतिहासिक सम्झौता विश्व अर्थतन्त्रका लागि महŒवपूर्ण क्षण रहेको र यसले कर्पोरेट करको तल्लो तहसम्मको हानिकारक दौड अन्त्य गर्नेुु बताएकी छन् ।
उनले ट्वीटरमा लेख्दै भनेकी छन्, ‘अमेरिकाका ठूला कम्पनीहरूले बढी कर तिर्नुपर्ने भए पनि अमेरिकी व्यवसाय र श्रमिकहरूलाई करसम्बन्धी सम्झौताबाट लाभ हुन्छ ।’ इटलीको रोममा जारी विश्वको प्रमुख २० अर्थतन्त्रको सम्मेलनमा सहभागी नेताहरूले सो सम्झौतामा सहमति जनाएका हुन् ।
तर, १९ वटा राष्ट्र र युरोपेली संघ सदस्य रहेको जी–ट्वेन्टी समूहको सम्मेलनमा दुई जना नेता भने सहभागी भएका छैनन् । चीनका सी जिनपिङ र रुसका भ्लादिमिर पुटिनले सो सम्मेलनमा भिडियो लिंकमार्फत सहभागिता जनाएका हुन् ।






