‘आबुधाबी डायलग’मा नेपालका पाँच मुद्दा, कामदारको तलब बढाउन माग

काठमाडौं । नेपालले ‘आबुधाबी डायलग’को छैठौं मन्त्रिस्तरीय बैठकमा विदेशमा कार्यरत नेपाली कामदारको न्यूूनतम तलब वृद्धिको माग गरेको छ । कामदार पठाउने र लिने मुलुकहरूबीच भएको बैठकमा नेपालले श्रमिकलाई कार्यस्थलमा सुरक्षा प्रत्याभूति गराउनुपर्नेलगायत विभिन्न पाँचवटा प्रमुख मुद्दालाई उठाएको थियो ।

सो बैठकमा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णप्रसाद श्रेष्ठ (किसान)ले नेतृत्व गरेका थिए । गत २५ देखि २९ अक्टोबरसम्म दुबईमा भएको बैठकमा मन्त्री श्रेष्ठले नेपाली कामदारको हकहितका पक्षमा महत्वपूर्ण विषय उठान गरेको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

बैठकको एजेन्डा तय गर्न बसेको वरिष्ठ अधिकारीका लागि भएको छलफलमा श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले नेपालको तर्फबाट कोभिड–१९ को कारण आप्रवासी कामदारले भोगेका समस्या समाधानका लागि पहल गर्न आप्रवासी श्रमिक आपूर्ति गर्ने देशका प्रतिनिधिलाई विशेष आग्रह गरेका थिए ।

बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा गई स्वदेश फर्केका कामदारलाई स्वदेशमा नै पुनः एकीकरण गर्न सहयोग गर्न रोजगारदाता मुलुकहरूसँग आग्रह गरे । वैदेशिक रोजगारीमा गएर फर्किएकालाई देशमै पर्याप्त अवसर दिलाउन र समाज तथा परिवारका एकीकृत भएर बस्न उचित वातावरण निर्माण गर्न जरुरी रहेको उनको भनाइ थियो ।

उनले स्वच्छ रूपमा कामदार भर्ना प्रक्रिया सुनिश्चित गर्नका लागि कामदार पठाउने मुलुक र लिने मुलुकबीच थप सहकार्यको आवश्यकता पनि औंल्याए । यसैगरी, उनले नेपालले अहिले आफ्ना देशका कामदार वैदेशिक रोजगारीमा पुग्ने क्रममा ठगिने क्रम अझै कम नभएको भन्दै त्यसका लागि सरकारीस्तरमै स्वच्छ भर्ना प्रक्रियाका लागि समझदारी र सहकार्य हुनुनपर्नेमा जोड दिएको बताए ।

मन्त्री श्रेष्ठले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न पनि माग गरे । उनले श्रमिकहरू कार्यस्थलमा दुर्घटना र स्वास्थ्य समस्यालगायतबाट पीडित भइरहेको र धेरैको ज्यानसमेत जाने र अंगभंग हुने अवस्था रहेकाले त्यसतर्फ रोजगारदाता मुलुकले थप ध्यान दिनुपर्ने विषयलाई नेपालले बैठकमा निकै जोडकासाथ उठाएको बताए ।

मन्त्री श्रेष्ठले बैठकमा आप्रवासी श्रमिकले सिकेको सीपको पहिचान गरी उनीहरूलाई उपयुक्त काममा मात्र लगाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए । श्रमिकले त्यहाँ हासिल गरेको सीपको उचित उपयोग गर्नेतर्फ ध्यान दिनुपर्नेमा नेपालले बैठकमा रोजगारदाता मुलुकको ध्यानाकर्षण गराएको भन्दै मन्त्री श्रेष्ठले श्रमिकको न्यूनतम तलवमान बढाउने विषयमा ध्यान दिन पनि माग गरे ।

नेपाली कामदारले न्यून तलबमा विदेशमा काम गर्नुपर्ने अवस्था अन्त्यका लागि हाल कायम रहेको तलबमानमा वृद्धि गर्नुपर्नेमा विशेष जोड दिएको जानकारी गराउँदै मन्त्री श्रेष्ठले आगामी दुई वर्षका लागि अध्यक्ष राष्ट्रको जिम्मेवारी लिएको मित्रराष्ट्र पाकिस्तानलाई बधाई दिए । यसैगरी, उनले अध्यक्ष राष्ट्रले अबुधाबी डायलगमा उठाउने विषयमा समर्थन गर्ने र अन्य सदस्य राष्ट्रहरूबीच निरन्तर सहकार्य गर्ने बताए ।

सोही बैठकमा सहभागी हुने क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरव इमिरेटस (यूएई)का मानव संशाधन तथा इमिरिटाइजेसन मन्त्रीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा द्विपक्षीय श्रम सम्बन्धमा विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । यसैगरी, मन्त्री श्रेष्ठले कतार, साउदी अरेबिया र मलेसिया सरकारका समकक्षीहरूसँग द्विपक्षीय श्रम सम्झौताका विषयमा छलफल गरेका थिए ।

‘समग्रमा अबुधाबी डायलगको छैठौं संस्करणमा नेपालको तर्फबाट मन्त्रीको नेतृत्वमा सहभागिता जनाउनुले नेपालको वैदेशिक रोजगार व्यवस्थापनको क्षेत्रमा राम्रो उपलब्धि हासिल भएको छ,’ प्रवक्ता घिमिरेको भनाइ थियो । सो बैठकमा श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल, यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल र श्रम काउन्सिलर निर्मला थापा पनि सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 358 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन, समाजवादी समेटिएन