सातदोबाटो र फ्रेन्ड्सको बराबरी

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएको ललितपुर डर्बीको नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १० खेलाडीमा समेटिएको फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा रोक्दै अंक खोस्न सफल भएको हो ।

‘ए’ डिभिजनमा डेब्यु खेल खेलिरहेको सातदोबाटोले फ्रेन्ड्सलाई दबाबमा राखे पनि गोल गर्ने सुन्दर मौकाको सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । खेलको ११औं मिनेटमा सातदोबाटोका कप्तान मानबहादुर तामाङले डि बक्समा दिएको पासलाई सुशील राईले पोस्टको दिशा दिन सकेनन् । १९औं मिनेटमा अनिल महर्जनको खराव ट्याकलमा परेका सातदोबाटोका सिफामन्डला एसेलो २३औं मिनेटमा मैदान छाड्न बाध्य बने ।

१९औं मिनेटमा आकाश बुढामगरको फ्रिकिक पोस्टमाथिबाट बाहिरियो । ५७औं मिनेटमा सातदोबाटोका कप्तान मानबहादुरको प्रहार गोलरक्षक पन्च गर्दै बचाए । ५९औं मिनेटमा सकल रेग्मीको प्रहार क्रस बारमा लागेर फर्किँदा फ्रेन्ड्सले अग्रता बनाउने सुन्दर मौका गुमाउन पुग्यो । ६६औं मिनेटमा फ्रेन्ड्सका जमौला एन्थोनिले डि बक्स बाहिरबाट गरेको प्रहार सातदोबाटोका डिफेन्डर पिटर सेगुनलाई रिफ्लेक्ट हँुदै गएको बललाई गोलरक्षकले मुस्किलले पन्च गर्दै बचाए । ७५औं मिनेटमा सातदोबाटोको प्रशान्त अवस्थीको प्रहार पोस्टको नजिकैबाट बाहिरियो ।

७६औंं मिनेटमा रोनियल एन्थोनी पउल दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा समेटिन पुग्यो । ८२औं मिनेटमा निरज चौधरीको प्रहारलाई गोलरक्षक राहुल रामचन्द्र यादवले बचाए । रिवाउन्डमा पुनः चौधरीले प्रहारले पोस्टको दिशा लिन सकेन । यो नतिजासँगै दुवै टोलीले १–१ अंक जोडेका छन् । लिगमा शनिबार दुई खेल हुनेछ । दिउँसो १ बजे हुने खेलमा हिमालयन शेर्पा र संकटा क्लब तथा दोस्रो खेलमा च्यासल युथ क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा १४ टोलीको सहभागिता रहेको छ । दुई टोली दोस्रो डिभिजनमा घटुवा हुनेछ । लिगको विजेताले ७५ तथा उपविजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले २५ लाख पाउनेछन् । हरेक खेलको विजेताले ५० हजार पाउनेछन् । खेल बराबरीमा सकिए दुवै टोलीले २५–२५ हजार पाउनेछन् । २०५२ देखिको लिगमा ५ विधामा पुरस्कार दिँदै आएको यसपटक व्यक्तिगत विधाभन्दा उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लोभ्स र २ लाख, गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) मोस्ट भ्यालुएवललाई ३ लाख र राइजिङ प्लेयरलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

शनिबार हुने खेल
हिमालयन शेर्पाविरुद्ध संकटा दिउँसो १ बजे
च्यासलविरुद्ध थ्री स्टार दिउँसो ४:४५ बजे

तपाइको प्रतिक्रिया
(Visited 365 times, 1 visits today)

epaper

ताजा समाचार

विश्वकप फुटबलः फ्रान्स र नर्वे अन्तिम १६ मा