काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको अध्यक्ष पदमा लोक गायक विक्रमजंग शाह निर्वाचित भएका छन् । शनिबार सम्पन्न महाधिवेशनबाट उनी भारी मतले विजयी भएका हुन् ।
शुक्रबारबाट सुरु भएको संघको ५औं महाधिवेशनबाट नयाँ कार्यसमित चयनसँगै सकिएको छ । संघका अध्यक्षका अर्का उम्मेदवार नवराज ढुंगानालाई भारी मतले पराजित गर्दै गायक विक्रमजंग शाह राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा दुई वर्षका लागि निर्वाचित भएका हुन् ।
गायक शाहको नेतृत्वमा संघमा नयाँ कार्यसमिति आएको छ । संघको महासचिवमा अमृत खाती विजयी भएका छन् । महासचिवका अर्का उम्मेदवार ऋषि अधिकारीलाई हराउँदै खाती विजयी भएका हुन् ।
बाँकी पदाधिकारी भने निर्विरोध चयन भएका छन् । जसमध्ये संघको वरिष्ठ उपाध्यक्षमा गायक प्रकाश कटुवाल, उपाध्यक्षहरूमा गायिका उमा श्रेष्ठ, मिलन श्रेष्ठ, होम सुवेदी र श्यामसुन्दर धिताल निर्विरोध चयन भएका छन् ।
यस्तै, उपमहासचिवमा गायक विनोद ढकाल र जीवन परियार कोषाध्यक्ष गायक राजकुमार हुमागार्इं, सहकोषाध्यक्ष गायिका सिर्जु अधिकारी, प्रवक्तामा कुमार कार्की, सचिवमा मन्जु गौतम, सूर्य श्रेष्ठ, पनि निर्विरोध चयन भएका छन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको निर्वाचन शनिबार बेलुका सकिएको थियो । नयाँ कार्यसमितिको परिणाम आइतबार बिहानी पख आएको हो । मुलुकको सबै जिल्लामा जिल्ला समिति रहेको संघको केन्द्रीय सदस्यहरू पनि निर्विरोध निर्वाचिन भएका छन् ।
करिब ३ हजार सदस्य रहेको यो संघका नव निर्वाचित अध्यक्ष विक्रमजंग शाहले अध्यक्षमा निर्वाचित भएपछि राजधानीसँग भने, ‘देशभरका संगीतकर्मी तथा कलाकारहरूको तमाम समस्या छन् र ती समस्यालाई समाधान गर्नुपर्ने जिम्मेवारी मेरो काँधमा आएको छ ।’ उनले अगाडि थपे, ‘राज्यले बेवास्ता गरेको अहिलेको अवस्थामा अब राज्यसँग हामी संगीतकर्मीहरूले आफ्नो हकअधिकार लिनुछ । नेपाली मौलिक गीत संगीतको प्रवद्र्धनका साथै स्रष्टाको रोयल्टी दिलाउने कार्यमा म दत्तचित्तका साथ लाग्नेछु ।’






