जुरिच । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले हरेक वर्ष प्रदान गर्दै आएको वर्ष खेलाडी ‘द बेस्ट फिफा’ अवार्डको यसपालिको विभिन्न ६ विधाको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सोमबार सार्वजनिक गरेको मनोनयनमा यो वर्ष पुरुषतर्फ गतवर्षको विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ जना परेका छन् ।
मनोनयनमा लेवान्डोस्कीसँगै क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, करिम बेन्जिमा, केभिन डे ब्रुएन, एर्लिङ हालान्ड, जर्गिन्हो, एंगोलो कान्टे, केलियन एमबाप्पे, नेयमार र मोहम्मद सलाह परेका छन् । महिलातर्फ स्टिना ब्ल्याकस्टेनिअस, एइटाना बोनमाटी, लुसी ब्रोन्ज, मागडालेना इरिक्सन, क्यारोलिन ग्राहम हानसेन, पर्निल हार्डर, जेनिफर हर्माेसो, जि सु युन, साम खेर, भीभीएन मिडेमा, एलेन ह्वाइट, एलेक्सा पुटेलास र क्रिस्टिन सिनक्लेर मनोनयमा परेका छन् । पुरुष प्रशिक्षकतर्फ एन्टेनियो कोन्टे, हान्सी फ्लिक, पेप ग्वार्डिओला, रोबर्टाे मान्सिनी, लियोनेल स्कोलानी, डिएगो सिमिओन र थोमस टुचेल मनोनयनमा परेका छन् ।
महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, पिटर गेरहार्डसन, इमा हाएस, वेभर्ली प्रिइस्टमान र सरिना बेगमान मनोनयनमा परेका छन् । पुरुष गोलरक्षकमा एलिसन बेकर, जियानलुइजी डोन्नररुम्मा, इडुआर्ड मेन्डी, म्यानुयल नुयर र कास्पर स्माइकल तथा महिला गोलरक्षकमा एन कार्टिन वर्गर, क्रिस्टियन इन्डलेर, स्टेफानी लिन मारी लावी, हेडभिग लिन्डाल र एलेसा नाइहेर मनोनयनमा परेका छन् । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ । फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । भोटिङको समय १० डिसेम्वरसम्म रहेको छ ।
पेड्रीलाई ‘गोल्डेन ब्वाई अवार्ड’
स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका युवा स्टार मिडफिल्डर पेड्रीले यस वर्षको ‘गोल्डेन ब्वाई अवार्ड जितेका छन् । १८ वर्षीय पेड्रीले जर्मन क्लब बोरुसिया डर्टमुन्ड तथा इंग्ल्यान्डका जुडे बेलिङघम, बुकायो साका र मासन ग्रिनबुडलाई भारी मतान्तरले पछि पार्दै अवार्ड जित्न सफल भएका हुन् ।
पेड्रीले ३ सय १८ अंक प्राप्त गर्दा दोस्रो स्थानमा रहेका जुडे बेलिङघमले निकै कम मत पाएका थिए । अवार्डको इतिहासमा पहिलो र दोस्रो हुनेबीच यति धेरै मतान्तर भएको बताइएको छ । अवार्ड जितेपछि भिडियो सन्देशमा पेड्रीले यस ट्रफीका लागि टुटोस्पोर्ट्सलाई धन्यवाद व्यक्त गरेका छन् । ‘यो ट्रफीका लागि टुटोस्पोर्ट्सलाई धन्यवाद, जसले मलाई गर्व गर्छ र म जुरीका सबै सदस्य र समर्थकलाई पनि धन्यवाद दिन चाहन्छु, जसले मलाई सधैं समर्थन गरेको छ । जुन मेरा लागि पछिल्लो वर्ष अविश्वसनीय रह्यो ।’ म बार्सिलोना, स्पेनिस राष्ट्रिय टोली, मेरो परिवार, मेरा साथीहरू र दिनहुँ मेरो नजिक हुने सबैलाई धन्यवाद दिन चाहन्छु, जो बिना म गोल्डेन ब्वाई अवार्ड जित्न सक्षम हुने थिएन ।’
उनले १३ डिसेम्बरमा एक समारोहबीच यो अवार्ड ग्रहण गर्ने छन् । इटालियन पत्रिका टुट्टो स्पोर्ट्सले युरोपियन क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने २१ वर्षमुनिका युवा खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको छ । यो १९औं संस्करण हो । स्पेनिस मिडफिल्डर पेड्री २०२० मा दोस्रो डिभिजनको लास पाल्मासबाट बार्सिलोना आएका थिए । उनले गत सिजन बार्सिलोनाका लागि ५३ खेल खेल्दा उत्कृष्ट प्रदर्शन गर्दै सबैको मन जित्न सफल भएका थिए । पेड्रीले स्पेनबाट युरोकप खेलेका थिए । यस्तै टोकियो ओलम्पिकमा रजत जित्दा उनी टोलीका प्रमुख सदस्य रहेका थिए । चोटका कारण गत सेप्टेम्बरयता खेलेका छैनन् । उनले बार्सिलोना, स्पेनबाट अन्तर्राष्ट्रिय खेल र टोकियो ओलम्पिकसहित कुल ७३ खेल खेले । उनी गत सिजन युरोपको शीर्ष लिगहरुमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका थिए ।