काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले अनामनगरस्थित महालेखापरीक्षकको कार्यालयको नवनिर्मित ‘अडिट भवन’को २०७८ मंसिर ९ गते उद्घाटन गरेको छ । भवन उद्घाटनपश्चात् राष्ट्रपतिबाट मार्गदर्शन सम्बोधन गर्दै कार्यालयले नेपालको संविधानले निर्दिष्ट गरेबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेत विचार गरी सरकारी निकायको कारोबार मूल्यांकनमार्फत सार्वजनिक वित्तीय क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र स्वच्छता प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
आर्थिक अनुशासन परिपालना गरी देशको समृद्धिका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको काम कारबाही सम्बन्धमा सुधार योजना बनाई लागू गर्नुपर्ने उनले उल्लेख गरे । बर्सेनि बेरुजु रकम बढ्ने तर फछ्र्याैट नहुने अवस्थाको कारण सम्बन्धमा गहन अध्ययन विश्लेषण गरी सुधार गर्नु जरुरी रहेको पनि राष्ट्रपति भण्डारीले बताए ।
निर्यातभन्दा आयात बढी भएको, कृषिप्रधान मुलुक कृषि उपजमै परनिर्भर रहेकाले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा राज्यका सम्बद्ध निकायलाई घच्घच्याउनेजस्ता नीतिगत विषयमा महालेखापरीक्षकबाट प्रभावकारी भूमिका निर्वाह गर्नसमेत ध्यानाकर्षण उनले गरेका थिए ।
महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले २०१६ सालमा स्थापना भएको महालेखापरीक्षकको कार्यालय स्थापनाकालदेखि बबरमहलस्थित भवनमा सञ्चालन हुँदै आएकोमा २०७२ सालको भूकम्पका कारण उक्त भवनमा कार्यालय सञ्चालन हुन नसक्ने भएकाले विभिन्न स्थानमा भवन भाडामा लिई कार्यालय सञ्चालन गरिएको व्यहोरा जानकारी गराए ।
परम्परागत र आधुनिक शैली मिश्रित नवनिर्मित ‘अडिट भवन’को कुल अनुमानित लागत ८३ करोड १८ लाख रूपैयाँ रहेकोमा २०७८ कात्तिक मसान्तमा सम्पन्न हुँदा ७३ करोड ९ लाख रूपैयाँ अन्तिम लागत कायम भएको थियो । निर्माण व्यावसायी लुम्बिनी÷ गौरी पार्वती÷शान्ति जेभीले भवन निर्माण गरेको सो भवनको कुल ९ तलामध्ये २ तलामा अन्डरग्राउन्ड पार्किङ रहेको छ । भुइँ तलामा रिसेप्सन, भण्डार कक्ष, पुस्तकालय, चमेना गृह तथा अभिलेख व्यवस्थापन कक्ष रहेको छ भने भवनको पहिलो तलादेखि छैठौं तलासम्म करिब ५ सय कर्मचारीका लागि कार्यालय भवन प्रयोग हुने र सातौं तलामा २ सय जना क्षमताको सभाकक्ष रहेको छ । समारोहमा उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले लेखापरीक्षणको गुणस्तर सुधार एवं सूचना प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास भइरहेको उल्लेख गरे ।





