काठमाडौं । अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलिको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले काठमाडांै उपत्यकालगायतमा उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइनसक्ने त्रास चिर्न होलिको बिदाको दिन पनि ग्याँस आयात गर्न लागिएको जानकारी दिए ।
उनले निगमको आग्रहपछि सोमबार र मंगलबारको सार्वजनिक बिदाको दिन पनि ग्याँस लोड दिन भारतीय आयल कर्पोरेसन्स तयार भएको बताए । यसअघि बिदाको दिन ग्याँस लोडिङ हँुदैनथ्यो । कार्यकारी निर्देशक पौडेलका अनुसार दुई दिनमा करिब सय बुलेटमा ग्याँस लोड हुनेछन् । यो परिमाण भनेको करिब १ लाख २५ हजार सिलिन्डरबराबर भएको जानकारी गराउँदै उनले उपभोक्तालाई अहिले आवश्यकभन्दा बढी मौज्दात नराख्न पनि आग्रह गरे ।
यसअघि दैनिक उपभोग्य वस्तुको बजारभाउ नियन्त्रणका लागि आक्रामक रूपमा प्रस्तुत भएको सरकारले एउटा परिवारका लागि बढीमा दुईवटा भन्दाबढी ग्याँस सिलिन्डर घरमा राख्नसमेत नदिने बताएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत शुक्रबारदेखि नै हरेक ग्याँस विक्रेता र डिलरमा पुगेर दुईवटा भन्दा बढी सिलिन्डर लिने उपभोक्ताको रेकर्ड राखिने जनाएको थियो । कोरोना भाइरस प्रभावकै कारण पछि नपाइने हल्लासँगै अहिले राजधानीलगायत मुलुकभरका विभिन्न सहरमा खाना पकाउने एलपी ग्याँस, दाल, चामल, चिनी, नुनलगायतका वस्तुहरू आवश्यकभन्दा बढी खरिद गरी मौज्दात राख्न थालेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कारोबजारी नियन्त्रणका लागि सरकारले यस्तो नयाँ व्यवस्था गरेको बताएका थिए । अहिले आवश्यकता भन्दा बढी ग्याँस सिलिन्डर लैजाने उपभोक्ताको रेकर्ड राख्न थालिएको जानकारी गराउँदै उनले ग्याँस अभाव नहुने भन्दै लाइन नबस्न आह्वान गरे पनि अझै बजारमा ग्याँस लिन जानेहरूको भीड घटेको छैन । माग बढेसँगै अभाव पनि उत्तिकै छ ।
दुईवटा सिलिन्डर आवश्यक पर्नेले समेत अहिले १० वटासम्म राख्न लागेको हुन सक्ने भन्दै सरकारले यस्तो अभावको अवस्था अन्त्यका लागि उपभोक्ताको रेकर्ड राख्न थालेको मन्त्री भट्टको भनाइ छ । जुन क्षेत्रमा ग्याँस अभाव हुन्छ, त्यसको गुनासो आउनेबित्तिकै विक्रेतासँग तथ्यांक मागेर तत्काल कर्मचारी पठाउने भन्दै मन्त्री भट्टले सरकारले धेरै राख्नेबाट जफत गरेर नपाउनलेलाई दिने बताए पनि अझै बजारमा ग्याँसको अभाव कायमै छ ।
सकारको यस्तो भनाइप्रति अविश्वास गरेका उपभोक्तालाई विश्वस्त पार्न शनिबारदेखि नै सरकारले दैनिक ३० हजारवटा ग्याँस सिलिन्डर उद्योगबाट उठाइरहेकामा सो परिणाम बढाएर दैनिक ४४ हजार वटा सिलिन्डर बजारमा पठाइने व्यवस्था मिलाइसकेको छ ।
अहिले ग्याँस आयात घटेर एवं अभाव सिर्जना भएर होइन, अनावश्यक हल्लाका कारण विक्रेताकामा बढी भीड लागेको सरकारी दाबी छ । सरकारको सोही दाबीअनुरूप अहिले नेपालमा मासिक करिब ३५ हजार टन ग्याँस खपत हुन्छ । हाल मासिक ४० हजार टन ग्याँस भारतबाट आयात भइरहेको नेपाल आयल निगमले प्रस्ट पारेको छ । आयात रोकिएर अभाव हुने कुनै सम्भावना नहुँदा पनि सरकारको भनाइप्रति विश्वास गर्नुको सट्टा उपभोक्ता भारतबाट ग्याँस आयात कम भएर आफ्नो चुलो बाल्न नसकिएला भन्दै घरमा सिलिन्डर थुपार्न थालेकाले ग्याँसमा कालोबजारी हुने सम्भावना बढेसँगै सरकार थप सचेत भएको निगमले जनाएको छ । यस्तो मौका छोपेर बिक्रेताले ग्याँस, खाद्यान्नलगायत मास्क, सेनिटाइजर, पन्जाको मूल्यवृद्धि र कालोबजारी गरिरहेको सम्बन्धित सरोकारवाला एवं उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
अहिलेको बजारमा देखिएको कृत्रिम अभाव चिर्नकै लागि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नुनलगायत अत्यावश्यक वस्तु आगामी १० महिनासम्म पुग्ने पर्याप्त मौज्दात रहेको बताएको छ । अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्दै साल्ट ट्रेडिङले नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको र अहिले यस्ता वस्तुको अभाव नभएको प्रस्ट पारेको छ । उसले आगामी १० महिनासम्म नेपालको माग धान्न सक्नेगरी यस्ता वस्तुको मौज्दात रहेको जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख व्रजेशकुमार झाले यस्तो जानकारी दिएका हुन् । उनले हाल कर्पोरेसनसँग १ लाख ५८ हजार ५ सय मेट्रिकटन नुन मौज्दात रहेको बताए । मुलुकको १० महिनाको माग धान्ने नुन कर्पोरेसनसँग मौज्दात रहेको जानकारी गराउँदै झाले भने, ‘नुनको कुनै अभाव छैन ।’
अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिकटन नुन खपत हुँदै आएको छ । नुनको आयातमा कुनै कमी नभएको पनि कर्पोरेसनले जनाएको छ । यसैगरी, कर्पोरेसनले चिनीको पनि पर्याप्त मौज्दात रहेको भन्दै अनावश्यक मौज्दात नराख्न उपभोक्तालाई आग्रह गरेको छ । कर्पोरेसनसँग करिब पाँच महिनालाई पुग्ने १० हजार मेट्रिकटन चिनी मौज्दात रहेको उनले जानकारी दिए । हाल २ हजार ५ सय मेट्रिकटन चिनी गोदाममा रहेको छ भने सात हजार ५ सय मेट्रिकटन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको उनको भनाइ छ ।
यसैगरी, स्वदेशी चिनी उद्योगसँग १ लाख १ हजार मेट्रिकटन चिनी मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । त्यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले करिब तीन महिनाको माग धान्ने गरी देशभर २५ हजार ६६९ मेट्रिकटन चामल मौज्दात रहेको जनाएको छ ।






