सौराहा (चितवन) । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीमध्ये पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । एमालेमा महासचिव पद अध्यक्षपछिको शक्तिशाली पद मानिन्छ ।
यसैगरी, उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
आठौं र नवौं महाधिवेशनबाट लगातार दुईपटक महासचिवमा निर्वाचित ईश्वरको विरुद्धमा कसैले पनि उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । महासचिवमा निर्विरोध निर्वाचत भएका पोखरेल जनताको बहुदलीय जनवाद (जबज)को व्याख्याता र एमालेभित्र वैचारिक नेताका रूपमा परिचित छन् । पोखरेलको पनि एकल उम्मेदवारी परेपछि उनी पनि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
तीन उपमहासचिव पदका लागि पृथ्वी सुब्बा, प्रदीप र विष्णुको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका हुन् । पृथ्वी सुब्बा र प्रदीप नवौं महाधिवेशनबाट निर्वाचित सचिव हुन् । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पृथ्वी सुब्बाले महासचिवमा दाबी गर्दै आएका थिए ।
अध्यक्षमा ओली र रावल प्रतिस्पर्धामा
अध्यक्ष पदका लागि केपी शर्मा ओली र डा. भीम रावलबीच प्रतिस्पर्धा भएको छ । यस्तै ६ वटा उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ ।
अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवासचन्द्र नेम्वाङले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
सात सचिव पदका लागि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंकप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
तीन प्रदेशतर्फको केन्द्रीय सदस्य निर्विरोध निर्वाचित
यता प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबाट २७ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबाट २७ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
लुम्बिनी प्रदेशको खुलाबाट खेममान खडका, दिनेश पन्थी, नविन रोकामगर, भूमिश्वर ढकाल, लिला गिरी र हरि रिजाल निर्विरोध निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशको महिला तर्फबाट मेनका पोखरेल, सरिता खनाल भुसाल र सावित्रा अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशको खुलातर्फबाट इन्द्रलाल सापकोटा, जगत् विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत क्षत्री, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै गण्डकी प्रदेशको महिलातर्फबाट नरदेवी पुनमगर, मीनाकुमारी गुरुङ र सीमाकुमारी क्षत्री केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरी, प्रदेश २ को खुलातर्फबाट ६ र महिलातर्फका तीन केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् । खुलातर्फबाट अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । यस्तै, महिलातर्फबाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमार झा निर्वाचित भएका छन् ।
विभिन्न समूहबाट पनि निर्विरोध निर्वाचित
यसैगरी, प्रदेश १ को महिलातर्फबाट उषाकला राई, निरा खनाल, मेनुका काफ्ले निर्विरोध निर्वाचित भएका छन् । यस्तै, बाग्मती प्रदेशको महिलातर्फबाट पार्वती रावल, पेम्बा लामा रचना खड्का पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । कर्णाली प्रदेशको महिलातर्फबाट तीर्था गौतम, मीना सिंह रखाल, मोहनमाया ढकाल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
उपत्यका विशेषतर्फको खुलाबाट माधव ढुङेल, महिलातर्फबाट बिनाकुमारी श्रेष्ठ र सम्पर्क समन्वयतर्फको खुलाबाट नरेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । मधेसी महिलातर्फबाट कमला देवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमार साह, रीतादेवी साह, शिला यादव, सरिताकुमारी गिरी (यादव) निर्विरोध निर्वाचित भएका छन् ।
दलित महिलातर्फ विष्णुमाया विक, रामरती देवी राम, शिवकुमारी गोतामे, सविता रसाइली केन्द्रीय सदस्यमा निर्वाचित भएको आयोगका अध्यक्ष डा. सुब्बाले जानकारी दिए । मुस्लिम महिलातर्फको एक केन्द्रीय सदस्यमा साजिदा खातुन सिद्धिकी निर्वाचित भएका छन् ।
श्रमिक खुलाको तर्फबाट कमल गौतम, बाबुराम थापा, रमेश बडाल, विनोद श्रेष्ठ तथा श्रमिक महिलाको तर्फबाट मञ्जुकुमारी थापामगर र सीता लामा निर्विरोध निर्वाचित भएका छन् । यस्तै पिछडिएको क्षेत्रको महिलातर्फबाट बदमी क्वाराबुढा (बोहोरा) केन्द्रीय सदस्यमा निवाचित भएका छन् ।
अनुशासन आयोग र लेखा आयोगको पदाधिकारी पनि निर्विरोध निर्वाचित
यसैगरी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको नेतृत्व निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अध्यक्ष सुब्बाका अनुसार केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएको हो ।
२५ सदस्यीय अनुशासन आयोगको अध्यक्षमा केशव बडाल, उपाध्यक्षमा नेत्रप्रसाद पन्थी, सचिवमा प्राडा भरतराज पहारीसहित खुलातर्फको १३ सदस्य र महिलातर्फको नौ सदस्य निर्वाचित भएका छन् ।
यस्तै, २५ सदस्यीय लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेल, उपाध्यक्षमा विष्णु पन्थी, सचिवमा शिव अधिकारीसहित खुलातर्फको १३ सदस्य र महिलातर्फको नौ सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
एमालेको केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष र पदाधिकारीको मनोनयन भने ललितपुरको गोदावरीमा सम्पन्न पहिलो विधान अधिवेशनले गरिसकेको छ । यो आयोगको अध्यक्षमा विजय सुब्बा छन् । उनी १०औं राष्ट्रिय महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकसमेत हुन् ।
एमालेको १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीसहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ । यस्तै, ४५ सदस्यीय स्थायी कमिटी र ९९ सय सदस्यीय पोलिटब्युरो कमिटी गठन हुनेछ ।
लेखा आयोगमा डा. कँडेलको ह्याट्रिक
एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित भएसँगै प्रा.डा. पुष्पराज कँडेले एउटै पदमा लगातार तेस्रोपटक (ह्याट्रिक)को रेकर्ड कायम गरेका छन् ।
कँडेल यसअघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित भएका थिए । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट राष्ट्रिय राजनीतिमा पाइला चालेका कँडेल त्यसयता निरन्तर लेखा आयोगमै विभिन्न पदमा निर्वाचित भएर काम गर्दै आएका छन् ।
डा. कँडेल पाँचौं र छैठौंमा सदस्य, सातौंमा सचिव र आठौं, नवौं र १०औंमा निर्वाचित अध्यक्ष हुन् । एउटै कमिटीमा ३१ वर्ष निरन्तर काम गरेका कँडेल विधानमा उमेर हद कायमै रहे आगामी ११औं महाधिवेशनबाट ३६ वर्ष लेखा आयोगबाटै अवकाश पाउनेछन् ।
त्रिभुवन विश्वविद्यालयमा ३० वर्ष प्राध्यापन गरेका कँडेल ओली नेतृत्वको पछिल्लो सरकारमा ३९ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए । लेखा आयोग नेकपा एमालेको आर्थिक अनुशासन कायम गराउने शक्तिशाली आयोग हो । यसले पार्टीको आर्थिक अनुशासन र नियमनकारी निकायको भूमिका निर्वाह गर्छ । पार्टीको पाँचांै महाधिवेशनबाट आयोगको सुरुवात भएको हो ।
पार्टीको लेखाप्रणालीलाई व्यवस्थित गर्न तत्कालीन महासचिव मदनकुमार भण्डारीले आयोग गठन गरेको थिए । पाचांै महाधिवेशनमा तीन जनाबाट सुरु भएको सो आयोग १०आंै महाधिवेशनमा पुग्दा २५ सदस्यीय पुगेको छ । आयोगका अध्यक्ष पार्टीको स्थायी कमिटीको सदस्य र आयोगका सदस्य केन्द्रीय कमिटी सदस्यसरहको मान्यता हुन्छ ।
१०आंै महाधिवेशनमा आयोगमा उपाध्यक्ष विष्णु पन्थी, सचिवमा शिव अधिकारी र सदस्यमा क्रमशः ईश्वरीप्रसाद खरेल, कोमल भट्टराई, खटकबहादुर (पिबी) गोले, खम्बबहादुर खत्री, घनेन्द्रराज घिमिरे, धनबहादुर विश्वकर्मा, भीमलाल पौडेल, मस्तबहादुर गरन्जा, मीनराज कडेँल, राजकिशोर यादव, रेवतीरमण शर्मा, शंकरबहादुर कार्की खुलातर्फ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, महिलातर्फ कल्पना लिम्वु, जसमाया गजमेर, पद्मा जिसी श्रेष्ठ, वसुन्धरा रोकाया, मालतीकुमारी लिम्बु, विजया धिताल, विमला केसी, शान्ति पाख्रिन र सावित्री विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् ।






